
काठमाडौँ — १० फागुन २०७८
काठमाडौँ , नेपालले आज ट्वान्टी–२० विश्वकप छनोटका लागि यूएईको सामना गर्दा नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण खेल खेलिरहेको हुनेछ । नेपालका लागि सन् २०१३ मा हङकङविरुद्ध या २०१८ मा पपुवा न्युगिनीविरुद्धको खेल जत्तिकै महत्त्वको हुनेछ, ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल । यसमा नेपाली क्रिकेटको विश्वकप भविष्य जोडिएको छ । नौ वर्षअघि हङकङविरुद्ध यूएईमा भएको खेलले नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याएको थियो भने जिम्बावेमा भएको पपुवा न्युगिनीसँगको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाएको थियो । आज यूएईमाथि जित हात पारेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुनः पुग्नेछ । नेपाली क्रिकेट शुभचिन्तक मंगलबारको जितको व्यग्र प्रतीक्षामा छन् । नेपालले जित निकालेको खण्डमा त्यो घरेलु दर्शकका लागि दशकपछिको ठूलो खुसी फर्किएको दिन हुनेछ ।
क्यानडामाथि सोमबार सहज जित हात पारेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो दुई खेल जितेर सेमिफाइनल आधार बनाए पनि नेपालको अन्तिम चारको यात्रा निश्चित हुन सकेको थिएन । क्यानडालाई नेपालविरुद्ध जुन डर थियो, त्यसले उसलाई छोप्यो । नेपालले ८ विकेटको सहज जित निकाल्यो । क्यानडालाई १५ ओभरमा ८० रनमै अलआउट गरेपछि नेपालले पनि १५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो ।
सबै ३ खेल जितेर नेपाल समूह ‘बी’ को विजेता बनेको हो । नेपालले यसअघि घरेलु टोली ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । यूएई भने सोमबार बहराइनसँगको खेलमा निकै भाग्यमानी रह्यो । पहिला ब्याटिङ गरेको बहराइनले १७२–५ को स्कोर बनाएको थियो । यूएईलाई १ सय ५७ रनभित्र रोक्न सकेको भए बहराइन सेमिफाइनल पुग्ने थियो र नेपालसँग सेमिफाइनल खेल्ने थियो । यूएईलाई अझ १ सय ५७ रनमाथि पुग्न अन्तिम ओभरमा १२ रन चाहिन्थ्यो । भृत्या अरविन्दले २४ रन बनाउँदै यूएईलाई बहराइनको स्कोर नजिक पुर्याए पनि जित दिलाउन सकेनन् । यूएईले ६ विकेट गुमाई १ सय ७० रनमात्र बनाउन सक्यो । यूएईको पराजयपछि आयरल्यान्ड समूह ‘ए’ को विजेता बन्यो र ओमानसँगको अर्को सेमिफाइनल भिडन्त पक्का गर्यो । बहराइनभन्दा यूएई नेट रनरेटमा थोरैले मात्र अगाडि रहेर समूह उपविजेता हुँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
( कान्तिपुर दैनिक )
