Fast Nepal News

नजर रहनेछ, विमल र अञ्जनमा

banner single news

काठमाडौँ — १७ माघ २०७८

काठमाडौँ , अञ्जन विष्टले ठीक भनेका थिए, नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक १३ गोलको कीर्तिमान जस्ताको तस्तै रहेको धेरै वर्ष भयो, त्यसलाई तोडिनुपर्छ । मालेमा भएको साफ च्याम्पिनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपालले निकालेको जितपछि अञ्जन यस्तो भन्दै थिए । अनि उनी त्यत्तिकैमा रोकिएनन्, थपे, ‘नेपालका लागि १३ गोलको कीर्तिमान तोड्ने लक्ष्य पनि छ ।’ अञ्जनले पछि बंगलादेशविरुद्ध पनि पेनाल्टीबाट गोल गरे । नेपालका लागि उनको व्यक्तिगत गोल संख्या पुगिसकेको छ, सात । उनको यो सातौं गोल नेपाली फुटबल इतिहासकै सर्वाधिक महत्त्वपूर्ण हो, अत्यधिक दबाब र तनावमा गरिएको गोल हो । यिनै अञ्जनले निकालेको मीठो पासमा विमल घर्तीमगरले मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा गोल गरे । त्यो उनको नवौं गोल थियो । केही महिना अगाडिसम्म पनि लागिरहेको थियो, सायद विमलले दोहोर्‍याएर नेपालका लागि खेल्ने छैनन् ।

त्यसमा चोटको जति भूमिका थियो, उनको व्यक्तिगत बानी बेहोराको पनि त्यत्तिकै भूमिका थियो । खुट्टाको चोटबाट मुक्त हुन उनी कतारमा गए र शल्यक्रिया पनि गराए । सुरुमा मछिन्द्रका लागि सहिद स्मारक लिग ‘ए’ डिभिजनमा फर्के, अहिले राष्ट्रिय टिमका लागि पुनरागमन गरेका छन् । लिगमा ब्रिगेड ब्वाइजविरुद्ध गरेको दोस्रो गोलमा उनले देखाइसकेका छन्, उनमा अझै ‘क्लास’ गएको छैन् । त्यही खेलपछि उनले भन्न पनि खोजे, अहिलेको विमल फेरिएका छन् । अनि पुनरागमन खेलमै उनले नेपालका लागि गोल गरे । यसले देखाएको छ, यत्तिको माथिल्लोस्तरमा उनमा गोल गर्ने भोक सकिएको छैन् । यो गोलपछि उनी जसरी नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसम्म भावनात्मक हुँदै पुगे र अँगालोमा बेरिए, यो मोड आफैंमा एउटा कथाभन्दा फरक छैन् । खासमा विमल र अञ्जन नै त्यस्ता दुई खेलाडी हुन्, जसले नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान छुन मात्र सक्ने छैनन्, तोड्न पनि सक्नेछन् ।

दुई दशक छुन लागेको कीर्तिमान

नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमान दुई खेलाडीमा रहेको छ, हरि खड्का र नीराजन रायमाझी । अहिले गलत कारणले चर्चामा रहेका हरिले सन् २००३ मा १३ औं गोल गरेका थिए, अफगानिस्तानविरुद्ध । दुई दशक हुन लागेको यो कीर्तिमानलाई पछि बराबरी गरे, नीराजन रायमाझीले, सन् २००८ मा पाकिस्तानविरुद्ध । यो पनि १४ वर्ष भइसक्यो । यी नीराजन अहिले गुमनाम जस्तै छन् । तर यिनै हरि र नीराजनको कीर्तिमानको चर्चा बारम्बार दोहोरिने गर्छ, कसरी पो छुट्छन् र ? यी दुई खेलाडीपछि सर्वाधिक गोल जुमनु राईले गरेका छन्, ११ । यिनले पनि नेपालका लागि खेल्न छाडेको धेरै भयो, भलै उनले औपचारिक रूपमा संन्यास लिएका छैनन् । त्यसपछि १० गोल गर्ने खेलाडी हुन्, भरत खवास । भरतले अहिले पनि मज्जाले खेलिरहेका छन्, खालि अल्मुताइरीको नजरमा पर्न छाडेका छन् ।              
जति बेला उनीहरू लयमा थिए, लागिरहेको थियो, सर्वाधिक गोलको कीर्तिमान तोड्ने यिनै हुन् । तर नजिक पुगेर पनि उनीहरू टाढै रहे । नेपालका लागि नौ गोल गर्ने खेलाडी चार छन्, विमल अगाडि यत्तिको गोल गणेश थापा, वसन्त थापा र अनिल गुरुङले गरेका छन् । यी तिनै खेलाडीको राष्ट्रिय टिमका लागि खेल जीवनमा पूर्णविराम लागिसकेको छ । त्यसमध्ये कसैको धेरै अगाडि । कसैको धेरै पछाडि । र, त्यसपछि पालो आउँछ, सात गोल गरेका दुई खेलाडी, अञ्जनसँगै नवयुग श्रेष्ठ । लिगको ठीक अगाडि नवयुग आफैं पनि चोटग्रस्त भए । उनी आफैं नेपालका लागि पुनरागमन गर्न सक्षम छन्, तर सायद उमेरले उनलाई धोका दिन सक्नेछ ।
Inside Article Ads

सम्भावना विमल र अञ्जनकै

विमल र अञ्जन सायद आफ्नो सक्रिय खेल जीवनको मध्यभागमा मात्र पुगेका छन् । सबै स्थिति अनुकूल रहने हो भने नेपालकै लागि उनीहरूको खेल जीवन अझै मज्जाले राम्रै समय चल्नेछ । त्यसैले पनि नजर यिनै दुई खेलाडीमा रहेको हो । विमलले नेपालका लागि सन् २०१२ मै डेब्यु गरेका थिए, यो पनि आफैंमा १० वर्ष भइसकेको छ । जति बेला उनले नेपालका लागि पहिलोपल्ट खेले, भर्खर भर्खर किशोर उमेरमा पुगेका थिए । यसबीच उनले खालि ३६ खेलमा नौ गोल गरिसके । उनले सबैभन्दा पहिले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेका थिए, सन् २०१३ मा । उनको दोस्रो गोल सन् २०१५ मा केरलामा सम्भव भएको थियो, भारतविरुद्ध । सन् २०१६ मा बंगबन्धु गोल्डकपमा उनले श्रीलंकाविरुद्ध तेस्रो गोल निकाले । चौथो गोल ब्रुनाइविरुद्ध एएफसी सोलिडारिटी कपमा सम्भव भएको थियो र वर्ष थियो, सन् २०१६ मा । त्यही प्रतियोगितामा उनले लाओसविरुद्ध पनि गोल गरे, यो उनको पाँचौं गोल रह्यो । सन् २०१७ को एसिया कप छनोटमा विमलले ताजकिस्तानविरुद्ध आफ्नो छैटौं गोल गरे । सन् २०१८ को साफ च्याम्पियनसिपमा उनले दुई गोल गरे, पाकिस्तान र बंगलादेशविरुद्ध र पुगेको थियो, आठ गोल ।

त्यसपछि उनको व्यक्तिगत जीवनदेखि खेलाडी जीवनसम्म धेरै उतारचढाव आए । अञ्जनले पनि यसबीच यस्तै उतारचढावको यात्रा तय गरे । उनले नेपालका लागि विमलभन्दा धेरै क्याप जितिसकेका छन्, भलै उनको डेब्यु सन् २०१४ मा भएको थियो । अनि विमलले आठ गोल गरिसकेपछि मात्र अञ्जनको गोलको खाता खुलेको थियो । अञ्जनले पहिलो गोल भने सन् २०१९ मा गरेका हुन्, नेपालका लागि खेलेको पाँच वर्षपछि । अवसर थियो, विश्वकप छनोट र विपक्षी टिम थियो, चिनिया ताइपेई । त्यसमा उनले एक होइन, दुई गोल गरे । अञ्जनको तेस्रो गोल इराकविरुद्ध रह्यो, सन् २०२१ मा । त्यही वर्ष उनले विश्वकप छनोटमै चिनियाँ ताइपेईविरुद्ध आफ्नो चौथो गोल पनि गरे । अञ्जनको पाँचौं गोल सन् २०२१ मै भारतविरुद्ध रह्यो, मैत्रीपूर्ण खेलमा । अनि छैटौं र सातौं गोल मालेमै भए । विमल र अञ्जनले बीचमा केही खेल नगुमाएको भए, अझै धेरै गोल गर्न सक्थे कि ? विशेषतः विमलले । सबैलाई थाहा छ, आम मान्छेको जीवनमा त ‘यदि र तर’ हुन्न भने खेलाडी जीवनमा यस्तो सुविधा कसरी हुन सक्छ र ? तर भविष्य भने आफ्नो हातमा हुन सक्छ । विश्वास गरौं, विमल र अञ्जनले ठीक बाटो रोज्नेछन् र यीमध्ये कसैले नेपालका लागि गोलको नयाँ कीर्तिमान राख्नेछन् ।

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.