
बेइजिङ — २२ पुस २०७८
बेइजिङ , इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमका स्ट्राइकर सन ह्युङ–मिनले लगातार पाँचौंपल्ट ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’ जितेका छन् । उनी ९ वर्षयता सातौंपल्ट महादेशकै वर्षका उत्कृष्ट खेलाडी चुनिए । दक्षिण कोरियाका २९ वर्षीय सनले सन् २०२१ मा सबैखाले प्रतियोगितामा २१ गोल गरेका थिए । उनले ह्यारी केनको अनुपस्थितिमा यो सिजनको सुरुमा स्पर्सका लागि प्रभावशाली प्रदर्शन गरेका थिए । उनले ८ खेलमा ४ गोल गर्दै विश्वकप २०२२ को एसियाली छनोटको तेस्रो तथा अन्तिम चरणमा कोरियालाई अपराजित राख्न महत्त्वपूर्ण योगदान गरेका छन् ।
कोरिया लगातार दसौंपल्ट विश्वकपमा छनोट हुने संघारमा छ । चिनियाँ पत्रिका ‘टाइटन स्पोर्ट’ले सन् २०१३ देखि दिन थालेको बेस्ट फुटबलर इन एसिया अवार्डलाई महादेशको ‘बालोन डी’अर’ मानिन्छ । एसियाली फुटबल महासंघ (एएफसी) का सदस्य ४७ देशमध्ये ३७ मुलुकका विज्ञ र थप १३ अतिथि निर्णायक रहेको यस अवार्डमा उनीहरूले वर्षमा उत्कृष्ट खेल प्रदर्शन गरेका ५ खेलाडीलाई क्रमशः ६, ४, ३, २ र १ अंक दिएका थिए । यसमा सर्वाधिक २४२ अंक (कुल मतको ३०.३∞) पाउँदै सन लगातार पाँचौंपल्ट एसियाकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनलाई ३१ विज्ञले पहिलो स्थानमा राख्दै अंक दिएका थिए ।
रुसी क्लब जेनिथ सेन्ट पिटर्सबर्गका सरदार अजमोन (११ अंक) दोस्रो र पोर्चुगलको पोर्टोका मेहदी तारेमी (९०) तेस्रोमा रहे । यी दुवै खेलाडी इरानी हुन् । अल हिलाललाई कीर्तिमान चौथोपल्ट एएफसी च्याम्पियन्स लिग विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेका साउदी अरेबियाका सलेम अल–दवसरी (७४ अंक) र इटालीको बोलोग्नाबाट प्रिमियर लिग क्लब आर्सनल पुगेका जापानका ताकेहिरो तोमियसु (५० अंक) शीर्ष पाँचमा रहे । एएफसीका सदस्य देशका खेलाडी तथा एसियामा लिग खेलिरहेका विदेशी फुटबलरहरूलाई यस अवार्डमा समावेश गरिन्छ । यसपालि निर्णायकहरूले कुल ३४ खेलाडीलाई मत दिएका थिए ।
( कान्तिपुर दैनिक )
