Fast Nepal News

गोल, पेनाल्टी र रातो कार्ड

banner single news

काठमाडौँ — १९ माघ २०७८

काठमाडौँ , सुरुमै गोल । पेनाल्टीमा बराबरीको मौका । तर, गोलकिपरको बचाउ । दुवै टिमलाई थप अवसरहरू । खेलाडीबीच ठेलमठेल । डरलाग्दा ट्याकल अनि चार रातो कार्ड । अफिसियलको मैदानमै प्रवेश । बिजुली गएपछि फ्लडलाइट नै मधुरो । केहीबेर खेल अवरुद्ध । दशरथ रंगशालामा मंगलबार नेपाली राष्ट्रिय टिम र मोरिससबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यस्तै यस्तै अनेक पटकथा बुनियो । जसले कोरोना भाइरसको महामारीमा चुनौती मोल्दै रंगशालामा भित्रिएका ५ हजार दर्शकलाई खुसी, रोमाञ्च, तनाब महसुस गर्ने अवसर दियो । अर्थात, फुटबलको प्रतिस्पर्धामा हुने सबैखाले कथा बुन्न लायक रह्यो । ‘भर्सटायल’ फुटबलर सुजल श्रेष्ठले दसौं मिनेटमै गरेको गोलमा नेपालले पूर्वी अफ्रिकाबाट आएको टिमलाई १–० ले बिदाइ गरिदियो । शनिबारको पहिलो खेलमा पनि नेपालले १–० कै नतिजा निकालेको थियो, जसमा विमल घर्तीमगरले करिअरकै ‘कमब्याक गोल’ गरेका थिए ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो रोजाइमै डेब्यु दिएका डिफेन्डर नवीन गुरुङको कर्नरमा मोरिससका जोनाथन स्पेभिलले हेडद्वारा बल क्लियर गर्ने प्रयास गरे । तर, बल पेनाल्टी क्षेत्रको ठीकअघि रहेका आशिष लामाको खुट्टामा पुग्यो । त्यसपछि आशिषले प्रहार गरेको बल पूजन उपरकोटीले ‘फ्लिक’ गरिदिए, जसलाई गोललाइन नजिकै रहेका सुजलले बायाँ खुट्टाले हल्का रूपमै जाली चुमाउँदै नेपाललाई अग्रता दिलाएका थिए । ‘नेपाल टिमबाट गोल गर्नु छुट्टै रमाइलो हुन्छ, एकदमै खुसी छु,’ दशरथ रंगशालामा दशकपछि गोल गरेका सुजलले भने, ‘सोलिडारिटी कपपछिको गोल हो यो । मेरो गोलभन्दा पनि टिमले जितेको छ, यसैमा एकदमै खुसी छु ।’ उनले थपे, ‘पहिलो गोल पनि यही पोस्टमा र यही मैदानमा गरेको थिएँ, त्यो सम्झना भएको छ ।’
राष्ट्रिय टिमका लागि पहिलो गोल विश्वकप छनोटको प्रारम्भिक चरणमा टिमोर लिस्टेविरुद्ध ५–० को जित (दशरथ रंगशाला/२०११ जुलाई) मा गोल गरेका उनकै एकमात्र गोल मद्दतमा नेपालले मकाउलाई १–० (कुचिङ/२०१६ नोभेम्बर) ले हराएर हालसम्मकै सबैभन्दा ठूलो उपाधिको रूपमा एएफसी सोलिडारिटी कप जितेको थियो । त्यसैले मोरिससविरुद्धका गोल व्यक्तिगत रूपमा उनको तेस्रो अन्तर्राष्ट्रिय गोल हो । खासमा सुजल लेफ्ट विंगर हुन् । तर, उनी टिमको आवश्यकताअनुसार कहिले डिफेन्स त कहिले मिडफिल्डरमा खेल्दै आएका छन् । उनले मोरिससविरुद्ध पूरा समय लेफ्ट–ब्याकको भूमिका निर्वाह गरे । फरक पोजिसनमा खेल्दाको अनुभव सुनाए, ‘मैले यहाँ नै खेल्छु भनेर हुँदैन । कोचले जुन पोजिसन र जहाँ खेलाए पनि खुसी नै लाग्छ ।’ पूरा टिमको प्रदर्शनबारे उनी बोले, ‘१–० भएपछि टिममा दबाब त अवश्य पर्छ । गाह्रो भयो तर हाम्रो टिमले राम्रोसँग रक्षा (स्कोर) गर्‍यौं ।’

पेनाल्टीमा किरणको बचाउ

रंगशालामा उपस्थित दर्शकले घरेलु टिमले अग्रता लिएको खुसीयाली राम्रोसँग मनाउन नपाउँदै मोरिससले खेलमा फर्किने मौका पायो । पाहुना टिमका लिन्सले ब्रेसले प्रहार गरेको बल पोलमा लागेर फर्कियो । त्यसैलाई प्रहार गर्न अघि बढेका कप्तान एन्डी सोफीलाई डिफेन्डर दिनेश राजवंशीले लडाएपछि मोरिससले पेनाल्टी पायो । सोफी आफैंले हानेको पेनाल्टीमा नेपाली कप्तान किरण चेम्जोङले दायाँतर्फ डाइभ गर्दै बल रोकिदिए, जसलाई सुजलले बाहिर फाल्दै नेपालको संकट टारेका थिए । गोलकिपर किरणले तीन दिनअघि पनि राम्रो प्रदर्शन गरेका थिए । दोस्रो खेलमा पेनाल्टीबाहेक पाँचपल्ट राम्रै बचाउ गरेका उनले म्यान अफ द म्याचसहित ७५ हजार रुपैयाँ हात पारे ।

फिफाको मान्यता दिएको खेलमा नेपालले पहिलोपल्ट अफ्रिकी टिमविरुद्ध प्रतिस्पर्धा गरेपछि कप्तान किरणले भने, ‘फरक तर राम्रो अनुभव भयो । दोस्रो खेल एकदमै कठिन रह्यो । विपक्षी टिमले कडा चुनौती दियो । हामीले ९० मिनेट मिहिनेत गरेर खेल्यौं । सुरुको गोलले कन्फिडेन्स लेबल बढ्यो र टिम संरचनामा खेल्न सजिलो भयो । तैपनि ९० मिनेटसम्म १–० राख्न एकदमै गाह्रो भयो ।’ उनले थपे, ‘शारीरिक रूपमा मोरिसस एकदमै बलियो रह्यो । कहिलेकाहीं यस्तो टिमसँग खेल्दा दक्षिण एसियाबाहिरका बलिया टिमसँग खेल्न सजिलो हुन्छ । यसबाट हामीले शारीरिक रूपमा बलिया टिमविरुद्ध कसरी खेल्ने भन्ने सिक्यौं ।’ उनले बढी नै आत्मविश्वासी हुँदा केही गल्ती गरेका थिए । तर, ती अवसर मोरिससले उपयोग गर्न सकेन । माल्दिभ्सको माजिया स्पोर्टस एन्ड रिक्रिएसनबाट क्लब फुटबल खेलिरहेका उनी यही दुई मैत्रीपूर्ण खेलका लागि स्वदेश फर्किएका हुन् ।

सुधारिएको खेल

Inside Article Ads

अफ्रिकी महादेशको कमजोर टिम र दक्षिण एसियालीस्तरमै सीमित रहेको नेपाली टिमबीचको पहिलो खेल राम्रो थिएन । दुवै टिमको प्रदर्शन चित्तबुझ्दो थिएन । २७ महिनापछि मैदानमा फर्किएको मोरिससले दोस्रो खेलमा भने सुधारिएको प्रदर्शन गर्दै काठमाडौंको चिसो मौसममा नेपाललाई कडा चुनौती दियो । घरेलु टिमको प्रदर्शन स्तरअनुसार थिएन, पहिलो खेलको तुलनामा भने केही सुधार गरेको देखियो । मतलब, पहिलो रोजाइमा ठूलै परिवर्तन गरेको दुवै टिम दोस्रो खेलमा केही राम्रो देखिए । किरणको गल्तीमा एड्रियन बोट्लरले पेनाल्टी क्षेत्र नजिकबाट खाली पोस्टमा प्रहार गरेको बल बाहिरिँदा मोरिससले ४० औं मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो । इन्ज्युरी समयमा नेपालले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । तर, अञ्जन विष्टले सशक्त रूपमा प्रहार गरेको बललाई गोलकिपर लोइक मिचेलले रोकेका थिए । सहज अवसरलाई नेपालले दुईपल्ट उपयोग गर्न सकेन भने मोरिसस तीनपल्ट चुकेको थियो ।

चार रातो कार्ड

बोट्लरले ७१ औं मिनेटमा अञ्जनमाथि फाउल गर्न पुगे । उनले अञ्जनलाई लडाएपछि पनि नियतवश खुट्टा कुल्चिदिए । त्यसपछि तनाब बढ्दो र मिडफिल्डर पूजन उपरकोटीले बट्लरलाई बलले हानिदिए । खेलाडीहरूबीच धकेलाधकेल भयो । नेपालका गोलकिपिङ कोच विकास मल्ल र व्यवस्थापक मधुसूदन उपाध्याय नियम उल्लंघन गर्दै मैदानको बीचमै पुगे । केहीबेरको तनावपछि रेफ्री नवीन्द्र महर्जनले पूजन र बट्लरलाई दोस्रो पहेँलो कार्ड (रातो) देखाउँदै मैदानबाहिर पठाइदिए । यी दुईले यसअघि नै पहेँलो कार्ड पाइसकेका थिए । प्रशिक्षक मल्ललाई पनि रातो कार्ड देखाउँदै ‘बेन्च’ बाट निकालिएको थियो । दुवै टिम दस खेलाडीमा सीमित भएपछि खेलाडीहरू बलमाथिको नियन्त्रण राख्नेभन्दा शारीरिक खेलमै केन्द्रित भए । त्यसैले हुनसक्छ, डिफेन्डर गौतम श्रेष्ठलाई ७९ औं मिनेटमा इमानुएल फुलचन्दले डरलाग्दो ट्याकल गरे । दोस्रो हाफमा मात्रै मैदानमा प्रवेश गरेका उनी पनि दोस्रो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि मोरिसस ९ खेलाडीमा खुम्चियो । तर, संख्यात्मक रूपमा बढी खेलाडी भएको फाइदा नेपालले उठाउन सकेन । मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले उक्साहटमा आफ्ना खेलाडीहरू सम्हालिन नसक्दा रातो कार्ड बेहोर्नुपरेको बताए ।

‘खेल भने राम्रो खेल्यो । अवसर सिर्जना गरेका पनि हौं तर गोल गर्न सकेनौं र हार्न पुग्यौं,’ उनले भने । नेपाली टिमका प्रशिक्षक अल्मुताइरीले आफ्नो टिमले राम्रो खेलेको बताए । भने, ‘दुवै खेलको जित मैले सोचेभन्दा राम्रो नतिजा हो । यो एसियन कप छनोटको तयारी हो । नयाँ र युवा खेलाडीहरूले राम्रो प्रदर्शन गरे । यसमा खुसी छु । दुई जितबाट हामीले फिफा वरीयतामा पनि थप अंक जोडेका छौं ।’ वरीयतामा नेपाल (१६९ औं स्थान) भन्दा तीन स्थानमुनिको टिम हो मोरिसस । हिन्द महासागरको टापुको यो टिम पनि अफ्रिका कप अफ नेसन्स छनोटको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा यहाँ आएको हो । खेलले ठीक ९० मिनेट छुँदा विद्युतलाइन गएपछि फ्लडलाइट मधुरो भयो । स्कोरबोर्ड त झ्याप्पै निभ्यो । खेललाई निरन्तरता दिनसक्ने गरी प्रकाश नभएपछि दर्शकहरूले मोबाइलको लाइट बालिदिए । तर, जेनेरेटरको सहयोगमा फ्लडलाइटबाट फेरि रंगशाला उज्यालो बनाएर खेल सुचारु गर्ने बेलासम्म प्रतिस्पर्धा रोकिएको ८ मिनेट भइसकेको थियो ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.