
काठमाडौँ — ०१ फागुन २०७८
काठमाडौँ , कोरोना भाइरस महामारीयता पनि राष्ट्रियस्तरका ३–४ वटा ब्याडमिन्टन प्रतियोगिता आयोजना भए । त्यसमध्ये जुनियरबाट सिनियरमा पुस्तान्तरण हुँदै गरेका प्रिन्स दाहालले दुई उपाधि जिते । अर्को एउटा उपाधि प्रिन्सलाई नै हराएर दीपेश धामीले हत्याए । यसले घरेलु प्रतियोगितामा युवा खेलाडीबीच तीव्र प्रतिस्पर्धा दर्शाउँछ । नेपालका नम्बर एक रत्नजित तामाङ, विकास श्रेष्ठ, साजनकृष्ण ताम्राकार, युवा खेलाडी प्रफुल महर्जनलगायत प्रतिभावान खेलाडीलाई नेपालको एउटा उत्कृष्ट पुस्ता मान्न थालिएको छ । यी खेलाडीहरूले १३ औं दक्षिण एसियाली खेलकुदमा ५ पदक जितेका थिए । नेपाली ब्याडमिन्टनको सात दशक लामो इतिहासमा यो नै उत्कृष्ट पुस्ता भने होइन । ब्याडमिन्टनको तेस्रो पुस्ताका रूपमा खेलाडीहरू यस्ता थिए, जसले राष्ट्रिय प्रतियोगितामा च्याम्पियन र अन्तर्राष्ट्रिय प्रतियोगितामा चर्चित विदेशी खेलाडीलाई हराउने सामर्थ्य राख्थ्यो । उनीहरूले नेपाली ब्याडमिन्टनलाई गर्विलो विरासत दिएका छन् । यसलाई नेपाली ब्याडमिन्टनको ‘स्वर्णिम पुस्ता’ मानिन्छ ।
नेपालको ब्याडमिन्टनमा पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव भएका किशोरबहादुर सिंहसहित बलराम केसी, पुरुषोत्तम केसी, जेएल अमात्यहरूले पहिलो पुस्ताका रूपमा लामो समय जिम्मेवारी निभाए । उनीहरूलाई राजेन्द्रबहादुर विष्ट, उदय श्रेष्ठ, अशोक श्रेष्ठ, कुमुद त्रिपाठीहरूले प्रतिस्थापन गरे । दोस्रो पुस्ताले आफ्नो दरिलो उपस्थिति जनाउन नपाउँदै प्रदीपविक्रमजस्ता प्रतिभावान खेलाडी निस्किए ।
‘प्रदीप नेपाली ब्याडमिन्टन इतिहासमै मैले देखेको सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । हामी सँगै खेल्ने भए पनि उनको स्तर हामीभन्दा धेरै माथि थियो । उनी भारतमा व्यावसायिक ब्याडमिन्टन खेलेका खेलाडी । प्रकाश पादुकोण र सैयद मोदीबाहेक सबैलाई हराएका खेलाडी हुन् । उनले ५ वर्षजति थप खेलिदिएका भए नेपालको स्तर भारतभन्दा माथि जान्थ्यो,’ प्रदीपका टिममेट तथा हाल नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रहेका रामजीबहादुर श्रेष्ठले सुनाए । स्वर्णिम पुस्ताका अर्का खेलाडी हुन् प्रताप अधिकारी । उनी यो समूहका सिनियर थिए । तर प्रतिस्पर्धा यस्तो थियो कि प्रतापलाई राष्ट्रिय च्याम्पियन बन्न धेरै वर्ष कुर्नुपर्यो । उनी २०४२ र २०४५ का राष्ट्रिय च्याम्पियन हुन् । २०४२ सालको तेस्रो राष्ट्रिय खेलकुदमा उनले खेलेका चारै विधामा स्वर्ण जितेका थिए । २०३४ सालमा चीनमा सम्पन्न एसियन ब्याडमिन्टन च्याम्पियनसिपमा जुनियर हुँदाहुँदै सिनियरबाट डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमै उनको भेट भारतीय सुपरस्टार प्रकाश पादुकोणसँग भयो । ‘अल इंग्ल्यान्ड च्याम्पियन, भारतका नम्बर एक भन्नेबित्तिकै एउटा संकोच भइहाल्यो, तर मैले कोर्टभित्र शतप्रतिशत योगदान दिएँ,’ भारतकी चर्चित नायिका दीपिका पादुकोणका पिता प्रकाशसँगको खेलबारे प्रतापले सम्झिए, ‘त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय परीक्षा थियो । हामी धेरै पछि थियौं ।’
यो पुस्ताले वर्षमा चारवटासम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पायो । एसियाली खेलकुद, ब्याडमिन्टन विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप, थोमस कप, ब्याडमिन्टन विश्वकपलगायतका प्रतियोगितामा नेपालको नियमित सहभागिता रहन्थ्यो । सन् १९७९ मा चीनको होचाओ सहरमा आयोजित पहिलो विश्वकपमा १८ देशमध्ये नेपाल छैटौं भएको थियो । नेपालले टिम इभेन्टमा नाइजेरिया र श्रीलंकालाई हराएको थियो । त्यसमा एक–एक खेल प्रतापले जितेका थिए । सन् १९८६ को सोल एसियाली खेलकुदमा मलेसियाका मिसबुन सिडेकसँगको खेल प्रतापका लागि करिअरकै अविस्मरणीय थियो । पुरुष एकलतर्फ विश्व नम्बर दुई मिसबुनविरुद्ध पहिलो सेट १५–८ को अन्तरमा गुमाएका उनी दोस्रो सेटमा ११–६ को अग्रता लिँदालिँदै हार्न पुगे । ‘विश्वको शीर्ष नम्बरमा रहेकाहरूसँग त्यसरी खेल्न सक्नु नै मेरा लागि जिते बराबर थियो, त्यहाँ तत्कालीन खेलकुदमन्त्री केशरबहादुर विष्ट, सदस्य–सचिव शरदचन्द्र शाहले मेरो खेल हेर्नुभएको थियो । त्यही आधारमा त्यो वर्ष मैले स्पोर्ट्सम्यान अफ द इयरको अवार्ड जितेको थिएँ,’ पूर्वच्याम्पियन प्रताप सम्झन्छन् ।
टिमको सिनियर र परिपक्व खेलाडीको नाताले प्रतापलाई ‘तुरुप कार्ड’ का रूपमा प्रयोग गरिन्थ्यो । दिल्ली एसियाली खेलकुदमा थाइल्यान्डलाई हराउँदा १ घण्टा १७ मिनेटको म्याराथन सेट खेलेको सम्झनाले मात्रै पनि उनलाई छुट्टै ऊर्जा दिन्छ । ‘प्रदीप, प्रकाश, नरेश, रामजी र म थियौं । हामीले चीनमा दुई महिनाको प्रशिक्षणपछि दिल्ली पुगेका थियौं । टिम इभेन्ट्समा तेस्रो सिंगल्समा मेरो पालो थियो । मैले त्यो खेल जितें तर खेल सकिँदासम्म म उभिन नसक्ने स्थितिमा पुगिसकेको थिएँ,’ प्रतापले स्मरण गरे । यस्ता नतिजाहरूले नेपाली टिमले विदेशीमा राम्रो छवि बनाएको थियो । राष्ट्रिय प्रतियोगिताका अलावा टण्डन प्राइजमनी, तत्कालीन शाही नेपाल वायुसेवा निगमले गर्ने इन्टर कर्पोरेसन कप, जनकपुर चुरोट कारखानाले गर्ने महारानी वर्थडे कप, वाग्मती अञ्चलस्तरीय प्रतियोगिताहरूमा यी शीर्ष खेलाडीको प्रतिस्पर्धा रोचक रहन्थ्यो । ‘२०–४४ को कोर्टभित्र हाम्रो निकै नै कडा प्रतिस्पर्धा रहन्थ्यौं । कसले जित्छ भन्नै नसकिने । तर कोर्टबाहिर परिवारका सदस्यजस्तै थियौं,’ प्रतापले ती दिन सुनाए ।
२०४५ सालमा दोस्रोपल्ट राष्ट्रिय च्याम्पियन भएकै वर्ष उनले भारतको पटियालामा ब्याडमिन्टन एडभान्स प्रशिक्षण कोर्स गर्ने अवसर पाए । पहिलो श्रेणीमा प्रशिक्षण कोर्स पूरा गरेका उनलाई फर्किएर प्रशिक्षक बन्न भने चार वर्ष लाग्यो । बल्लबल्ल प्रशिक्षण सम्हालेका थिए राखेपबाट अवकाश भए । ‘राखेपबाट अनावश्यक कर्मचारीलाई अवकाश दिने निर्णयअनुसार तपाईंलाई पदमुक्त गरिएको छ भन्ने आशयको पत्र पढ्दा मलाई धेरै नै नरमाइलो लाग्यो । यतिका वर्ष नेपालको नाम शिरमा राखेर खेलेको म त अनावश्यक पो भएछु,’ त्यतिबेला दुःख लागेको प्रसंग प्रतापले सुनाए । २०४४, ०४८ र ०५१ सालका राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ त्यतिबेला फुटबलभन्दा ब्याडमिन्टन लोकप्रिय रहेको दाबी गर्छन् । ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्याडमिन्टनको माहोल बेग्लै थियो । एकसेएक प्रतिभाशाली खेलाडीहरूको प्रतिस्पर्धा रहन्थ्यो । सबैको स्तर एकैखाले थियो,’ उनले भने, ‘त्यतिबेला परम्परागत ब्याडमिन्टन खेलिन्थ्यो । त्यो समयमा हामीले राम्रो गरेका हौं । यसैलाई स्वर्णिम पुस्ता भन्ने नभन्ने अरूको कुरा हो, तर हामी समयअनुसार परिमार्जित छौं, हरेकपल्ट वर्तमान पुस्ता नै राम्रोजस्तो लाग्छ ।’
वर्तमान अध्यक्ष श्रेष्ठले ८ वर्षदेखि नेपाली ब्याडमिन्टनले निकै नै राम्रो प्रदर्शन गरिरहेको दाबी पेस गरे । ‘हाम्रो समयमा हामीले स्वर्णिम प्रदर्शन गरेका छौं । तर समय गतिशील छ र पुरानो पुस्ताको विरासत कायम राखेर अगाडि बढ्नु चुनौती पनि छ । आधुनिक समयमा प्रतिस्पर्धा बढेको छ । स्तर माथि पुगिसकेको छ । पहिले १०–१२ र्याली हुन्थ्यो भने अहिले २०–२२ र्यालीसम्म पुगेको छ,’ उनले भने, ‘समय यसरी परिवर्तन भइरहेको छ कि दशकदेखि राष्ट्रिय च्याम्पियन भइरहेका रत्नजित, दीपेशहरूलाई जुनियरबाट आएका प्रिन्सको स्पिडसँग खेल्न कठिन भइसकेको छ । निकट भविष्यमा प्रिन्सजस्ता थुप्रै प्रतिभाहरू आउँदैछन् ।’ इन्चोन एसियाडमा पाचौं, सन् २०१६ र ०१७ मा गरी दुईपल्ट पाकिस्तान इन्टरनेसनल सिरिजमा स्वर्ण, १३ औं सागमा पाँच पदक, नेपाल इन्टरनेसनल च्यालेन्जमा कांस्य, जुनियर प्रतियोगिताहरूको सफलतालगायत उपलब्धिले ब्याडमिन्टनको वर्तमान पुस्ता कमजोर नरहेको तर्क श्रेष्ठको छ । ‘हाम्रो समयपछि नेपालमा राजनीतिक परिवर्तन भयो । जनयुद्ध भयो । त्यसको असर खेलकुदमा पनि निश्चित रूपमा रह्यो । त्यसैले हाम्रो सफलता कायम राख्न सकिएन होला तर दोस्रो जनआन्दोलनपछिको समयमा नेपालले ब्याडमिन्टनमा धेरै प्रगति गरेको छ । पशुपति पनेरु, बलराम थापा, पूजा श्रेष्ठ, सुमिना श्रेष्ठ, सरादेवी तामाङहरूले अहिलेको सफलताको जग राखेका हुन्, त्यसपछि रत्नजित र प्रिन्ससम्मका खेलाडीहरू नेपाली ब्याडमिन्टनको विरासत फर्काउन लागिरहेका छन्,’ अध्यक्ष श्रेष्ठले थपे ।
लोकप्रिय खेल ब्याडमिन्टन
ब्याडमिन्टन संघको बुझाइमा अहिले नेपालमा सबैभन्दा धेरै खेलिने खेल नै ब्याडमिन्टन हो । नेपालको सबै क्षेत्रमा खेलिने र राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीको सहभागिता संख्याका आधारमा संघको दाबी हो यो । राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ झन्डै ३ सय र महिलातर्फ डेढ सय खेलाडीको नियमित सहभागिताले पनि ब्याडमिन्टनको लोकप्रियता पुष्टि गर्छ । तर उनीहरूलाई तिखार्ने प्रशिक्षक पर्याप्त खोइ त ? राखेपमा सातजना ब्याडमिन्टन प्रशिक्षक छन् । संघले लेभल १ तालिम दिएर तयार पारेका ५० भन्दा बढी प्रशिक्षक कहाँ के गर्दैछन् ? संघसँग कुनै लगत छैन । युवा खेलाडीको प्रदर्शनका आधारमा नेपाली ब्याडमिन्टन नयाँ इतिहास कोर्न सक्षम छ, ताकि भविष्यमा उनीहरूलाई नै ब्याडमिन्टनको स्वर्णिम पुस्ताका रूपमा चिनियोस् ।
( कान्तिपुर दैनिक )
