Fast Nepal News

दक्षिण अफ्रिका जिततर्फ

banner single news

जोहानसबर्ग — २२ पुस २०७८

जोहानसबर्ग , कप्तान डिन एल्गरले आक्रामक भारतीय बलिङको सामना गर्दै कठिन साबित हुन थालेको पिचमा बहादूरीपूर्ण ब्याटिङ गरेपछि दक्षिण अफ्रिका दोस्रो टेस्टमा बुधबार जिततर्फ अग्रसर भएको छ । टोलीले यो टेस्ट जितेमा तीन टेस्टको शृंखला बराबरीमा पुग्नेछ । वन्डरर्स स्टेडियममा तेस्रो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिङ्समा २ विकेट गुमाएर १ सय १८ रन बनाएको छ । घरेलु टिमले जितनिम्ति २ सय ४० रनको लक्ष्य पाएको थियो । त्यसमा एल्गर ४६ रन बनाएर खेलिरहेका छन् । उनले १ सय २१ बल खेलिसकेका छन् । उनले तीन घण्टा क्रिजमा बिताइसके । जसप्रित बुमराहको बल बायाँहाते ब्याटर एल्गरको घाँटीमा लागेको थियो भने शार्दुल ठाकुरको बल उनको दायाँ हातमा जोडले लागेको थियो । दुवै अवसरमा उनलाई मैदानमै उपचार आवश्यक भयो । यसअघि दक्षिण अफ्रिकाले बलियो सुरुआत लिएको थियो । एडने मारक्रमले ३८ बलमा ३१ रन बनाए ।

उनले एल्गरसँग पहिलो विकेटमा ४७ रनको साझेदारी गरे । पहिलो इनिङ्सका नायक बलर ठाकुरको बलमा मारक्रम आउट भए । त्यसै ओभरमा उनको दुई जोडदार अपिललाई अम्पायर मारिस इरामुसले स्वीकारेनन् । पिचले आफ्नो स्वाभाविक स्वरूप गुमाइसकेको हुनाले बलको बाउन्स पनि अनियमित हुन थालेको छ । यसमा तीव्र गतिका बलर घातक देखिएका छन् । तर, दक्षिण अफ्रिकालाई दोस्रो आघात पुर्‍याउने काम अफ स्पिनर रविचन्द्रन अश्विनले गरे ।

उनले किगन पिटरसनलाई २८ रनमा एलबीडब्लू धरापमा पारे । त्यतिबेला दक्षिण अफ्रिका ९३ रनको स्थितिमा थियो । सेन्चुरियनमा भएको पहिलो टेस्ट गुमाएको दक्षिण अफ्रिकाले शृंखला जितको चुनौती कायम राख्न यो खेल आफ्नो पक्षमा पार्नुपर्नेछ । तेस्रो टेस्ट अर्को साता केपटाउनमा हुनेछ । दक्षिण अफ्रिकी ब्याटिङक्रममा ६ आधिकारिक ब्याटर मात्र रहेको हुनाले चौथो दिन तनावपूर्ण खेल हुने विश्वास गरिएको छ ।

Inside Article Ads

त्यसअगाडि भारत दोस्रो इनिङ्समा २ सय ६६ रन बनाएर अलआउट भयो । त्यसमा सबैभन्दा ठूलो योगदान चेतेश्वर पुजारा र अजिन्क्या रहानेको रह्यो । उनीहरूले तेस्रो विकेटमा १ सय ११ रनको साझेदारी गरे । भारत बलियो स्थितितर्फ अग्रसर भएका बेला तीव्र गतिका बलर कागिसो राबाडाले टिमलाई खेलमा फर्काए । पुजारा र रहानेले दिनको सुरुआती १४ ओभरमा ६६ रन जोडेका थिए । भारतले ८५/२ रनबाट खेल्न सुरु गरेको थियो । यसअघिको खराब प्रदर्शनका लागि आचोलनाको सिकार भइरहेका पुजारा र रहाने आक्रामक रहे । दुवैले अर्धशतक पूरा गरे । तर, दुवै राबाडाको सिकार बने । रहानले ५८ रन बनाउँदा ८ चौका र एक छक्का प्रहार गरे । पुजारा भने ५३ रन बनाएर आउट भए । उनले भने १० चौका प्रहार गरे । भारतीय इनिङ्सको अन्त्यतिर हनुमान बिहारीले नटआउट ४० रन बनाए । अश्विनले १६ र ठाकुरले २८ रनको योगदान दिए ।    

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.