
काठमाडौँ — ०२ फागुन २०७८
काठमाडौँ , चारदेशीय ट्वान्टी–२० शृंखलामा सोमबार आयरल्यान्डको सामना गर्दा नेपालले पूर्ण टोली उतार्ने अनुमान गरिएको छ । विश्वकप छनोटअघिको यस प्रतियोगिताका पहिलो दुई खेलमा नेपालले खेलाडीको परीक्षण गर्दै आएको छ । ओपनिङ ब्याटर कुशल भुर्तेल तथा अलराउन्डद्वय कुशल मल्ल र करण केसीले ओमानमा भइरहेको प्रतियोगितामा अझै कुनै खेल खेलेका छैनन् । भुर्तेललाई ग्रोइनको सामान्य समस्या भएको जनाइए पनि नेपालले रणनीतिक हिसाबमा आफ्ना प्रमुख खेलाडीलाई प्रयोग नगरेको हुन सक्ने सम्भावना उत्तिकै छ । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यूएईसँग शनिबार दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
नेपालले यी दुई खेलमा टोलीमा रहेका १७ मध्येका १४ खेलाडी परीक्षण गरिसकेको छ । ओमानसँग खेलेका प्रदीप ऐरी, अविनाश बोहरा र सागर ढकालको स्थानमा नेपालले यूएईविरुद्ध लोकेश बम, जितेन्द्र मुखिया र शाहव आलमलाई खेलाएको थियो । ट्वान्टी–२० विश्वकप छनोट शुक्रबारबाट ओमानमै सुरु हुँदै छ । त्यसअघि आयरल्यान्डविरुद्धको खेल नेपालको अन्तिम खेल हुन सक्छ । त्यसैले कुशल भुर्तेल, कुशल मल्ल र करण नेपाली टोलीमा फर्किने सम्भावना बढी छ । प्रशिक्षक पुबुदु दासानायकेले पूर्ण रूपमा ठीक नभएसम्म कुनै खेलाडीलाई जोखिम नलिने बताउँदै आएका छन् । त्यसैले कुशल भुर्तेलको चोटको अवस्था यथावत् रहे दासानायकेले जोखिम नलिन पनि सक्छन् ।
प्रतियोगितात्मक हिसाबमा यूएईसँग पराजित भएपछि नेपाल उपाधि दौडमा पछाडि परिसकेको छ । यूएईले लगातार दोस्रो खेल जित्ने क्रममा आइतबार आयरल्यान्डलाई १३ रनले पराजित गरेको थियो । राउन्ड रोबिन लिगको खेलको अन्तिम दिन सोमबार यूएईले ओमानको सामना गर्नेछ । ओमान पहिलो दुई खेलमै पराजित भइसकेको छ । नेपाललाई प्रतियोगिता जित्न आयरल्यान्डलाई ठूलो अन्तरले पराजित गर्नुका साथै ओमानले यूएईलाई पराजित गर्नुपर्ने हुन्छ । यूएई पराजित भएको अवस्थामा नेपालमाथिको विजयले आयरल्यान्डलाई उपाधि दिलाउन सक्छ ।
( कान्तिपुर दैनिक )
