Fast Nepal News

‘एन्फामा वित्तीय निर्देशकले अनियमितता गरेको ठहर’

banner single news

काठमाडौँ — २४ माघ २०७८

काठमाडौँ , हवाई टिकट र पेश्की फर्स्यौटमा अनियमितता गरेको ठहर गर्दै छानबिन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) का वित्तिय निर्देशक निरन्जन शाहलाई तत्काल पदबाट निलम्बन गरी कानूनी कारबाही गर्न सिफारिस गरेको छ । समितिले शाहको कर्तुतमा साथ दिएको भन्दै महासचिव इन्द्रमान तुलाधर र अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि कारबाही गर्नुपर्ने राय दिएको छ । एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का संयोजकत्वको एक सदस्यीय समितिले अध्यक्ष शेर्पालाई बुझाएको प्रतिवेदनमा लेखिएको छ, ‘निरन्जन शाहले हवाई टिकट खरिदमा आर्थिक अनियमितता गरी संघको पेश्की फर्स्यौटको ३५ हजार नगद आफूले बुझिलिई एन्फाको बैंक खातामा दाखिला नगरी उक्त रकम बराबरको नक्कली बिल प्रस्तुत गरी आर्थिक हिनामिना गरेको देखिएकोले निजलाई तत्काल पदबाट निलम्बन गरी कानून बमोजिम कार्बाही अगाडि बढाई असुल उपर गर्न सिफारिस गरियो ।’ आरोपी शाहसहित तुलाधर र शेर्पाले छानबिनको क्रममा बयान नदिए पनि समितिको प्रतिवेदनमा उल्लेख छ । शाहको कर्तुतमा महासचिव तुलाधरको संलग्नता रहेको ठहर गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘पेश्की फर्स्यौटमा पेश भएको गलत तथा नक्कली बिल भर्पाईसमेतलाई आधार मानी निज शाहसँग मिलेमतो गरी आर्थिक अनियमिततामा संलग्न देखिएको र संघको हवाई टिकट खरिदमा भएको अनियमिततामा महासचिव तुलाधरले विगत १ वर्षदेखि कुनै कारबाही नगरी बेवास्ता गरी कार्यालय प्रमुख रहेका व्यक्तिले छानबिन समितिसमक्ष बयानसमेत दिन नआएकोले निजले पदीय जिम्मेवारी पूरा नगरेको देखिदा निज तुलाधरले नैतिक, पदीय तथा कानूनी जिम्मेवारी पूरा नगरी संघको आर्थिक हिनामिनालाई प्रश्रय दिएको देखिदा निजलाई आवश्यक कानूनी कारबाही अगाडि बढाउन सिफारिस गरियो ।’ रकम मेटाएर बढाइएको हवाई टिकट काण्ड र पेश्की फर्स्योटको लागि बुझाइएको नगद हिनामिना गरी नक्कली बिल हालेका शाहका कर्तुतमाथि गरिएको अध्ययनमा शेर्पा समितिप्रति जवाफदेही नभएको जनाइएको छ ।

शेर्पाविरुद्ध आफ्नै संघको पेश्की फर्स्यौटमा एन्फा आफैले गठन गरेको समितिलाई स्वतन्त्र रुपमा काम गर्न नदिएको, समितिसमक्ष बयान नदिएको, नक्कली बिललाई सद्धे र सक्कली मानी पेश्की फर्स्योट गर्न अन्तिम निकासा दिएको, हवाई टिकट अनियमिततासम्बन्धमा १ वर्षअघि वीचयोद्धा डेस्टिनेसन प्रालिको निवेदन र त्यससम्बन्धमा कर्मचारीलाई कुनै किसिमको निर्णय, निर्देशन, आदेश नदिएर विवादको निरुपण नगरेको प्रतिवेदनमा उल्लेख छ । समितिले शेर्पालाई पनि कारबाही गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको छ, ‘पेश्की फर्स्योटमा नक्कली बिल भर्पाई प्रमाणित गरी अन्तिम निकासा दिई संघलाई आर्थिक क्षति पुर्‍याउने कार्यमा सदर गरेको देखिदा सो कार्यमा निज शेर्पासमेतको संलग्नता देखिएकोले निजले एन्फाको समग्र नेतृत्व लिई नैतिक एवम् कानूनी रुपमा पेश्की फर्स्यौट र हवाई टिकट खरिदमा भएको अनियमितता पूर्ण रुपमा बेवास्ता गरी संघको गरिमामाथि आँच आउने कार्यमा संलग्न रहेको हुँदा एन्फा शेर्पा नैतिक र कानूनी हिसाबमा जवाफदेही नभएकोले निजसमेत सजायको भागिदार रहेको देखिदा सोही बमोजिम गर्न सिफारिस गरियो ।’ वरिष्ठ लेखा अधिकृत संजीव पाण्डेलाई सचेत गराइएको छ ।

निलम्बनको निर्णय नै फेरियो

एन्फा कार्यसमितिको पुस २२–२३ मा भएको कार्यसमिति बैठकले उपाध्यक्ष खड्काको समितिले तयार पारेको प्रतिवेदन गत विहीबार एन्फा अध्यक्ष शेर्पालाई बुझाएको थियो । तर, शेर्पाले त्यही दिन भएको कार्यसमिति बैठकमा भने उक्त प्रतिवेदन प्रस्तुत भने गरेनन् । एन्फाको १५ औं कार्यसमिति बैठकले ५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गर्दै वित्तिय निर्देशक शाहलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, पछि निर्णय प्रमाणित गर्ने क्रममा निलम्बनको लाइन नै हटाइएको छ ।

Inside Article Ads

छानबिन समिति गठन गरेको त्यो बैठकमा शाहले ‘यो (पेश्की फर्छ्यौटको कागजात) ओरिजिनल होइन, डुप्लिकेट’ भएको बताएका थिए । त्यसपछि मनोनित केन्द्रीय सदस्य तपेश्वर राउतले व्यंग गरेका थिए, ‘यहाँ डुप्लिकेट फाइल पनि बन्छ ∕’ त्यो बैठकपछि कार्यालय जान छाडेका शाहले बिदा पनि लिएनन् । नेपाल र मौरिससवीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दशरथ रंगशालामा देखिएका थिए । उनी माघ १७ गतेदेखि कार्यालय फर्किएका छन् । जनवरी २०२० देखि एन्फामा कार्यरत शाहलाई अध्यक्ष शेर्पाले संरक्षण गर्दै आएको आरोप छ । खासमा कोभिड १९ महामारीले गतिविधि ठप्प भएको बेला गत वर्ष नै शाहमाथि प्रश्न उठेको थियो । हवाई टिकटको वास्तविक मूल्यलाई मेटाएर बढी रकम लेखाएर भुक्तानी गरेको आरोप उनलाई लागेको थियो । त्यसबारे महासचिव तुलाधरले प्रतिवेदन पनि बुझाएका थिए । त्यसबेला तुलाधर र अध्यक्ष शेर्पाको सम्बन्ध चिसिएको थियो । तर, हवाई टिकटको भुक्तानीमा अनियमितताबारे छानबिन गरेपछि तुलाधर र शेर्पाको सम्बन्धमा एकाएक सुधार आएको थियो त्यसपछि बारम्बार प्रश्न उठेपनि शाहको क्रियाकलापमा शेर्पा र तुलाधरले बेवास्ता गरेका थिए ।

एन्फा आफैले टिकट पत्राचार गरेरर बुद्ध एयर र श्री एयरलाइन्समा खरिद गरेको टिकटको मूल्य बुझेका थिए । त्यसक्रममा घरेलु उडानको एउटै टिकटमा असली मूल्य मेटाएर २ हजार रुपैयाँ भन्दा बढी बढाइएको पाइएको थियो । राष्ट्रिय टिमको यात्राका टिकट नम्बर नै उपलब्ध गराइएको थिएन । यसबारे एन्फाले गत वर्ष गरेको छानबिनमा बिचयोद्धा डेस्टिनसनका प्रतिनिधिलाई वित्तिय निर्देशक शाले ‘एन्फा अध्यक्ष शेर्पाका साथ भएकोले बिलमा रकम बढाउँदा कसैले केही गर्न नसक्ने’ भनेको म्यासेज पाइएको थियो । श्री एयरलाइन्स र बुद्ध एयरका केही टिकटको खरिद रकममामात्रै ४७ हजार बढाएर निकासा शाहले निकासा गरिदिएको फेला परेको छ ।

चेक दिँदा नगद माग’

लिग कमिटिका सदस्य गौरीमान राईले सहिद स्मारक ‘सी’ डिभिजन लिग २०७७ को लागि १ लाख ३० हजार रुपैयाँ पेश्की लिएका थिए । उनले खर्च भएको ९५ हजारको बिल–भर्पाई र ३५ हजार नगद पेश्की फर्स्यौटको लागि शाहलाई बुझाउँदै २०७८ साल असार २ गते निवेदन दिएका थिए । जसलाई लिग समितिका निर्देशक संजीव मिश्रले सिफारिस गरेका थिए । शाह आफैले गत असार ३० गते उठाएको टिप्पणीमा महासचिव तुलाधरले ‘रु.१३०,००० को उक्त पेश्की फर्छ्यौट गरिदिनू’ भनी हस्ताक्षर गरेपछि एन्फाको ‘जर्नल भौचर’मा अध्यक्ष शेर्पा, महासचिव तुलाधर, वित्तिय निर्देशक शाह र सिनियर अकाउन्टेन्ट संजीव पाण्डेले हस्ताक्षर गर्दै सदर गरेका थिए । यसमा हस्ताक्षर नगरेका कोषाध्यक्ष रवीन्द्र जोशीले भने, ‘पेश्की फर्छ्यौटका त्यो फाइल मेरो टेबलमा आएकै छैन ।’ त्यसपछि छानबिन समिति बनाइएको हो । छानबिन समितिलाई बयान दिने क्रममा राईले भनेका छन्, ‘पेश्की फर्स्यौट गर्दा बाँकी रकमको हकमा चेक काटेर दिन्छु भन्दा वित्तिय निर्देशकम शाहले नगदै दिनुहोस् भनेपछि मैले लिग निर्देशक मिश्रसँग सापटी लिएर शाहलाई ३५ हजार नगद बुझाएको हुँ ।’ त्यही ३५ हजार नक्कली बिल पेश गरेर शाहले आफै राखेका थिए । ‘शाहले हालेको नक्कली बिल हो, मैले ३५ हजारको बिल हालेको छैन, त्यस्तो कुनै बिलमा मैले हस्ताक्षर पनि गरेको छैन,’ बयानमा राईले भनेका थिए ।

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.