Fast Nepal News

एपीएफको सेमिफाइनल सुरक्षित

banner single news

धनगढी — ८ पुस २०७८

धनगढी , विभागीय टोली एपीएफ क्लब फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटअन्तर्गत सुदूरपश्चिमलाई ८९ रनले हराएपछि सेमिफाइनल सुरक्षित गरेको छ । सुदूरपश्चिमलाई सेमिफाइनल पुग्न बिहीबार प्रदेश २ लाई हराउनुपर्नेछ । बुधबारै दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना कायम राखेको छ । समूह ‘बी’ मा दुवै खेलमा जित हात पार्दै एपीएफ ४ अंकसहित शीर्षस्थानमा छ । समान २ खेल खेलेका सुदूरपश्चिम र प्रदेश २ को समान २ अंक छ । रनरेटमा सुदूरपश्चिम प्रदेश दोस्रो र प्रदेश २ तेस्रो स्थानमा छन् । गण्डकी प्रदेश अंकविहीन छ । पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २८ रन बनायो ।

ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडेका थिए । सुदूरपश्चिमबाट कप्तान रितु कनौजियाले ३, दीपा जोरा र कविता जोशीले समान २ विकेट लिए । १ सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको इनिङ्स एपीएफका बलिङसामु टिक्न सकेन । सुदूरपश्चिम १४ ओभरमा ३९ रनमै अलआउट भयो । कप्तान रितु र रुबि पोदारले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफबाट करुणा भण्डारीले ४ विकेट लिइन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान १ विकेट लिए । ४ विकेट लिएकी करुणा भण्डारी प्लेयर अफ द म्याच भइन् । अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो । १७.१ ओभरमा सबै विकेट गुमाएको गण्डकीबाट अञ्जली विश्वकर्माले १५ रन बनाइन् ।

Inside Article Ads

अन्य खेलाडीले गतिलो स्कोर बनाउन नसक्दा गण्डकीले १३ रन अतिरिक्त पायो । प्रदेश २ बाट सन्तोषी चौधरीले ३ विकेट लिइन् । अनुराधा चौधरीले २, रोजी कडारी र सरस्वती चौधरीले समान एक विकेट लिए । ४० रनको विजय लक्ष्य प्रदेश २ ले ३ विकेट क्षतिमा पूरा गर्‍यो । १०.३ ओभरमा जित हात पार्न ओपनरद्वय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटमा २२ रनको साझेदारी गरिन् । सानाले १३ र अनुराधाले १२ रन बनाए । गण्डकीकी शिला क्षेत्रीले एक विकेट लिइन् । प्रदेश २ की सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन् ।        

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.