
लन्डन — २४ माघ २०७८
लन्डन , लिभरपुलले कार्डिफलाई ३–१ ले हराएर आइतबार एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । योर्गेन क्लोपको टिम पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा डिएगो जोटा, तामुकी मिनामिनो र हार्भी इलियटले गोल गरेका थिए । कार्डिफका लागि वैकल्पिक रुबिन कोलविलले एक गोल फर्काए । लिभरपुलले अब अन्तिम १६ मा नरविच सिटीको सामना गर्नेछ । यसअघि टोटनहमले ब्राइटनलाई ३–१ ले हराएको थियो । यस्तै अन्य खेलमा म्यानचेस्टर सिटीले पिटरसर्ग युनाइटेड, चेल्सीले लुटन टाउन र टोटनहमले मिडल्सब्रोको सामना गर्नेछ । मिडल्सब्रोले शुक्रबार म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेको थियो ।
स्पेन
म्याड्रिड– स्पेनी ला लिगाको दोस्रो स्थानमा रहेको सेभियालाई ओसासुनाले शनिबार गोलरहित बराबरीमा रोकेको छ । सेभियाले यो बराबरीले रियल म्याड्रिडमाथि दबाब सिर्जना गर्ने मौका गुमाएको छ । सेभियाको २३ खेलबाट ४७ अंक रहेको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको २२ खेलबाट ५० अंक रहेको छ ।
इटाली
मिलान– ओलिभर जिरुडले गरेको दुई गोल मदतले एसी मिलानले इटालीको सिरी ए मा शनिबार इन्टर मिलानलाई २–१ ले हरायो । यो जितपछि मिलान शीर्ष स्थानमा रहेको इन्टरसँगको दूरी एक अंकमा छोट्याउन सफल रह्यो । जिरोडले ७५ र ७८ औं मिनेटमा गोल गरे । इन्टरले इभारन पेरिसिचको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । इन्टरको २३ खेलबाट ५३ अंक छ । मिलानको ५२ अंक भएको छ । मिलानले अन्तिम पटक सन् २०१०–२०११ मा लिग उपाधि जितेको थियो । शनिबारकै अन्य खेलमा लाजियोले फियोरेन्टिनाले ३–० ले हरायो भने एएस रोमा र जेनोआबीचको गोलरहित बराबरीमा टुंगियो । लाजियो ३९ अंक सहित छैटौं स्थानमा छ ।
( कान्तिपुर दैनिक )
