Fast Nepal News

खप्तड गोल्डकप : हिमालयन शेर्पा क्वाटरफाइनलमा

banner single news

धनगढी — २२ फागुन २०७८

धनगढी , हिमालयन शेर्पा क्लबले पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा शनिबार सिमराको नव जनजागृति युवा क्लबलाई ४–० ले पराजित गरेको छ । धनगढी रंगशालामा जितसँगै हिमालयन शेर्पा क्वाटरफाइनल पुगेको छ । सेमिफाइनल पुग्नका लागि टोलीले सोमबार आयोजक सुदूरपश्चिम एघार स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार एकतर्फी खेलमा ३१ औं मिनेटमा विकास मेराग्लियाको गोलबाट हिमालयनले अग्रता लिएको थियो । उनले डेब्यु खेलमै हिमालयनबाट गोल गरेका हुन् । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका विकासले च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्ध भएका हुन् ।

उनले लिगमा गोल गर्न सकेनन् । खेलको ४३ औं मिनेटमा उलरिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । उनैले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि बढ्यो । त्यसपछि ८१ औं मिनेटमा पूर्णबहादुर गुरुङले गरेको गोलसँगै हिमालयन शेर्पाले ४–० को नतिजा निकाल्यो । म्यान अफ द म्याच उलरिच सिवे भए । उनले १० हजार रुपैयाँ पाए । हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले राम्रो खेल प्रदर्शन गरेका कारण सानदार जित निस्केको बताए । ‘विकासले नेपालमा पहिलो गोल गरेका छन् । ऊ अब्बल खेलाडी हो । आफ्नो क्षमता देखाएका छन्,’ प्रशिक्षक राईले भने, ‘सबैले राम्रो खेले ।

Inside Article Ads

अबका खेल पनि राम्रो नै खेल्छौं । विपक्षीले पनि टेक्निकल्ली खेल राम्रो खेल्यो ।’ नव जनजागृति युवा क्लबका प्रशिक्षक सोनु क्षेत्रीले आफ्ना सबै खेलाडी आउन नसकेका कारण कमजोर प्रदर्शन भएको बताए । ‘हामी विपक्षीसामु कमजोर देखियौं । हाम्रा दुई खेलाडी घाइते छन्, दुई विदेशी खेलाडी आउन सकेनन् । त्यसले हामीलाई समस्या पार्‍यो,’ प्रशिक्षक क्षेत्रीले भने, ‘टिममा जुनियर खेलाडी ल्याएका थियौं । उनीहरूले सक्दो खेल्न सकेनन् । धेरै समय हामीले डिफेन्समै बितायौं । त्यसले गोल खान पुग्यौं ।’                         

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.