Fast Nepal News

ब्युँतिएको विश्वकप सपना

banner single news

काठमाडौँ — १८ माघ २०७८

काठमाडौँ , विश्व ट्वान्टी–२० छनोट सुरु हुन दुई सातामात्र बाँकी छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जोडतोडले चलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा आधाजसो खेलाडीले आफूलाई तिखारिरहेका छन् । जबकि पुबुदु दासानायकेको प्रशिक्षण टोली खेलाडीको टोलीभन्दा बाक्लो देखिन्थ्यो । प्रशिक्षक दासानायकेको प्रशिक्षण टोलीमा रहेका जगत टमाटा (प्रशिक्षक), विक्रम न्यौपाने (फिजियो), सुमनराज कार्की (व्यवस्थापक), रमन सिवाकोटी (एनालिस्ट) मैदानमै थिए । भारतबाट ल्याइएका दुई नेट बलरसहित फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षणका लागि सोमबारदेखि नै ल्याइएका रघुराम श्रीनिवास पनि मैदानमा व्यस्त देखिन्थे । बिहान १०.३० देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछानेसहित ज्ञानेन्द्र मल्ल, आरिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कुशल भुर्तेल, लोकेश बमलगायतका खेलाडी मैदानमा अनुपस्थित थिए । साँझ जुममार्फत सञ्चारमाध्यमसँग गरिएको अन्तक्र्रियामा कप्तान सन्दीपले आफू कोभिड–१९ संक्रमणमा रहेकाले ४ दिनदेखि कोठाभित्र सीमित हुन परेकोमा निराशा पोखे ।

मैदानमा प्रशिक्षक दासानायकेले केही खेलाडी कोभिड संक्रमणमा रहेका र केही कन्टयाक्ट ट्रेसिङका कारण अनुपस्थित रहेको जनाए । ‘सबैले प्रशिक्षणमा मिहिनेत गरिरहेका छन्, तर कोभिड र अन्य कारणले एकैसाथ प्रशिक्षण हुन सकेको छैन । हामी त्यसलाई मिलाइरहेका छौं, केही दिनमा पूर्ण खेलाडी प्रशिक्षणमा उपलब्ध हुने आशा लिएको छु,’ दासानायकेले जुममा भन्दै थिए । दासानायके निकै सकारात्मक प्रशिक्षक हुन् । कोभिड–१९ को मारमा नेपाली टोलीको प्रशिक्षण रहे पनि उनी नेपालको गन्तव्य ट्वान्टी–२० विश्वकप रहेकोमा प्रस्ट थिए । भलै, उनले नेपालको प्रशिक्षणको जिम्मेवारी दोस्रोपल्ट लिएको एक महिनामात्र पुगेको छ । ‘सबै योजनाअनुरुप नै चलिरहेको छ, तर म छोटो समयमै आएको छु । मसँग अझ समय भएको भए राम्रो हुन्थ्यो । हामीसँग जति समय थियो त्यसमा उत्कृष्ट गर्न खोजेका छौं । मलाई लाग्छ अन्तिम तयारी ओमानमा हुने तीन अभ्यास खेलले गर्नेछ,’ उनी ट्वान्टी–२० विश्वकपअघि हुने चारदेशीय प्रतियोगितालाई मुख्य तयारीको रूपमा लिन्छन् । नेपाली टोली फेब्रुअरीको पहिलो साता ओमान जाने तयारी छ ।

ओमानले चार राष्ट्रसम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै छ । नेपाल, ओमानसहित आयरल्यान्ड र यूएईले यसमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले फेब्रुअरी ११ मा ओमान, १२ मा यूएई र १४ मा आयरल्यान्डसँग खेल्ने छ ।  फेब्रुअरी १८ देखि ट्वान्टी–२० विश्वकप छनोट सुरु हुनेछ । नेपाल, ओमान, फिलिपिन्स र क्यानडा समूह ‘ए’ मा तथा आयरल्यान्ड, यूएई, जर्मनी र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने दुई टोलीले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप स्थान बनाउने छ । ‘निश्चय पनि यो कठिन प्रतियोगिता हो, अहिले भएका उत्कृष्ट टिमहरूसँग हामी खेलिरहेका छौं । ठूलो प्रतियोगिताअघि यो जोखिम नै होइन तर चुनौतीपूर्ण भने हो,’ दासानायकेले चारदिवसीय प्रतियोगिताबारे भने, ‘आयरल्यान्ड, ओमान र यूएईसँग खेल्दा हामी कुन स्थितिमा छौं भनेर थाहा हुन्छ । हामीसँग धेरै योजना छन्, फरक योजनाहरू प्रयोग गर्नेछौं र ट्वान्टी–२० विश्वकप छनोटमा कुन खेलाडी प्रयोग गर्ने निर्णय गर्नेछौं । हामीसँग जे छ त्यसलाई सकारात्मक रूपमा लिनेछौं ।’ नेपाली टोली ६० प्रतिशत हाराहारी लयमा रहेको र आगामी १० दिनमा त्यसमा २०–३० प्रतिशत थप सुधार्नेमा प्रशिक्षक दासानायके आशावादी छन् ।

Inside Article Ads

उनकै प्रशिक्षणमा नेपालले २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । २०१५ को अन्त्यतिर उनी फर्किएयता नेपाल एसियाली छनोटमै अल्झिरहेको छ । दासानायके आएयता नेपालको विश्वकप सपना फेरि ब्युँतिएको छ ।‘हामी सही दिशामा छौं, मलाई खेलाडीमाथि विश्वास छ । प्रतियोगिता सुरु हुनुअघि उनीहरू आफ्नो उत्कृष्टमा पुग्नेछन्,’ दासानायकेले आफ्ना लागि ट्वान्टी–२० विश्वकपको कुनै दबाब नरहेको जनाउँदै भने, ‘नेपाली क्रिकेटका लागि मैले सक्दो गरेको छु र विश्वकप खेलाउने लक्ष्य राखेको छु । मेरा लागि पनि यो अवसर हो । नेपाली टोली अहिले धेरै राम्रो छ । विगतभन्दा नेपालको ब्याटिङ फरक पाएँ, अहिले नेपाली ब्याटरले आक्रामक खेल्छन् ।’ नेपाली टोलीमा पहिलोपल्ट परेका आक्रामक ब्याटर लोकेश बम र विवेक यादवबाट उनी अझ प्रभावित छन् । विश्वकप छनोटको संरचना फरक रहेकाले त्यसमा निकै सचेत देखिन्छन् उनी । विगतमा विश्वकप छनोटमा खेल्ने टोलीलाई दुई समूहमा विभाजन गरिन्थ्यो ।

एउटा टोलीले समूह चरणमा अर्को ६ टोलीसँग खेल्न पाउँथ्यो । तर यसपालि ८ टोलीलाई नै दुई समूहमा विभाजन गर्दा प्रतियोगिताको संरचना फरक बनेको छ । दासानायकेले भने, ‘हामी चुनौतीपूर्ण प्रतियोगिता खेल्न गइरहेका छौं । १४ टिमको छनोट भएको त्यसमा एउटा अवसर हुन्थ्यो १–२ खेल हार्दा पनि । यसमा एउटा खेल हारेमा प्रतियोगिता नै सकिन सक्छ ।’ ओमान भ्रमणबाट सन्दीपले नेपाली टोलीको नेतृत्व लिनेछन् । नेपाली टोलीसँग भिज्न बिग बास बीचैमा सकेर आए पनि सन्दीप कोभिडका कारण मैदानमा राम्रोसँग जान पाएका छैनन् । २–३ पटक प्रशिक्षणका लागि मैदान पुगेयता उनी संक्रमित हुन पुगेका छन् । ‘मेरा लागि कप्तानी नयाँ अनुभव हुनेछ, एकअर्कामा हामी सबै सँगै खेलिरहेकाले मलाई कप्तानी खासै नौलो हुने छैन,’ नेपालका लागि २५ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ४७ विकेट लिएका सन्दीपले भने, ‘म लगायत सबै खेलाडीका लागि उत्तिकै महत्त्वपूर्ण प्रतियोगिता हो यो छनोट, २०१४ मा नेपालले विश्वकप खेल्दा कति परिवर्तन ल्यायो, त्यो हामीले देखेका छौं ।’

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.