
काठमाडौँ — ०५ फागुन २०७८
काठमाडौँ ,चारदेशीय ट्वान्टी–२० क्रिकेट शृंखला सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयता हिसाबमा नेपाल शीर्ष टोली थियो । सोमबार मस्कटमा यूएई, आयरल्यान्ड र घरेलु टोली ओमानसम्मिलित प्रतियोगितापछि नेपाल वरीयतामा एक स्थान तल झरेको छ । पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेर उत्साहित नेपाल त्यसपछिका दुई खेलमा यूएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भयो । यसले नेपाललाई अंकतालिकाको पुछारमा पुर्याइदियो । यी दुई हारले नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान खस्किएको हो । चारदेशीय ट्वान्टी–२० शृंखला जितेको यूएई नेपाललाई उछिन्दै विश्व वरीयताको १२ औं स्थानमा पुगेको छ । ट्वान्टी–२० विश्वकप मस्कटमै शुक्रबार सुरु हुँदा यी चार टोलीबीच प्रमुख प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा आयरल्यान्ड, यूएई, बहराइन र जर्मनी तथा समूह ‘बी’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । त्यसबाट फाइनल पुग्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने विश्व ट्वान्टी–२० मा पुग्नेछन् ।
आयरल्यान्ड र ओमानभन्दा वरीयतामा माथि रहे पनि चारदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा देखाएको प्रर्दशनसँगै नेपालको चिन्ता थपिएको छ । सेमिफाइनल पुगेको खण्डमा नेपालको सम्भावित प्रतिद्वन्द्वी यिनै दुई यूएई र आयरल्यान्डमध्ये एक हुने निश्चित जस्तै देखिन्छ । नेपालको अर्को चिन्ता यही हो । आयरल्यान्ड टेस्ट राष्ट्रमा प्रवेश गरिसकेको टोली हो भने हालको ओमान भ्रमणमा यूएईले एकपछि अर्को उत्कृष्ट प्रदर्शन दिइरहेको छ । विश्वकप लिग २ एकदिवसीयका तीन खेलमा यूएईले पहिलो दुईमा जित पाएको थियो भने तेस्रो खेल ‘टाइ’ भयो । त्यसैमा लगत्तै चारदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको सफलता पनि थपेको हो । ‘यस प्रतियोगिताले हाम्रो तयारी राम्रो हुन पायो,’ प्रशिक्षक पुबुदु दासानायकेले ओमानबाट चारदेशीय ट्वान्टी–२० शृंखलाका बारेमा कान्तिपुरसँग भने, ‘हामी ब्याटिङ, बलिङ, फिल्डिङ सबै क्षेत्रमा एक्सपोज भयौं, विश्वकप छनोटअघि जुन राम्रो हो ।’ पछिल्लो दुई हारले नेपाललाई कमजोर टोलीका रूपमा देखाए पनि दासानायके नेपाल विश्वकपमा छनोट हुनेमा आशावादी छन् । सन् २०१४ को विश्वकप यात्रालाई दोहोर्याउन उनी तयार छन् ।
बलियो मानिएको ओमानलाई पहिलो खेलमा १ सय ३५ रनमा अलआउट गरे पनि यूएईले दोस्रो खेलमा १ सय ९२ रन प्रहार गरेर नेपाली बलरका कमजोरी देखाइदिएको थियो । आयरल्यान्डसँग सोमबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा १ सय २८ रनको लक्ष्य पाएको नेपाल १११–९ मा रोकिएपछि ब्याटिङ पनि उदांगिएको थियो । विशेष गरी अनुभवी खेलाडीले ब्याटिङमा निरास पारेका छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, भेट्रान शरद भेषावकर र प्रदीप ऐरीको ब्याट चारदेशीय ट्वान्टी–२० शृंखलामा खुल्नै सकेन । ज्ञानेन्द्र र शरदले ३–३ खेल खेल्दै क्रमशः ४० र १० रनमात्र बनाएका छन् । पहिलो खेलमा उत्रेका प्रदीप ऐरी १४ बल खेली ४ रनमा आउट भए । नेपाली ब्याटिङमा पछिल्ला दिनमा निकै सुधार देखेका दासानायकेले आफ्नो ध्यान अब यी खेलाडीको ब्याटिङ उकास्न केन्द्रित हुने जनाएका छन् । दासानायकेले अब विगतको प्रदर्शन र शैलीले मात्र पर्याप्त नहुने जनाउँदै भेट्रान खेलाडीहरूमा दबाब दिइसकेका छन् । उनको यो भनाइले भविष्यमा टिममा ठूलै उथलपुथल गरिने संकेत गरेको छ । उनको यो चेतावनी अनुभवी ब्याटरविरुद्ध नै थियो । ग्रोइन इन्ज्युरीका कारण कुशल भुर्तेल पहिलो दुई खेल खेल्न नसकेको अवस्थामा मुख्य आस गरिएका यी भेट्रान ब्याटरहरूले निराश बनाएका थिए । माथिल्लोक्रममा दुई खेल खेलेका आरिफ शेखको ब्याटबाट पनि नेपालले आशातीत प्रदर्शन पाउन सकेन ।
दीपेन्द्रसिंह ऐरी र केही हदसम्म आसिफ शेखलाई छाड्ने हो भने नेपाली ब्याटरलाई जति क्रिजमा जान हतार हुन्थ्यो, त्यति नै फर्किन पनि देखिन्थ्यो । जबकि दीपेन्द्रले नेपालबाट सबै तीन खेलमा सर्वाधिक रन बनाए । ओमानविरुद्ध म्याच विजयी अविजित ७३ रनको इनिङ्स खेलेका दीपेन्द्रले प्रतियोगितामै सर्वाधिक १ सय ४२ रन बनाए । आसिफले सुरुआत राम्रो दिए पनि लामो इनिङ्स खेल्न सकेनन् । तीन नवप्रवेशीमा लोकेश बमले मात्र केही प्रभाव पार्न सके । उनले यूएईविरूद्ध ३३ रन बनाएका थिए भने आयरल्यान्डविरुद्ध जानेबित्तिकै छक्का प्रहार गरे पनि त्यही स्कोरमा लगत्तै आउट भएका थिए । लोकेशले ठूलो शटबाटै नेपाली ब्याटिङमा केही सम्भावना देखाएका छन् । अलराउन्डर विवेक यादवले दुई खेल खेले र त्यसमा १–१ ओभरमात्र बलिङ गर्न पाए । बलिङमा खासै तीव्रता र भेरिएसन नदेखिए पनि मध्यक्रममा उनको ब्याटबाट धेरै अपेक्षा गरिएको छ । तर ब्याटिङमा उनले अवसर नै पाएनन् ।
सागरले ओमानसँगको एक खेलमा अवसर पाए, त्यसमा उनले ३ ओभरमा ३६ रन खर्चेका थिए । उनको त्यो ३ ओभरलाई हटाउने हो भने ओमानविरुद्ध नेपालले १७ ओभरमा १ सय रनमात्र खर्चेको थियो । एसोसिएट क्रिकेटमा शीर्षस्थ प्रदर्शन गर्दै आएको ओमानसँगको खेलमा नेपालले जुन बलिङ गर्यो त्यो निकै उत्कृष्ट थियो । यही बलिङको लय नेपालले आयरल्यान्डविरुद्ध पनि देखाएको थियो । आयरल्यान्ड, यूएई, ओमान र नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलालाई विश्वकप छनोटअघि परीक्षणका रूपमा लिएका थिए, त्यसैले पनि यी चार राष्ट्रको वास्तविक खेल ट्वान्टी–२० विश्वकप छनोटमा अझ बढी देखिने सम्भावना छ । चोटका कारण अलराउन्डर सोमपाल कामीबिनै ओमान पुगेको नेपाली टोलीलाई अर्को धक्का लागिसकेको छ । सोमपालका नयाँ बल जोडी करण केसी पनि पिठ्युँको चोटका कारण ट्वान्टी–२० विश्वकप छनोटमा नखेल्ने भइसकेका छन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सन्दीप लामिछानेपछि करण केसी नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी हुन् । कप्तान सन्दीपले आयरल्यान्डसँगको खेलबाट ५० विकेट छोएका थिए । सन्दीपले यो सफलता २८ खेलमा पुर्याएका थिए भने करणले ३३ खेलमा ४४ विकेट लिइसकेका छन् । करणले अभ्यासको रूपमा रहेको चारदेशीय ट्वान्टी–२० शृंखलामा कुनै खेल खेल्न सकेनन् । अलराउन्डरको भूमिका उनी नेपालको मुख्य खेलाडीका रूपमा रहँदै आएका छन् ।
करणको स्थानमा नेपालले गुलशन झालाई ओमान पठाउने भएको छ । सेप्टेम्बरमा ओमानमै भएको लिग २ को खेलबाट गुलशन टोलीमा आएका थिए । तर उनले अझै ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छैनन् । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरासँगै उनले नेपालको तीव्र गतिको बलिङ आक्रामण सम्हाल्ने छन् । स्पिनरतर्फ सन्दीप र सागर रहनेछन् । ओमान भ्रमणमा रहेका १७ खेलाडीमध्ये स्पिनर शाहब आलम, विकेटकिपर/ब्याटर प्रदीप र अलराउन्डर कुशल मल्ललाई नेपालले १४ सदस्यीय टोलीमा राखेको छैन । कमल, जितेन्द्र, अविनाश र सन्दीपपछि नेपालले पाँचौं बलरका रूपमा आरिफ, दीपेन्द्र, विवेक, शरदलाई प्रयोग गर्न सक्छ । दीपेन्द्रले आयरल्यान्डविरुद्ध २१ रन खर्चेर ४ विकेट लिँदै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको चौथो उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो । विगतको तुलनामा कमजोर मानिएको बलिङबाट नेपाल विश्वकप छनोटअघि राहत हुनसक्छ ।
( कान्तिपुर दैनिक )
