Fast Nepal News

दक्षिण कोरिया विश्वकपमा

banner single news

दुबई — १९ माघ २०७८

दुबई , दक्षिण कोरिया लगातार दसौं पटक फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण कोरियाले मंगलबार दुबईमा भएको छनोट चरणमा सिरियालाई २–० ले पराजित गरेको थियो । किम जिन–सू र क्वान चाङ–हुनले दोस्रो हाफमा गरेको गोलमा दक्षिण कोरियाले जित हात पारेको हो । दक्षिण कोरिया समूह ‘ए’ मा २० अंकसाथ दोस्रो स्थानमा छ । इरान २२ अंकसहित शीर्षस्थानमा छ । यसअघि नै विश्वकपमा पुगिसकेको इरानले यूएईलाई १–० ले पराजित गर्‍यो । तेस्रो स्थानको यूएईसँग ९ अंकमात्र छ । टोलीले २ खेल खेल्न बाँकीको अवस्थामा दक्षिण कोरियालाई भेट्न नसक्ने निश्चित भएको हो । फर्ममा रहेको जापान विश्वकपको नजिक पुगेको छ । जापानले छनोट चरणमा समूहको शीर्षस्थानमा रहेको साउदी अरेबियालाई २–० ले पराजित गर्‍यो । लिभरपुलका फरवार्ड ताकुमी मिनामिनोको गोलमा चार पटकको एसियन च्याम्पियन्स जापानले पहिलो हाफमा अग्रता लियो । उत्तरी टोकियोको साइतामामा भएको खेलमा मध्यान्तरलगत्तै जुन्या इटोले दोस्रो गोल गरे । मिनामिनोले पछिल्लो ४ खेलमा ४ गोल गरेका छन् ।

समूह ‘बी’ को यो खेल सुरु हुनुअघि साउदी ४ अंकले अगाडि थियो । जापानविरुद्ध जित हात पारेको भए टोली यसै वर्ष कतारमा हुन लागेको विश्वकपमा छनोट हुने थियो । तर जापानको जितले दुई शीर्ष टोली विश्वकपमा पुग्ने स्थानका लागि ठूलै प्रतिस्पर्धा हुने देखिएको छ । दुई खेल खेल्न बाँकीको अवस्थामा साउदीको १९ र जापानको १८ अंक छ । समान ७ खेल खेलेका अस्ट्रेलिया र ओमान मंगलबार राति खेल्दैछन् । अस्ट्रेलियाको १४ र ओमानको ७ अंक छ । ८–८ खेल खेलेका चीनको ५ र भियतनामको ३ अंक छ । पुछारका यी दुई टोली विश्वकप दौडबाट बाहिरिइसकेको छ । भियतनामले पहिलो जित हात पार्नेक्रममा चीनमाथि ३–१ को नतिजा निकाल्यो । समूहका शीर्ष दुई टोली सोझै छनोट हुने प्रावधान छ भने तेस्रो टोली प्लेअफमार्फत विश्वकपमा पुग्न सक्छ । जापानले मार्च २४ मा अस्ट्रेलियासँग सिड्नीमा खेल्दै छ, जुन खेलले यो समूहबाट विश्वकपमा पुग्ने टोली तय गर्न सक्छ । जापनले अन्तिम खेल घरेलु मैदानमा भियतनामसँग खेल्नेछ ।

Inside Article Ads

‘हामीले यही गतिमा विजय हात पार्ने हो भने हामीलाई कसैले प्रभावित पार्न सक्दैन,’ जापानका व्यवस्थापक हाजिमे मारियासुले भने, ‘अस्ट्रेलियासँगको खेलका लागि हाम्रो तयारी राम्रो होस् भन्ने चाहन्छु, जहाँ विजय हात पार्‍यौं भने हामी आफै विश्वकपमा पुग्नेछौं ।’ पहिलो तीन खेलमा २ खेल हारेर जापानले विश्वकप छनोटमा निराशाजनक सुरुआत गरेको थियो । तर, त्यसयता जापानले लगातार ५ खेल जितेको छ । अब्दुलेलाह अल माल्कीले २३ औं मिनेटमा चोट बोकेर मैदान छाड्नु पनि साउदीलाई दुर्भाग्य बन्यो । साउदीले अब चीनमा गएर खेल्नुपर्नेछ र त्यसपछि अन्तिम खेल घरेलु मैदानमा अस्ट्रेलियासँग खेल्नेछ । ‘छनोट चरणको खेल सुरु हुनुअघि नै यी तीन टोलीबीच ठूलो प्रतिस्पर्धा हुन्छ भन्ने मलाई थाहा थियो,’ साउदीका व्यवस्थापक हर्भ रेनार्डले भने, ‘तीनै टोलीका लागि अझै महत्त्वपूर्ण खेलहरू बाँकी छन्, जसले विश्वकप छनोटको यी खेललाई प्रभावित फार्न सक्छ ।’

( कान्तिपुर दैनिक )

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.