पोखरा — ०६ माघ २०७८
पोखरा , आहा–रारा गोल्डकप फुटबलमा एउटा परम्पराजस्तै छ, उद्घाटन खेलमा आयोजक सहारा भिड्नुपर्ने । यसपल्ट मात्र यो कसरी अपवाद हुन सक्छ र ? प्रतियोगिताको यस संस्करण बिहीबारदेखि पोखरा रंगशालामा सुरु हुँदै छ । यसको पहिलो खेलमा सहाराले एपीएफ क्लबको सामना गर्नेछ । प्रतियोगिता कतै स्थगित त हुने होइन वा पछि सर्ने त होइन भन्ने डरबीच अन्ततः आरा–रारा गोल्डकप आयोजना निश्चित भएको छ । दुई दशकअघिदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको ध्यान अब मैदानमा रहने छ । आखिरमा फुटबल भनेको खेल, खेलाडी र मैदानी प्रतिस्पर्धा न हो । गत वर्ष पनि उद्घाटन खेलमा सहाराले एपीएफको सामना गरेको थियो । त्यसो त नतिजा टोलीका लागि सुखद रहेन । खेल एपीएफले १–० ले जितेको थियो । त्यसमा निर्णायक गोल गर्ने खेलाडी थिए आशिष लामा । सहाराका लागि राहत के छ यसपल्ट त्यही एपीएफमा आशिष हुने छैनन् । उनी राष्ट्रिय टोलीको अभ्यासमा व्यस्त छन् । अन्यथा प्रशिक्षक कुमार थापाको नेतृत्वमा रहेको एपीएफ त्यही टिम हो, जसले लिगमा विस्तारै सही तर ठिक्कको प्रगति गरिरहेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७८ मा धेरै हदसम्म रेलिगेसनको दबाब नरहेपछि एपीएफ आफैंले राहत महसुस गरेको हुनुपर्छ । टोली अहिलेको आहा–रारामा त्यही लय कायम राख्न चाहन्छ । प्रशिक्षक थापा भन्छन्, ‘हामी लिगमा हात पारेको लयलाई नै यहाँ निरन्तरता दिन गइरहेका छौं । हाम्रा लागि यो निकै ठूलो अवसर बनेर अगाडि आएको छ । हामी मैदानमा देखाउन चाहन्छौं, एपीएफको फुटबल अहिले कस्तो भइरहेको छ ।’ आशिषको अनुपस्थितिमा पनि टिमले पेस गर्ने चुनौती बलियो हुने मान्छन् उनी । प्रशिक्षक थापा थप्छन्, ‘टिममा घाइते खेलाडी छैनन् भन्दा हुन्छ । जति घाइते थिए, त्यसमा सुधार आएको छ । हामीसँग तीन विदेशी खेलाडी रहने छन् नै ।’
सहाराले नाममा एपीएफको सामना गर्दा त्यो टोलीको १५ संस्करणमा ३६ औं खेल हुनेछ । यसपल्ट मैदान उत्रने सहारा टिम यस्तो छ– कप्तान मनबहादुर तामाङसँगै प्रवेश गुरुङ, कमल सोमई, विशाल नेपाली, मुकुन्द निउरे, नवराज धिमाल, जीवन रायमाझी, अञ्जन देवकोटा, अनिल गुरुङ, अभिषेक बराल, पिटर सेगुन, साहिल गुरुङ, अजयी मार्टिन्स, सुमित श्रेष्ठ, सन्दीप पोखरेल, गंगा गुरुङ, भागवत चौधरी, प्रमिश गुरुङ, सुशील बराल, संगम गैरे, पासाङ लामा, प्रसन्न श्रेष्ठ र सरोज गुरुङ । नाम मात्र हेर्दा यो टिम पनि कहाँ कमजोर छ र ? प्रशिक्षक हिराचन भन्छन्, ‘हामी जितकै लागि खेल्ने छौं, त्यसैले आक्रामक रणनीति लिएर मैदानमा उत्रने छौं ।’ सहारा टिममा दुई विदेशी छन् अजयी र सेगुन । दुवैले लिगमा राम्रो खेलिरहेका छन्, त्यसैले पनि सहारा धेरै हदसम्म यी खेलाडीमा भरपर्नेछ । त्यसबाहेक ‘ए’ डिभिजनमै खेलिरहेका थप दुई खेलाडी छन् । सात खेलाडी भने एकेडेमीको आफ्नै भए । बाँकी पोखराका स्थानीय खेलाडी हुन् ।
( कान्तिपुर दैनिक )