
याउन्डे — २० माघ २०७८
याउन्डे , ८ जनाको ज्यान जाने गरी भागदौड मच्चिएको स्टेड ओलेम्बे रंगशालामै अफ्रिका कप अफ नेसन्सको फाइनल खेलाउन अनुमति दिइएको छ । साताअघि रंगशाला प्रवेश गर्न लागेका क्यामरुनी समर्थकबीच दुर्घटना भएको थियो । अफ्रिकी फुटबल महासंघ (काफ) ले फेब्रुअरी ३ मा आयोजक देश क्यामरुन र इजिप्टबीचको दोस्रो सेमिफाइनल तथा फेब्रुअरी ६ मा फाइनल खेलाउन अनुमति दिएको छ । २४ जनवरीमा भएको भागदौडमा एक बालकसहित ८ समर्थकको मृत्यु भएको थियो । अस्थायी निलम्बन फुकुवा गर्दै काफले फाइनल खेलाउन अनुमति दिएको हो । ‘अतिरिक्त सुरक्षा प्रावधानबारे सरकारको सिफारिस र संवेदनशीलता ध्यानमा राख्दै काफको आयोजना समितिले सर्वसम्मत रूपमा यो रंगशालाको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको छ,’ काफबाट जारी वक्तव्यमा भनिएको छ, ‘स्थानीय आयोजक समिति र क्यामरुन सरकारले स्टेड ओलेम्बे रंगशालाको सुरक्षा तथा सुविधामा उल्लेख्य वृद्धि गरेको छ । दर्शक र पाहुनाको सुरक्षा सुनिश्चितता हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’
गत साता सोमबार क्यामरुन र कोमोरसबीचको खेलअघि यो दुर्घटना भएको थियो । रंगशालाको दक्षिण गेटमा जम्मा भएका ठूलो संख्यामा समर्थकबीच भागदौड मच्चिएको थियो । दुर्घटनामा घाइते ३८ जनाको उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी दिएअनुसार प्रहरीले प्रवेशद्वार खोल्नुभन्दा अगाडि नै जम्मा भएको ठूलो भीडबाट एक्कासि केही समर्थक चिच्याउन थालेपछि भागदौड मच्चिएको हो । क्यामरुनका खेलकुदमन्त्रीले शुक्रबार यो घटनामा सुरक्षाकर्मीलाई नै दोष दिएका थिए । उनले रंगशाला पुनः सञ्चालनका लागि आवश्यक सबै मापदण्ड पूरा गर्न तयार रहेको बताएका थिए । ६० हजार दर्शक क्षमताको यो रंगशाला यही प्रतियोगिताका लागि निर्माण गरिएको हो । सो दुर्घटनापछि यहाँ निर्धारित एक क्वाटरफाइनल खेल याउन्डेको अहमादोउ अहिदजो रंगशालामा सारिएको थियो ।
लिभरपुलका सुपर स्टारद्वय साडियो मानेप्रेरित सेनेगल र मोहम्मद सलाहप्रेरित इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल पुगेका छन् । पहिलो खेलमा इजिप्टले मोरक्कोमाथि अतिरिक्त समयमा २–१ जित निकाल्दा सेनेगलले गिनीलाई ३–१ गोलले हरायो । सेमिफाइनलमा इजिप्ट र क्यामरुन तथा सेनेगल र बुर्किना फासोबीच प्रतिस्पर्धा हुनेछन् । मोरक्कोले सोफियन बोउफलको पेनाल्टी गोलमार्फत खेलको सुरुआतमै अग्रता बनाएको थियो । तर दोस्रो हाफमा मोहम्मद सलाहले बराबरी गोल फर्काए । १–१ को बराबरीपछि अतिरिक्त समयमा पुगेको खेलमा मोहम्मद सलाहको पासमा महमुद ट्रेजेगेटले गोल गरेपछि कीर्तिमानी सातपल्टको महादेशीय च्याम्पियन इजिप्टले सेमिफाइनलमा प्रवेश पायो । ‘हाम्रो गोलले इजिप्टका सबै नागरिकलाई खुसी बनाएको छ,’ कप्तान सलाहले भने । जितपछि रंगशालाबाट फर्किंदै गरेका सलाह र सेनेगलको खेलका लागि रंगशाला प्रवेश गरिरहेका साडियो मानेबीच भेटवार्तासमेत भएको थियो ।
( कान्तिपुर दैनिक )
