
ओउगाडोउगोउ — १७ माघ २०७८
ओउगाडोउगोउ , अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा ट्युनिसियालाई पराजित गरेपछि द्वन्द्वग्रस्त मुलुक बुर्किना फासोको राजधानीका सडकमा उत्रिएर नागरिकले खुसी मनाए । सेनाले सत्ता हातमा लिएपछि पहिलोपल्ट नागरिकले सडकमा खुसियाली मनाउन पाएका थिए । राजधानी ओउगाडोउगोउमा समर्थकले कारको हर्नसँगै भुभुजेला बजाएर उत्तर अफ्रिकी प्रतिस्पर्धीमाथिको विजयोत्सव मनाए । क्यामरुनमा जारी प्रतियोगितामा बुर्किना फासोले १–० को जित हासिल गरेको थियो । ‘अतीतका सबै कुरा बिर्सिएर फुटबलले हाम्रो जीवनमा थोरै राहत दिलाउने बहाना मिलेको छ,’ आफ्नो नाम उल्लेख भएको राष्ट्रिय टोलीको जर्सी लगाएका अर्सेन काबोरेले भने । पश्चिम अफ्रिकी देश बुर्किना फासोमा हिंसात्मक जिहादी विद्रोहसहित महिनौं लामो अशान्तिपछि गत सोमबार राष्ट्रपति रोच मार्क क्रिस्टियनलाई पदच्युद गरी सेनाले सत्ता हातमा लिएको थियो ।
अधिकारीहरूले पल हेनरी सान्डाओगो डामिबा नेतृत्वको एउटा क्षेत्रीय समूहलाई प्रतिबन्ध लगाउनेबारे विचार गरिरहँदा देशको शान्ति व्यवस्था अझै कमजोर हुने अनुमान थियो । तर सार्वजनिक स्थानमा लगाइएको ठूलो पर्दामार्फत फुटबल हेर्न जम्मा भएको भीडले सबै पीडा बिर्सेर खेलको आनन्द लिइरहेका थिए । पहिलो हाफको इन्जुरी समयमा डांगो ओउटाराको एकमात्र गोल निर्णायक बन्दा त्यसले बुर्किना फासोमा राष्ट्रिय खुसी दिलायो । बुर्किना फासोका एक कृषिविद् जाकारिया बोउडाले यो जितले तनावपूर्ण दिनपछि नागरिकले राहतको महसुस गर्न पाएको अनुभव गरेका छन् । राजधानी सहरमा अहिले पनि कर्फ्यु लगाइएको छ । नागरिकहरू साँझ परेपछि घर फर्किनुपर्ने नियम छ । तर, त्यहाँका डाक्टर फ्रेड्डी सावाडोगोले भनेका छन्, ‘आजका लागि कुनै कर्फ्यु छैन । किनभने सिपाहीहरू पनि खुसियाली मनाइरहेका छन् ।’
हिंसात्मक आन्दोलनपछि सत्ता फेरबदल भएको पाँच दिनपछि भूपरिवेष्टित मुलुक बुर्किना फासोको यो सफलताले समग्र देशवासीका लागि खुसीको सञ्चार मिलेको छ । भावुक बनेका मुख्य प्रशिक्षक कामोउ मालोले भनेका छन्, ‘म निकै भावुक भइरहेको छु । मलाई यो जित आफ्ना जनतालाई समर्पित गर्न दिनुहोस्, उनीहरू यस्तै खुसीको खोजीमा छन् । बुर्किनाका मानिस सधैं हाम्रो टिमका लागि उपस्थित हुनेछन् । हाम्रो आजको सफलता उनीहरूकै शुभकामनाको प्रतिफल हो । हामी यो प्रतियोगितामा अझै अगाडि बढ्न चाहन्छौं ।’
( कान्तिपुर दैनिक )
