Fast Nepal News

फिनिसिङमा शरदमाथि विश्वास

banner single news

काठमाडौँ — २५ माघ २०७८

काठमाडौँ , खेलको अन्तिम बल थियो । भैरहवा ग्लाडियटर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सविरुद्ध स्कोर बराबरीमा ल्याउन ६ रन आवश्यक थियो । नत्र दाबेदार मानिएको भैरहवाले हार स्वीकार्नुपर्थ्यो । स्ट्राइकमा थिए भैरहवाका कप्तान शरद भेषावकर । उनले रशिद खानको बलमा छक्का नै प्रहार गरे । असोजमा सम्पन्न ईपीएलमा भैरहवाका प्रशिक्षक थिए पुबुदु दासानायके । उनलाई शरदको यो साहस कुनै नौलो लागेन । ‘मैले यस्तो अवस्थामा शरदले खेल जिताएको ५–६ पटक नै देखिसकेको छु,’ शरदले अन्तिम बल प्रहार गर्नुअघि नै उनले ठूलो शट खेल्नेमा आफू विश्वस्त रहेको दासानायकेले अरू खेलाडीलाई सुनाइरहेका थिए । फ्रेन्चाइज लिगमा पहिलो भए पनि शरद र दासानायकेको यो मिश्रण कुनै नौलो थिएन । सन् २०१४ मा दासानायकेकै प्रशिक्षणमा नेपालले ट्वान्टी–२० विश्वकप खेलेको थियो । फिनिसरको जिम्मेवारी उनै शरदले निभाएका थिए । छनोट चरणमा केन्या र यूएई (तेस्रो स्थानको खेल) विरुद्ध होस् या विश्वकप छनोटमा हङकङसँगको निर्णायक खेलमा शरदले नै नेपालका लागि विजयी रन बटुलेका थिए । शरदको यही फिनिसिङ भूमिकाले नेपाललाई पहिलोपल्ट विश्वकपमा पुर्‍याउन मद्दत गरेको थियो ।

ईपीएल खेलेपछि चार महिनापछि दासानायके र शरद दुवै नेपाली टोलीमा फर्किएका छन् । उनै शरदलाई दासानायकेले अहिले ब्याटिङमा ‘फिनिसर’ को जिम्मेवारी दिएका छन् । दासानायके दोस्रो कार्यकाललाई नेपालको प्रशिक्षक भएर आएपछि मात्र यो सम्भव भएको हो । २०११ मा नेपालको प्रशिक्षक भएका दासानायके २०१५ को अन्तिममा फर्किएका थिए । २०१९ को जुलाईमा सिंगापुरमा भएको ट्वान्टी–२० विश्वकपको एसिया छनोटयता शरद पनि नेपालको ट्वान्टी–२० संरचनाबाट हराएका थिए । ओमानमा हुने चारदिवसीय ट्वान्टी–२० शृंखला र विश्वकप छनोटबाट दासानायके र शरद दुवैले अहिले नेपाली टोलीमा पुनरागमन गरिरहेका छन् । शरदले भने यसलाई पुनरागमनभन्दा पनि अर्को एउटा खेल जसरी लिएका छन् । ‘क्रिकेटको जुनै पनि म्याच खेल्दा, त्यही खेलमात्र सोचिन्छ । पुनरागमन भनेर सोच्नुभन्दा पनि टिमको स्थितिअनुसार आफ्नो प्रर्दशन दिएर जिताउने कोसिस नै प्राथमिकता रहन्छ,’ शरद नेपालका खेलहरूप्रति जोड दिन्छन् ।

आठ वर्षअघि नेपालले विश्वकप खेल्दाका चार खेलाडीमात्र ओमान जाने टोलीमा छन् । ज्ञानेन्द्र मल्लबाहेक शरदसहित जितेन्द्र मुखिया र प्रदीप ऐरीले यसै प्रतियोगिताबाट पुनरागमन गर्दै छन् । उत्तरी आयरल्यान्डको बेलफास्टमा आयरल्यान्डविरुद्ध सन् २०१५ मा ट्वान्टी–२० विश्वकप छनोट खेलेयता ‘योर्कर किंग्स’ जितेन्द्र पहिलोपल्ट टोलीमा समेटिएका हुन् । प्रदीपले पनि शरदले जस्तै २०१९ यता ट्वान्टी–२० खेलेका थिएनन् । ‘म आफ्नो फिनिसिङ जिम्मेवारीलाई लिएर एकदमै आत्मविश्वासी छु । यत्रो वर्षदेखि खेल्दै आएको हुनाले दबाबका बेला, स्थित आफूअनुकूल नभएका बेला के गर्नुपर्छ भन्ने थाहा छ । आफ्नो खेल योजनामा विश्वस्त छु,’ शरद आफ्नो भूमिकालाई लिएर स्पष्ट छन्, ‘म हरेक खेल नै आनन्द लिएर खेल्ने प्रयास गर्छु, त्यही भएर आफ्नो उत्कृष्ट खेलिरहेको छु । अहिले पनि त्यो जोस–जाँगर घटेको छैन । जुन अनुभव मैले यतिका वर्षदेखि सिकेको छु, त्यसलाई आउने खेलहरूमा राम्रोसँग कार्यान्वयन गर्न सक्छु भन्ने विश्वाससाथ अगाडि बढिरहेको छु ।’

Inside Article Ads

शरदले १७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा कुनै अर्धशतक बनाएका छैनन् । ४० रन उनको उच्च स्कोर हो । २०१४ को विश्वकपमा बंगलादेशविरुद्ध र २०१९ मा मलेसियाविरुद्धको द्विपक्षीय शृंखलामा उनले आफ्नो उच्च स्कोरको इनिङ्स खेलेका थिए । मलेसियाविरुद्धको त्यो इनिङ्सको डेढ महिनापछि उनी नेपालको ट्वान्टी–२० टोलीबाट बाहिर हुन पुगे । शरदसँग २०१२, २०१३ र २०१५ मा ट्वान्टी–२० विश्वकप छनोट खेलेको अनुभव छ । सन् २०१९ मा कतार र सिंगापुरसँग पराजित भएर नेपाल एसिया छनोटमै रोकिएपछि त्यसको मूल्य शरदले पनि चुकाउनुपर्‍यो । ‘हामीले ३–४ वटा विश्वकप छनोट खेलिसकेको भएकाले मैले र ज्ञानु (ज्ञानेन्द्र मल्ल) ले टिममा अनुभव साट्ने काम गरिरहेका छौं । खेलहरूमा त्यसलाई कसरी त्यो लागू गराउने र आफूले पनि योगदान दिएर टिमलाई जिताउने स्थितिमा लैजाने भनेर छलफल गर्छौं,’ शरदले अनुभवी खेलाडीका रूपमा भने, ‘२०१४ को विश्वकप खेलेको र त्यसपछिको प्रभावबारेमा हामी चार खेलाडीले टिमसँग अनुभव बाँडिरहेका छौं ।’ नेपालले दोस्रोपल्ट ट्वान्टी–२० विश्वकप खेल्नेमा विश्वस्त देखिन्छन् शरद । ‘दुई खेलको कुरा हो । त्यो दुई खेलमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्‍यौं भने निश्चय पनि विश्वकप पुग्छौं भन्ने विश्वास छ,’ शरदले विश्वास पोखे ।

विश्वकप छनोटको समूह चरणमा नेपालले घरेलु टोली ओमानसहित फिलिपिन्स र क्यानडाको सामना गर्दै छ । शीर्ष दुई टोली हुन सके सेमिफाइनलमा पुग्नेछ । अर्को समूहका शीर्ष दुई टोली आयरल्यान्ड र यूएईसँग नेपालको सम्भावित भिडन्त हुनसक्छ । विजेता टोली विश्वकपमा पुग्नेछ । ‘टिम एकदमै सन्तुलित छ, हामी राम्रो पनि खेलिरहेका छौं । अभ्यासमा पनि एकदम राम्रो तयारी भएको छ । आफ्नो व्यक्तिगतभन्दा पनि टिमलाई कसरी उत्कृष्ट प्रदर्शन दिनेतर्फ सबै केन्द्रित छौं । टिमले जे मागेको छ, त्यो अनुरुपको प्रर्दशन दिने तयारी छ । यसमा सबैलाई आ–आफ्नो जिम्मेवारी थाहा छ,’ शरद विश्वकप पुग्नसक्ने एउटा आधार भने । पछिल्लो २–३ वटा विश्वकप छनोटमा असफल भए पनि यसपालि नेपालले राम्रो गरिरहेको शरदको दाबी छ । टोलीमा धेरै नयाँ खेलाडी देखिए पनि यसलाई संक्रमणकालीन अवस्था भनेर उनी मान्दैनन् । ‘यिनै भाइहरूसँगै हामीले कति धेरै घरेलु प्रतियोगिता खेलिरहेका छौं । सबैलाई एकअर्काको बारेमा थाहा छ । टिममा समन्वय राम्रो छ । खासै फरक म देख्दिनँ । हामीले गर्नुपर्ने जुन काम हो, त्यसमा ध्यान दिन सक्यौं भने नतिजा आउँछ,’ शरद थप विश्वस्त देखिन्छन् । सन् २०१३ को विश्वकप छनोटमा शरदले नेपाली क्रिकेटलाई जसरी परिभाषित गरेका थिए, अहिले नेपालले उनीबाट खोजेको पनि त्यस्तै हो ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.