Fast Nepal News

रंगशालामा मनीष ढलेको क्षण

banner single news

काठमाडौँ —  ०१ फागुन २०७८

काठमाडौँ , मछिन्द्रका फरवार्ड मनीष डाँगी मैदानमा प्रवेश गरेको चार मिनेटभित्रै हेडद्वारा बल प्रहार गर्नेक्रममा च्यासलका यानिक केत्चासँग जुध्न पुगे । मनीष असन्तुलित हुँदै मैदानमा ढले । लगत्तै रेफ्री श्याम दनुवार र खेलाडीहरूले आत्तिएर मेडिकल टिमलाई मैदानमै बोलाउन थाले । खेलाडीहरू मनीषकै वरिपरि झुम्मिए । विमल घर्तीमगर त मनीषलाई हेरेपछि जर्सीले आफ्नो अनुहार छोपेर मैदानमा घोप्टिए । दुवै टिमका धेरै खेलाडीले टाउकोमा हात राख्न थाले । केही खेलाडी मैदानमै रुन थाले । मछिन्द्रका कप्तान सुजल श्रेष्ठलगायत केही खेलाडी डाक्टर (चिकित्सक) बोलाउँदै चिच्याइरहे । केही प्रार्थना गर्नतिर लागे । यही वर्षमात्रै नेपाली राष्ट्रिय टिममा स्थान बनाएका मनीषले हातखुट्टा तनक्क पारे । दाँत किट्न थाले । अचेत भए । च्यासलका यानिक र मछिन्द्रका आन्द्रेस निआले उनको मुख खुलै राख्न जोड गरिरहे । मुख खुला राख्दै मनीषको जिब्रो तानिरहे । टाउको र मुखबाट रगत बग्यो । तत्कालै मैदानमा प्रवेश गरेका मछिन्द्रका फिजियोथेरापिस्ट सुरज भुसालले मनीषको छाती थिच्दै सीपीआर गर्न थाले ।

उनलाई च्यासलका फिजियो इलिश सिंहले साथ दिए । एन्फाका फिजियो नविना श्रेष्ठले श्वासप्रश्वास सहज बनाउन मनीषको टाउको उठाइन् । खेलाडीहरूले मनीषलाई बोलाइरहे । उनको हात चलाइरहे । मछिन्द्रका फरवार्ड अभिषेक रिजाल र गोलकिपर विशाल श्रेष्ठले मैदानको मध्यभागमा पुगेको एम्बुलेन्सबाट स्ट्रेचर झिके । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र र अंकतालिकाको पुछारमा रहेको च्यासलको खेल हेर्न शनिबार दशरथ रंगशाला आएका दर्शकहरू पनि ६५ औं मिनेटको त्यो घटनापछि खेलाडीहरूको अत्यासलाग्दो अवस्था देखेर अत्तालिन थाले, कराउन थाले अनि गाली गर्न थाले । रंगशालामा सन्नाटा छायो । मनीषलाई के भयो के भनेर सबै अत्तालिए । यसले युरो २०२० मा डेनिस खेलाडी क्रिस्टियन इरिक्सनको घटनालाई सम्झाइदियो । खेलाडी र स्वास्थ्यकर्मीहरूको अनवरत प्रयासपछि मनीष करिब ६ मिनेटपछि होसमा फर्किए । अनि उनलाई एम्बुलेन्समा ब्लु क्रस हस्पिटल लगियो । ‘टाउको ठोक्किएपछि मनीष अचेत भएर लडे । ६ मिनेटजति बेहोस भए ।

हामी सबै मिलेर उनको रेस्क्यु गर्‍यौं,’ मछिन्द्रका फिजियो भुसालले भने, ‘उनले होसमा आएपछि मलाई के भएको हो भनेर सोधे । मैले बाबु तिम्रो टाउकोमा अलिकति चोट लागेको छ भनें ।’ मैदानमा गरिएको प्राथमिक उपचारबारे उनी बोले, ‘मनीषले जिब्रो अलिकति टोकेका छन् । जिब्रो अलि पछाडि गएकाले निआ र यानिकले निकै मिहिनेत गरेर मुख खुला राखिराखे । श्वास फेर्न गाह्रो भइरहेको हो कि भनेर मैले उनलाई सीपीआर गरे । पछि उनी होसमा आएपछि हामी खुसी भयौं । हाम्रो प्रयास सफल भयो ।’ ‘यस्ता घटनामा तत्कालै कुनै विशेषज्ञ हुनुपर्छ भन्ने छैन । आपतकालीन मेडिकल सेवा जानेको हुनुपर्छ, जसले मानिस बचाउन सकोस्,’ एन्फाकी फिजियो नविना श्रेष्ठले भनिन्, ‘जीसीएस (ग्लास्को कोमा स्केल) ३/१५ भएको अवस्थामा मानिसको मृत्यु हुनसक्छ । मनीषको ४/१५ थियो । होस गुमाइसकेका थिए । यस्तोमा मुख्य लक्ष्य एबीसी (एयरवेज ब्रिदिङ सर्कुलेसन) हेर्ने/गराउने हुन्छ ।

जीसीएस लेवल एकदमै कम भएपछि श्वास फेराउने प्रयास गरिन्छ । ५ मिनेट जति उनलाई बचाउने काम गर्‍यौं । होस हाइसकेपछि एम्बुलेन्समा चढाउने बेला उनको जीसीएस १५/१५ मा आइसकेको थियो ।’ ‘सबैले सहयोग गरेकाले मनीषलाई चाँडै होसमा पर्काउन सक्यौं,’ उनले भनिन्, ‘फुटबलमा सबैभन्दा ठूलो इन्ज्युरी कन्कसन (माइनर ब्रेन इन्ज्युरी) र कार्डियक अरेस्ट (हृदयघात) हुन्छ । युरोमा इरिक्सनलाई कार्डियक अरेस्ट भएको थियो । मनीषलाई कन्कसन भएको हो । जिब्रो टोकेर मुखबाट पनि रगत आएको थियो । उनको टाउकोमा दुई टाँका लगाइएको छ ।’ डा. सुशान्तराज जोशी नेतृत्वको टिमबाट २० वर्षे मनीषको उपचार भइरहेको छ ।

मनीष खतरामुक्त

मछिन्द्रका फिजियो भुसालका अनुसार मनीषलाई केही भइहाल्छ कि भनेर २४ देखि ४८ घण्टासम्मका लागि हस्पिटलमा चिकित्सकको निगरानीमा राखिएको छ । उनले भने, ‘मनीषको घाँटी र टाउकोको सीटी रिपोर्ट सामान्य आएको छ । मुटुको ईसीजी र इको पनि गरियो, त्यसको रिपोर्ट पनि सामान्य छ । अक्सिजनको थोरै मात्रा र एन्टिबायोटिक दिएर उनको उपचार भइरहेको छ । उनी खतरामुक्त अवस्थामा छन् ।’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले एन्फाको आलोचना गर्दै भने, ‘ए डिभिजन लिगमा मेडिकल टिमको व्यवस्थापन राम्रो भएन ।

Inside Article Ads

युरोमा इरिक्सनको घटना हेरेर पनि उच्च सतर्कता अपनाउनुपर्ने हो । एन्फाकै मान्छेले डाक्टर खोइ भन्दै बोलाइरहेका थिए ।’ म्यान अफ द म्याच वितरण गर्न आइपुगेका चिकित्सक प्रतीक गुरुङ प्यारापिटबाट ओर्लेर मनीषलाई सहयोग गर्न मैदानमा पुगेका थिए । लिगमा खटिएका चित्किसक रोशन खतिवडा भने मनीष ढलेको बेला बाथरुम गएका थिए । उनी केही पछि मात्रै घटनास्थलमा पुगेका थिए । खेलपछि च्यासलका टेक्निकल डाइरेक्टर ली मेन्सनले मनीषको शीघ्र रिकोभरीको प्रार्थना गरे ।

मछिन्द्र उपाधि नजिक

मनीष ढलेको घटनाले ओझेलमा परेको खेलमा मछिन्द्रले च्यासलमाथि २–० को जित निकाल्यो । विमल घर्तीमगरले १७ औं मिनेटमा अग्रता दिलाएको खेलमा सुनील बलले ३५ औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाएका थिए । दशरथ रंगशालामै भएको दोस्रो खेलमा मनाङ मर्स्याङदीले चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टारविरुद्ध १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । दयानन्द सिंहले ६२ औं मिनेटमा मनाङलाई अगाडि बढाए पनि रितिककुमार खड्काले ७१ औं मिनेटमा थ्रीस्टारलाई बरारीमा पुर्‍याएका थिए ।

यस नतिजासँगै मनाङले शीर्षस्थानको मछिन्द्रसँग अन्तर छोट्याउने अवसर गुमायो । मछिन्द्रले १० खेलबाट २६ अंक जोडेको छ भने मनाङ २० अंकसहित दोस्रोमा छ । आर्मी (१८ अंक) र थ्रीस्टार (१७) शीर्ष चारमा छन् । तीन चरणका खेल बाँकी छँदा मछिन्द्र उपाधि रक्षाको निकै नजिक पुगेको छ । एन्फा कम्प्लेक्समा शनिबारै भएको खेलमा सातदोबाटो युवा क्लबले आकाश बुढामगरको पेनाल्टी गोलमा पुलिसमाथि १–० को जित रच्दै १५ अंक बनाएर शीर्ष पाँचमा उक्लियो ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.