
याउन्डे — २१ माघ २०७८
याउन्डे , मोहम्मद सलाहको इजिप्ट बिहीबार अफ्रिका कप अफ नेसन्सको फाइनल पुगेको छ । उसले आयोजक क्यामरुनलाई दोस्रो सेमिफाइनलमा हराउँदै फाइनल यात्रा तय गरेको हो । खेलको १ सय २० मिनेट गोलरहित बराबरीमा टुंगेपछि टाइब्रेकरमा इजिप्टले क्यामरुनलाई ३–१ ले हरायो ।
इजिप्टका लागि गोलरक्षक अबु गाबल नायक रहे । उनले ओलम्बे स्टेडियममा भएको खेलमा क्यामरुनका लागि हारोल्ड मोउकोडी र जेम्स ली सिलिकीको प्रहारलाइ गोल हुन दिएनन् । क्लिन एजेको प्रहार भने बाहिरियो ।
अधिकांश समय इजिप्टका लागि अन्तिम पेनाल्टी प्रहार गर्ने सलाहको सेवा पनि आवश्यक रहेन । अब इजिप्टले आइतबार हुने फाइनलमा सेनेगलको सामना गर्नेछ । यो लिभरपुलका दुई खेलाडी सलाह र सेनेगलका साडियो मानेबीचको फाइनल हुनेछ ।
( कान्तिपुर दैनिक )
