
म्याड्रिड — २५ पुस २०७८
म्याड्रिड , रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा शनिबार आठ अंकको अग्रता खोलेको छ र यसका लागि उसले आफ्नो घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हरायो । कार्लो एन्सेलोटीको टिमले पूरा खेल अवधि आफ्नो नियन्त्रणमा राखेर सजिलो जित निकाल्न सफल भएको हो । यो जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । भ्यालेन्सियाका तर्फबाट गोन्कालो गुडेसले एक गोल फर्काए । फ्रान्सेली खेलाडी बेन्जेमाले रियलका लागि गरेको गोल संख्या ३ सय १ पुगेको छ । क्लबको सर्वकालीन सर्वाधिक गोलकर्ता सूचीमा उनी अब क्रिस्टियानो रोनाल्डो, राउल र अल्फ्रेडो डि स्टेफानोपछि चौथो स्थानमा छन् ।
( कान्तिपुर दैनिक )
