
काठमाडौँ — ८ पुस २०७८
काठमाडौँ , बंगलादेशले बुधबार साफ यू–१९ वुमेन्स च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा सम्पन्न फाइनलमा आयोजक देशले भारतलाई १–० ले हरायो । बंगलादेशका लागि फाइनलमा निर्णायक गोल एनी मोगिनीले गरिन् । पहिलो हाफ गोलरहित बराबरी टुंगिएपछि मोगिनीले ८० औं मिनेटमा गोल गरिन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण यसपल्टको प्रतियोगिता यू–१९ का रूपमा आयोजना गरिएको थियो । प्रतियोगिताको मूल रूप भने यू–१८ रहेको छ ।
बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । सन् २०१८ मा बंगलादेशले यू–१८ उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा नेपाललाई हराएको थियो । यसपल्ट प्रतियोगिता राउन्ड रोबिनका आधारमा भएको थियो । त्यसको अन्त्यमा शीर्ष दुई स्थानमा रहेका बंगलादेश र भारत फाइनल पुगेका थिए । फाइनल पुग्न असफल नेपाल भने लिग चरणको समाप्तिमा तेस्रो स्थानमा थियो । आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेलेको नेपालले त्यसपछि श्रीलंका र भुटानलाई हराएको थियो । अन्तिम तथा निर्णायक खेलमा भने नेपाल छिमेकी भारतको हातबाट पराजित रह्यो ।
( कान्तिपुर दैनिक )
