Fast Nepal News

ओलावालेको ह्याट्रिकमा मनाङको सान

banner single news

पोखरा — २५ पुस २०७८

पोखरा , काठमाडौंबाहिर ‘होम एन्ड अवे’ का अवधारणामा पहिलोपल्ट पोखरामा भएको ‘ए’ डिभिजन लिगका तीनै खेलमा मनाङ मर्स्याङ्दी क्लबले सफलता हात पारेको छ । पोखरालाई घरेलु मैदान मानेको मनाङले शनिबार च्यासलविरुद्ध ५–० को सानदार जित निकाल्दै उपाधि यात्रा बलियो बनाएको छ । यसअघि मनाङले पुलिसलाई ३–१ र ब्रिगेड ब्वाजलाई १–० ले पोखरा रंगशाला मैदानमा हराएको थियो । शनिबार च्यासललाई हराएर मनाङले पछिल्लो लिगको बदला लियो । च्यासलसँग २–० ले हार बेहोर्दा मनाङ तेस्रो स्थानमा समेटिएको थियो । यसपालि भने ओलावाले ओलाडिपे अफिजको ह्याट्रिकसँगै जित निकाल्यो । एडिलाजा सोमिडे र दिनेश राजवंशीले १–१ गोल गरे । सोमिडेले तेस्रो मिनेटमै गोल गरेर मनाङलाई अग्रता दिलाए ।

ओलावालेको पासलाई फिनिसिङ टच दिँदै उनले गोल गरे । सुरुमै रक्षात्मक खेलेको च्यासलको रक्षापंक्तिको कमजोरीमा फाइदा उठाउँदै मनाङले अग्रता लिएर दबाबमा राख्यो । खेलको ४३ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । विश्व अधिकारीको फ्रिकिकमा पेनाल्टी बक्सभित्रबाटै सुन्दर हेडरमा उनले गोल गरे । उक्त गोल जारी लिगको एक सय गोल बनेको थियो । दोस्रो हाफमा भने च्यासलले केही आक्रामक खेल्यो । खेलको ६३ औं मिनेटमा बक्सभित्र मनाङका डिफेन्सले च्यासलका खेलाडीलाई लडाएपछि पेनाल्टी अपिल गरे । रेफ्रीले कुनै कार्ड दिएनन् । च्यासलका प्रशिक्षक बालगोपाल साहुखल मैदानभित्र प्रवेश गरे । रेफ्रीले सन्तोष साहुखल र प्रशिक्षक बालगोपाललाई पहेँलो कार्ड देखाए । बालगोपालको आक्रोश नथामिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै प्यारापिट फर्काए । त्यसपछि पाएका सुन्दर अवसर च्यासलले गोलमा परिणत गर्न सकेन ।

बरू मनाङले मौका हेरेर काउन्टर एट्याक गर्दै गोल थप्यो । खेलको ८६ औं मिनेटमा रूपेश केसीको कर्नरमा हेड गोल गर्दै दिनेशले मनाङको अग्रता फराकिलो बनाए ।  अनमार्क रहेको अवस्थामा सहज गोल गर्दै उनले खेल ३–० को अवस्थामा पुर्‍याए । ओलावालेले इन्ज्युरी समयमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरे । तेस्रो मिनेटमा गोल गर्दा उनले च्यासलका डिफेन्स कमल श्रेष्ठ, अभिषेक लिम्बु र चेतन थारुलाई कुनै मौका दिएनन् । विमल रानाको पासमा तीन डिफेन्सलाई बिट गर्दै गरेको प्रहारमा च्यासलका गोलरक्षक सन्तोष महतले बचाउको प्रयाससम्म गर्न भ्याएनन् । च्यासलका पहिलो रोजाइका गोलकिपर प्रदीप भण्डारी घाइते भएपछि सन्तोष मैदान छिरेका थिए । जसको फाइदा मनाङले लियो ।

Inside Article Ads

अर्को मिनेटमा ओलावालेले कप्तान अञ्जन विष्टको पासमा च्यासलका डिफेन्डर चेतनलाई बिट गर्दै ह्याट्रिक पूरा गरे । उनी नै म्यान अफ द म्याच भए । उदीयमान खेलाडी च्यासलका आशिष राई घोषित भए । लिगमा यो दोस्रो ह्याट्रिक हो । यसअघि सातदोबाटो युथका अजयी मार्टिन्सले एपीएफविरुद्ध ह×्याट्रिक गरेका थिए । ८ खेलमा मनाङ ६ जित, १ बराबर र १ हारमा १९ अंकसाथ दोस्रो स्थानमा छ । च्यासलका सहायक प्रशिक्षक थमन भुसालले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाए । टिमको खेल राम्रो हुँदाहुँदै पनि रेफ्रीको कमजोर निर्णयले स्कोर हुन नसकेको उनले बताए । ‘उस्तै फाउलमा हामीलाई कार्ड दिने, उस्तै फाउलमा उनीहरूलाई साथ दिने किसिमको भयो,’ उनले भने ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.