Fast Nepal News

कर्पोरेट टिम च्याम्पियनसिप ब्याडमिन्टन : ‘संस्थान युग’ को झल्को

banner single news

काठमाडौँ — ७ पुस २०७८

काठमाडौँ , २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना हुनुअघिसम्म नेपाली खेलकुदमा संस्थानको रजगज थियो । अहिले सुरक्षा संगठनले जस्तै खेलकुद विभाग स्थापना गरेर खेलाडी संरक्षण र प्रतियोगिता आयोजना गर्ने संस्थानहरूले वास्तवमा खेलकुदमा व्यावसायिकता सुरुआत गरेको थियो । बहुदलीय व्यवस्थासँगै संस्थानको अस्तित्व धराशायी हुँदा त्यसले खेलकुदमा लगानी गर्न सकेन । खेलाडी संरक्षणमा सबैभन्दा ठूलो योगदान दिने जनकपुर चुरोट कारखाना (जचुकालि) को अस्तित्व त अहिले इतिहास भइसक्यो । नेपाल विद्युत् प्राधिकरण, शाही नेपाल वायुसेवा निगम (शानेवानि), नेपाल आयल निगम, हिमाल सिमेन्टलगायतले त्यतिबेला खेलकुद थामेका थिए । संस्थान खेलकुद युगको झल्को दिने गरी मंगलबारदेखि काठमाडौंमा काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपाल ब्याडमिन्टन संघको वरीयतामा शीर्ष आठभित्र रहेका राष्ट्रिय खेलाडीलाई गोलाप्रथाबाट आठ कर्पोरेट संस्थानले अनुबन्ध गरेका छन् । त्यसमा कर्पोरेट संस्थाका कर्मचारीसमेतको सहभागितामा टिम च्याम्पियनसिप आयोजना गरिएको छ ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीले यो प्रतियोगिताको अवधारणा ल्याएको हो । टिम च्याम्पियनसिपको रूपमा व्यावसायिक प्रतियोगिता नेपालमा पहिलोपल्ट आयोजना गरिएको हो । उनीहरूको नारा नै ‘प्ले अफ प्रोफेसनालिजम’ रहेको छ । संस्थाकी अध्यक्ष रीता विष्ट आफैं तीनपल्ट (२०२९, २०३२ र २०३४) की राष्ट्रिय च्याम्पियन हुन् । पारिवारिक रूपमै ब्याडमिन्टन माहोल र आफ्नो समय पुनरावृत्ति गर्ने उद्देश्यबाट यो प्रतियोगिताको अवधारणा ल्याएको उनी बताउँछिन् । उनका भाइ प्रताप अधिकारी पाँचपल्टका राष्ट्रिय च्याम्पियन हुन् । एकेडेमीका सचिव पूर्वराष्ट्रिय खेलाडी तथा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापाले नेपालको ब्याडमिन्टनमा संस्थानको योगदान स्मरण गर्दै कर्पोरेट घरानालाई आकर्षित गर्न प्रतियोगिता गरिएको प्रस्ट पारे । ‘संस्थान खेलकुदको त्यो युग मैले पनि देख्न पाइनँ । तर अग्रजहरूले भनेअनुसार त्यतिबेला ब्याडमिन्टन अहिलेको तुलनामा धेरै व्यावसायिक थियो । खेलाडीको सुरक्षा, प्रशिक्षण र अन्तर्राष्ट्रिय उपलब्धि पनि त्यो समयमा उल्लेख्य थियो,’ सचिव थापाले कान्तिपुरसँग भने, ‘हामीले त्यही समयको पुनरावृत्तिका लागि परिस्कृत योजना कार्यान्वयन मात्र गरेका हौं ।’

यो प्रतियोगिता पाँच संस्करणसम्म आयोजना हुने घोषणा गरिएको छ । यसबीचमा कर्पोरेट हाउसहरूमा ब्याडमिन्टनप्रति चासो जगाउने र अन्तर्राष्ट्रिय खेलाडीहरूलाई दीर्घकालीन अनुबन्ध गरी नियमित प्रतियोगिता आयोजना गर्न सकिने विश्वास एकेडेमीको छ । यसबाट नेपाली ब्याडमिन्टनको दीर्घकालीन विकास, संरक्षण र भावी पुस्ता आकर्षित गर्ने माध्यम बनाउने योजना छ । ‘हामीले अहिले राष्ट्रिय वरीयताका खेलाडीलाई अनुबन्ध गरी कर्पोरेट हाउसहरूलाई गोलाप्रथाबाट वितरण गरेका छौं । भविष्यमा ती कर्पोरेट हाउसहरूले शीर्ष वरीयताका खेलाडीलाई आफैंले अनुबन्ध गरी प्रतियोगितामा सहभागी गराएमा खेलाडीको आर्थिक सुरक्षा र करिअर विकासमा कोसेढुंगा बन्ने थियो,’ थापाले भने । शीर्ष वरीयताकी खेलाडी नङसलदेवी तामाङ अहिले खेलाडीको हिसाबमा सिटिजन्स बैंकमा कार्यरत छन् । त्यसले उनको जीवन सुरक्षा गरेको छ । करिअर पनि सँगै अगाडि बढाउन सजिलो भएको छ । सायद काठमाडौं एकेडेमीको कर्पोरेट–खेलकुद सम्बन्ध प्रगाढ बनाउने प्रयास सफल हुँदा यसले दीर्घकालीन रूपमा नेपाल ब्याडमिन्टनको साख फिर्ता ल्याउने अनुमान छ ।

पूर्वराष्ट्रिय च्याम्पियन प्रताप अधिकारी पनि यो प्रतियोगितालाई खेलकुदसँग कर्पोरेटको सम्बन्ध बलियो पार्ने सेतुका रूपमा चित्रण गर्छन् । ‘वास्तवमा राजनीतिक परिवर्तनका कारणले संस्थानहरू धराशायी हुँदा खेलकुद पनि त्यसको सिकार भए । हामी खेल्ने बेलासम्म राष्ट्रिय खेलाडीहरू कुनै न कुनै संस्थानमा आबद्ध थिए । त्यसले प्रतियोगिता बढ्यो, खेलाडीहरू संरक्षित भए र खेलको स्तर बढेको थियो,’ तत्कालीन शानेवानिबाट ब्याडमिन्टन खेलेका अधिकारीले कान्तिपुरसँग भने, ‘अहिले नेपाली खेलाडीहरू विभागीय टोलीमा आश्रित छन् । त्यसबाहिर कर्पोरेटस्तरमा उनीहरूलाई अनुबन्ध गराउने पहलका रूपमा यो प्रतियोगिताले ढोका खोलेको छ । कर्पोरेट घरानालाई विश्वासमा लिन सक्नुपर्छ ।’

उनले कर्पोरेट घरानाहरूको प्रवेशले खेलाडीको व्यावसायिकता बढ्ने र समग्रमा खेलको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे । जारी प्रतियोगितामा कान्तिपुर पब्लिकेशन्स लिमिटेड, नेपाल आयल निगम, सिल्क ग्रुप, आईएमई ग्रुप, विद्युत् प्राधिकरण, नेपाल राष्ट्र बैंक र नेपाल टेलिकम सहभागी छन् । राष्ट्रिय वरीयतामा शीर्ष आठभित्र परेका पुरुष र महिला खेलाडीहरू एक–एक जनाको दरले हरेक कर्पोरेट टोलीमा गोलाप्रथाबाट छानिएका छन् । पुरुष सिंगल्स, महिला सिंगल्स, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधामा समूहगत रूपमा प्रतिस्पर्धा गराइने छ । दुई समूहमा विभाजन गरी आयोजित प्रतियोगितामा समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगिता विजेताले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रो हुनेले ५५ हजार र चौथो हुने टोलीले ४७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । वरीयतामा रहेका राष्ट्रिय खेलाडीहरूले अनुबन्ध भएलगत्तै २० हजार पाएका छन् भने हरेक खेलमा २ हजार ५ सय म्याच फी पाउनेछन् ।

Inside Article Ads

कुमारी र विद्युत् विजयी

कुमारी बैंकले काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको समूह ‘ए’ मा विजयी सुरुआत गरेको छ । कुमारीले कान्तिपुर पब्लिकेशन्समाथि ३–० को जित निकालेको हो । पुरुष एकलतर्फ उच्च वरीयताका पुरुषतर्फ कुमारी बैंकका सुदीप सेढाईंले कान्तिपुरका साजनकृष्ण ताम्राकारलाई २१–१८, २१–१९ ले पराजित गरे । महिलातर्फ सुनयना मुखियाले सम्झना शर्मामाथि २१–९, २१–११ को जित निकालिन् । कर्पोरेट डबल्सतर्फ विक्रम निरौला र नीरज राईको जोडीले सुशीलकुमार रावल र महेश स्वाँरलाई २१–१५, २७–२५ ले हराएपछि कुमारीले समग्रमा ३–० को नतिजा हात पार्‍यो ।

समूह ‘बी’ तर्फ नेपाल विद्युत् प्राधिकरणले आईएमई ग्रुपलाई ३–२ ले हरायो । सुरुको दुई खेलमा हार बेहोरे पनि प्राधिकरणले खेलमा पुनरागमन गरेको हो । पुरुष एकलतर्फ आईएमईका नवीन श्रेष्ठले विद्युत्का दीपक बोहरालाई २१–१४, २१–१६ ले र महिला एकलतर्फ नङसलदेवी तामाङले शोभा गौचनलाई २१–१२, २१–१५ ले हराएर खेलमा २–० ले अग्रता दिलाएका थिए । तर, तेस्रो खेलमा विद्युत्का श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले आईएमईका सरोज बस्नेत र ब्रिजेन श्रेष्ठको जोडीलाई २१–५, २१–१ ले ले हरायो । विद्युतकी शोभा गौचन र यामकुमारी गुरुङको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ र नङसलको जोडीलाई २१–११, २१–१२ ले पराजित गर्दै खेल २–२ को बराबरीमा ल्याए । निर्णायक खेलमा प्राधिकरणका दीपक बोहरा र राजु महर्जनको जोडीले नवीन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१–१८, २१–१८ ले हराएर जितलाई ३–२ ले आफ्नो पक्षमा पारेको हो । टिम च्याम्पियनसिपमा वरीयताका पुरुष र महिला एकल, कर्पोरेट पुरुष युगल, महिला युगल र पुरुष युगल गरी वेस्ट अफ फाइभको खेल हुनेछ ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.