
दोउला — १७ माघ २०७८
दोउला , आयोजक टोली क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । कार्ल टोको एकाम्बीको दुई गोल सहयोगमा क्यामरुनले गाम्बियालाई हरायो । बुर्किना फासोले ट्युनिसियामाथि १–० को जित रच्यो । फ्रान्समा जन्मिएका ल्योनका स्ट्राइकर टोकोले दोस्रो हाफको सुरुआती ८ मिनेटभित्र २ गोल गरी टिमलाई सहज अवस्थामा पुर्याएका थिए । क्यामरुनले याउन्डेमा भएको भागदौडको घटनापछि डोउलामा पहिलो खेल खेलेको थियो । अघिल्लो साता रंगशाला प्रवेश गर्ने क्रममा भएको भागदौडमा कम्तीमा ८ जना समर्थकको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए । उनको गोलपछि क्यामरुनी खेलाडीको खुसियाली बेजोड रह्यो । उनीहरू शोकलाई शक्तिमा बदल्ने प्रयासमा थिए । प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाएको गाम्बियामाथि घरेलु टोलीले पूर्ण नियन्त्रण कायम राखेको थियो ।
अघिल्लो खेलमा जस्तै दुर्घटना दोहोरिन नदिनका लागि डोउलामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सेनाका बन्दुकधारी सिपाही रंगशाला वरिपरि घरका छतमा तैनाथ थिए । रंगशालाको प्रवेशद्वारमा पनि प्रहरीले निगरानी कडा पारेका थिए । ५० हजार दर्शक क्षमताको सो रंगशालामा खेल सुरु हुनुभन्दा ५ घण्टा अगाडिदेखि नै गेट खुला राखिएको थियो । डोउला क्यामरुनको आर्थिक राजधानी हो । कोरोना भाइरस संक्रमणका कारण अफ्रिका कप अफ नेसन्स (एफकोन) ले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डमा रंगशालामा क्षमताको ६० प्रतिशत दर्शक राख्ने व्यवस्था छ । तर घरेलु टिमले खेल्ने खेलमा ८० प्रतिशतसम्म राख्न पाइन्छ । यो खेलमा ३६ हजार २ सय ५९ समर्थकले रंगशालामा प्रवेश पाएका थिए ।
( कान्तिपुर दैनिक )
