Fast Nepal News

विमलको सानदार ‘कमब्याक’

banner single news

काठमाडौँ — १६ माघ २०७८

काठमाडौँ , यू–१६ टिममा छँदै चर्चित भएका विमल घर्तीमगर युरोपेली क्लबमा सबैभन्दा बढी अवसर पाएका नेपाली फुटबलर हुन् । तर, उनका लागि पछिल्ला तीन वर्ष निकै खराब रह्यो । नाइट क्लब काण्डको कारण थिम्पु उड्नु केही घन्टाअघि मात्रै राष्ट्रिय टिमबाट निकालिए । निलम्बनमा पनि बेहोरे । मैदानमा फर्केपछि चोटले सतायो । घुँडाको शल्यक्रिया नै गर्नुपर्‍यो । धेरैले सोध्न थाले, उनको करिअर नै संकटामा परेको त होइन ? दायाँ घुँडाको शल्यक्रिया गरेपछि साँच्चै विमल फेरि लयमा फर्किेनमा शंका बढ्न थालेको थियो । तर, लिग च्याम्पियन मछिन्द्रमा आबद्ध हुँदै उनी मैदानमा फर्किए । सुरु–सुरुमा अन्त्यतिर मैदानमा प्रवेश गरेका उनमा आत्मविश्वास बढ्दै गयो । पछिल्ला खेलहरूमा सुधारिएको प्रदर्शन गर्दै पहिलो रोजाइमै खेल्न थाले । यसबीच उनलाई राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि विश्वास गरे । मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमध्ये शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा विमलले पहिलो रोजाइमै खेल्ने मौका पाए ।

फिफा वरीयतामा तीन स्थानमुनिको टिमविरुद्ध नेपालले १–० को जित निकाल्यो । यसमा एकमात्र गोल विमलले नै गरे । उनले अञ्जन विष्टको चलाखीपूर्ण पासमा ५५ औं मिनेटमा प्रहार गरेको बलले पोस्ट छुँदै जालीको सम्पर्कमा पुगेको थियो । त्यो ‘मुभ’मा बल पाउनुअघि नै विमलको दौडाइमै गोल गर्नसक्ने आत्मविश्वास बुझ्न सकिन्थ्यो । राष्ट्रिय टिममा २७ महिनापछि फर्किएका उनले नेपाललका लागि तीन वर्षयता पहिलो गोल गरेका हुन् । त्यसैले हुनसक्छ, उनले गोलको खुसीयाली पनि उस्तै बेजोड तरिकाले मनाए । म्यानमारविरुद्ध ३–० ले हारेको (मान्डलय/२०७६ कात्तिक २१) मैत्रीपूर्ण खेलयता विमल पहिलोपल्ट राष्ट्रिय टिमबाट खेलेका हुन् । त्यसयता प्रतिबन्ध र चोटको चपेटामा परे । उनले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध २–० को जितमा एक गोल (ढाका/२०७५ भदौ २३) गरेका थिए । त्यसयता उनले राष्ट्रिय टिमका लागि पहिलो गोल गरेका हुन् ।

उनको नवौं अन्तर्राष्ट्रिय गोल पनि हो यो । साफ यू–१९, दक्षिण एसियाली खेलकुद (यू–२३), बंगबन्धु गोल्डकप र सोलिडारिटी कप जितेका उनले क्लब र देशका लागि पुनरागमनसँगै गोल यी फरवार्डले फेरि राम्रो लय समात्ने संकेत देखाएको छ । ‘विमलका लागि यो गोल महत्त्वपूर्ण हो,’ प्रशिक्षक अल्मुताइरीले भने, ‘तर, हामीलाई यत्तिले मात्रै पुग्दैन । त्यसैले विमल अगाडि बढ्नुपर्छ । उनीसँगै धेरै अपेक्षा गरेका छौं । उनले थप मिहिनेत गरेर देशका लागि राम्रो प्रदर्शन गर्नुपर्छ ।’ उनले थपे, ‘विमल टिमका प्रत्येक सदस्यजस्तै महत्त्वपूर्ण छन् । विमल २३ खेलाडी, ३४ खेलाडी, सयौं खेलाडी र हजार खेलाडीमध्ये एक अर्का खेलाडी हुन् ।’ उनले मोरिससविरुद्ध दुई खेलका लागि ३४ खेलाडीको दुई टिम बनाएका छन् । यसमा विमल दुवै खेलका लागि समावेश गरिएका १२ खेलाडीमा परेका छन् । त्यसैले विमलले मंगलबार पनि मौका पाउन सक्छन् ।

तीनको पुनरागमन, दुईको डेब्यु

विमलसँगै मिडफिल्डर जगजित श्रेष्ठ र डिफेन्डर देवेन्द्र तामाङले पनि मोरिससविरुद्धको खेलमार्फत् राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । मछिन्द्रका देवेन्द्र करिब दुई वर्षपछि फर्किएका हुन् । अस्ट्रेलिया बसोबास गरिरहेका जगजितले झन्डै सात वर्षपछि नेपाली टिममा अवसर पाएका हुन् । उनी यही सिजन लिगमा आर्मीबाट खेल्न आइपुगेका हुन् । नेपाली राष्ट्रिय टिमले औपचारिक खेलमा सामना गरेको पहिलो अफ्रिकी प्रतिस्पर्धी हो मोरिसस । अन्तर्राष्ट्रिय फुटबलमा २७ महिनापछि फर्किएको पूर्वी अफ्रिकीको टिमविरुद्ध मैदानमा ओर्लिंदै डिफेन्डर सुदीप गुरुङ र मिडफिल्डर आकाश बुढामगरले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । यी दुवै सातदोबाटो युवा क्लबका खेलाडी हुन् । सुदीपले ८५ औं मिनेटमा सुरजज्यू ठकुरीको स्थान लिएका थिएका थिए भने आकाशले तीन मिनेटको इन्ज्युरी समयको पहिलो मिनटमा तेज तामाङको स्थानमा खेल्ने मैदानमा प्रवेश गर्ने अवसर पाएका थिए ।

Inside Article Ads

औसत खेल

कोभिड–१९ को महामारीमा एकतिहाइ (५ हजार) दर्शक प्रवेश दिइएको दशरथ रंगशालामा घरेलु टिमले मोरिससलाई १–० ले पराजित गर्दै स्वास्थ्य चुनौती मोलेर टिमको समर्थन गर्न आएका दर्शकलाई खुसी त पार्यो । भुटानलाई पराजित गरेपछि मैत्रीपूर्ण खेलमा नेपालले एक दशकयता जित पनि हासिल गर्‍यो । तर, तीन महिनाअघि साफ च्याम्पियनसिपको फाइनल खेलेको टिमको प्रदर्शन भने उत्कृष्ट रहेन । साफको फाइनलमा भारतविरुद्ध ३–० ले हारेयता नेपाली टिम पहिलोपल्ट मैदानमा उत्रिएको हो । अञ्जन आठौं मिनेटमै बललाई पोस्टको दिशा दिन चुके । विमलले २७ औं मिनेटमा अन्जनलाई दिनुपर्ने बल आफैंले गोलकिपर केभिन जिन–लुइसको हातमा दिए । नेपाली टिमका कप्तान किरण चेम्जोङ भने निकै आत्मविश्वासी देखिए । उनले केही राम्रा बचाउ गरे । स्टेभेन एस्लीको पासमा एड्रियन फ्रान्कोइसले ३५ औं मिनेटमा ‘फस्ट बार’ मा प्रहार गरेको बल किरणले नियन्त्रणमा लिए । पहिलो हाफको इन्ज्युरी समयमा दिनेश राजवंशीले उपलब्ध गराएको बलमा अञ्जनले अगाडि गोलकिपरमात्रै हुँदा ‘सिक्स यार्ड बक्स’ नजिकबाट ‘सेकेन्ड बार’ च्याप्दै प्रहार गरेका थिए ।

तर, बल पोस्टबाहिर गयो र नेपालले पहिलो हाफमै अग्रता लिने सबैभन्दा राम्रो अवसर पनि गुमाएको थियो । पाहुना टिमको प्रदर्शन खासै गतिलो भएन । तर, ४७ औं मिनेटमा अग्रतानजिक पुगेको थियो । फर्नान्डो ज्याक्सनले ‘१८ यार्ड लाइन’ बाट प्रहार गरेको बल पोलमा लागेर फर्किंदा मोरिसस अग्रता लिन चुकेको थियो । त्यसपछि ५५ औं मिनेटमा विमलले नेपालले अग्रता दिलाए । स्टेभेनले ६५ औं मिनेटमा टाढैबाट हानेको बल नियन्त्रण गर्न किरणलाई गाह्रै परेको थियो । जगजितको कर्नरमा ७५ औंमिनेटमा अञ्जनले हेडद्वारा प्रहार गरेको बल बारमा लाग्दै फर्केको थियो । अञ्जनले ७७ औं मिनेटमा हानेको बल पनि बारमा लागेर फर्कियो । त्यसलाई मोरिससका डिफेन्सले क्लियर गर्न सकेनन्, जसमा जगजितले गरेको हेडरमा गोलकिपर केभिनले उत्कृष्ट बचाउ गर्दै बल बाहिर फालिदिए ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.