Fast Nepal News

जावलाखेल माथि उक्लिँदै

banner single news

काठमाडौँ — ४ पुस २०७८

काठमाडौँ , जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा पहिलो गोलसँगै दशरथ रंगशालामा शनिबार पहिलो जित दर्ता गरेको छ । निकोलस फर्नान्डेजको गोलसँगै च्यासल युवा क्लबविरुद्ध १–० को जित हात पारेपछि जावलाखेल रेलिगेसन क्षेत्रबाट माथि उक्लियो ।ओन्गुना जुनियरले च्यासलका यानिक केत्चाबाट बल खोस्दै मिहिनेतपूर्वक दिएको बललाई निकोलसले सहजै पोस्टको दिशा दिएका थिए । उनलाई ओन्गुनाले बल उपलब्ध गराउँदा नै च्यासलका गोलकिपर अर्पण कार्की बिट भइसकेका थिए । सुरुका तीन खेलमा मनाङ, पुलिस र मछिन्द्रविरुद्ध हार खेपेको जावलाखेलले चौथो चरणमा ब्रिगेड ब्वाइजविरुद्ध गोलरहित खेल्दै पहिलो अंक जोडेको थियो । जावलाखेलले यो लिगमा गोलको खाता खोलेसँगै पहिलो पनि जित निकाल्यो र ४ अंक बनायो । यससँगै जावलाखेल खराब लयबाट गुज्रिएको च्यासलसँग समान अंक भए पनि ‘हेड टु हेड’ दसौं स्थानमा उक्लियो । च्यासलले ५ खेलमा तेस्रो हार बेहोरेको हो ।

दोस्रो खेलमा थ्रीस्टारले एनआरटीविरुद्ध गोलरहित खेल्दै अंक बाँड्यो । रोमाञ्चक प्रतिस्पर्धामा थ्रीस्टारले पहिलो हाफमा तीन अवसर सिर्जना गर्‍यो । त्यसमा एनआरटी गोलकिपर अजित प्रजापति बाधक बनिदिए । दोस्रो हाफ पूर्णतः एनआरटीको नियन्त्रणमा रह्यो । तर, मेसुके ओलोमोउले इन्ज्युरी समयमा प्रहार गरेको बलमा गोलकिपर येल्भेस प्रिसोले उत्कृष्ट रूपमा पञ्च आउट गर्दै थ्रीस्टारलाई अंक दिलाए । एनआरटीका गोलकिपर अजितले चलाइसकेको बल फेरि हातले समातेपछि प्रहार गरेको बलमा त्यो ‘मुभ’ बुनिएको थियो । त्यसैलाई लिएर थ्रीस्टारका प्रशिक्षक र अफिसियलले चर्को विरोध जनाए । ५–५ खेलबाट थ्रीस्टार र एनआरटीले समान ६ अंक जोडेका छन् । गोलअन्तरमा थ्रीस्टार छैटौं स्थानमा छ । अपराजित मनाङ (१३ अंक), साबिक विजेता मछिन्द्र (११), आर्मी (९) र संकटा (९) शीर्ष चारमा छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.