Fast Nepal News

क्रिकेटभन्दा ठूलो कोही छैन : सन्दीप लामिछाने

banner single news

काठमाडौँ — २ पुस २०७८

काठमाडौँ , नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप अहिले होबार्ट हरिकन्सबाट अस्ट्रेलियाको बिग बास लिगमा खेलिरहेका छन् । यहीक्रममा ज्ञानेन्द्र मल्ललाई पदमुक्त गर्दै नेपाल क्रिकेट संघले बुधबार सन्दीपलाई नेपाली राष्ट्रिय पुरूष टोलीको कप्तान बनाएको छ । उनको नियुक्तिप्रति टोलीभित्रैबाट केही विरोध स्वर पनि आएको छ ।

कप्तानको रूपमा कत्तिको उत्साहित हुनुहुन्छ ?

उत्साहितभन्दा पनि यस्तो टिम र प्रतिभाले भरिएको टोलीको नेतृत्व गर्न पाउनु राम्रो अवसर हो । मेरो परिवार र साथीहरूका लागि गौरवको विषय हो । अतिरिक्त जिम्मेवारीको महसुस भएको छ । मेरा लागि सम्मान पनि हो ।

यति छिट्टै कप्तानको आस गर्नुभएको थियो ?

एकैचोटि यत्रो आशा त थिएन । तर, मैले नेपालको यू–१९ टोलीको कप्तानी गरिसकेको थिएँ । भर्खरै घरेलु क्रिकेटमा कप्तानी गर्ने अवसर मिलेको थियो । मेरा लागि यो नौलो कुरा थिएन, केही समयदेखि नै म तयार हुँदै आएको थिएँ । यो कठिन परीक्षण हो । तर, म यसको प्रतीक्षामा छु । घरेलु क्रिकेटमा कप्तानी गर्नु र राष्ट्रिय टोलीको कप्तानी गर्नुमा ठूलो फरक छ, चुनौतीपूर्ण पनि छ ।

क्यान र खेलाडीबीच जुहारी चलिरहेको छ, क्यानले चार खेलाडीमाथि कारबाही गरेको छ । यस विषयमा तपाईंको धारणा ?

मैले यो घटनाक्रम पछिल्लो केही सातादेखि हेर्दै आएको छु । यो सबै हेर्दा निकै दुःख लाग्छ । सबै कुरा नेपालमा तलमाथि भइरहेको छ । यस्ता कुराहरू क्रिकेटका ठूला देशहरूमा पनि हुने गर्छ । तर, यहाँबाट हामी कसरी अगाडि बढ्ने महत्त्वपूर्ण हो । म नेपाल आएपछि समस्या समाधानका लागि केही छलफल हुन्छ भने त्यसका लागि तयार छु । नेपाली क्रिकेटभन्दा ठूलो कोही छैन र हुने पनि छैन । मलाई आशा छ, यहाँबाट सबैले काँधमा काँध मिलाएर नेपालको क्रिकेटबारे सोचेर हिँड्ने छौं ।

तपाईंलाई कप्तान बनाइरहँदा टिमभित्रैबाट विरोध आउनुको कारण के होला जस्तो लाग्छ ?

खोइ । यसबारेमा म केही भन्न सक्दिनँ । यो मेरो नियन्त्रणमा पनि छैन । सबैको फरक धारणा हुन सक्छ । जसले जे भने पनि म सबैको धारणाको सम्मान गर्दछु, त्यो ठीक होस् वा गलत । उहाँहरू मेरो टिमभित्रकै खेलाडी हुनुहुन्छ, नजिक पनि छु । अन्त्यमा हामी सबै नेपालका लागि खेलिरहेका छौं । म शतप्रतिशत निश्चिन्त छु आउने दिनमा सबैले मलाई सहयोग गर्नुहुनेछ । शब्दहरूले अहिले नै म केही गर्न सक्दिनँ । नेपाल आएपछि केही परिवर्तन गर्नुपर्नेछ भने वा कुरा गर्नुपर्छ भने म त्यसलाई तयार छु ।

टिमभित्र केही सिनियर खेलाडी हुनुहुन्छ, उहाँहरूले पनि कप्तान आस गर्नुभएको थियो होला । उहाँहरूलाई कसरी संयोजन गर्नुहुन्छ ?

एक पटकमा एकैजनाले मात्र टिमको नेतृत्व गर्नसक्छ । सबैले आ–आफ्नो क्षेत्रमा नेतृत्व गरिसक्नुभएको छ । परिवर्तनका क्रममा अहिले मैले नेपालको नेतृत्वसहित ठूलो जिम्मेवारी पाएको छु । सबै जनासँग यो क्षमता छ जस्तो लाग्छ । सबै एकबद्ध भएर कसरी राम्रोका लागि सोच्न सक्छौं भन्ने हो । क्यानले मलाई छनोट गरेको छ । यो टिम एकजुट हुने समय हो, जसले नेपाली क्रिकेटमा सफलता र खुसीको क्षण फर्काउनेछ ।

कप्तान बनाउँदै गर्दा वा कप्तान बनाइसकेपछि क्यानसँग कस्ता कुराहरू भए, आउँदै गरेका नयाँ प्रशिक्षक पुबुदु दासानायकेसँग पनि छलफल गरिसक्नुभयो र ?

यस सन्दर्भमा क्यानसँग मेरो कुराकानी भएको थियो । पुबुदु सरसँग पनि कुराकानी भयो । उहाँ नेपाल फर्केर आउनु नै अद्भूत हो । उहाँले पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई एउटा स्थानमा स्थापित गर्नुभएको थियो । उहाँ फेरि आउनु नेपाली क्रिकेटका लागि ठूलो सम्मान हो । उहाँले नेपाली क्रिकेटको वास्तविक चित्ररेखा कोर्नुभएको छ । एसोसिएट क्रिकेट र नेपाली क्रिकेट बुझेका व्यक्तिलाई प्रशिक्षक बनाउँदा मलाई पनि कप्तानी गर्न सजिलो हुन्छ होला ।

दासानायकेले सन्दीपलाई चितवनको क्याम्पाचौरको नेट्सबाट टिपेर ल्याउनुभयो । अहिले उनै दासानायके दोस्रोपटक नेपालको प्रशिक्षक भएर आउँदा तपाईं कप्तान बन्नुभएको छ, यो संयोगलाई कसरी लिनुहुन्छ ?

यो एउटा संयोगमात्र हो । उहाँलाई लामो समयदेखि नेपालका प्रत्येक खेलाडीका बारेमा थाहा छ । उहाँ आउने भएर नै हामी सबै खुसी छौं । अहिले नेपाली क्रिकेटमा तलमाथि भइरहेको छ । तर, पुबुदु सर आएपछि नेपाली क्रिकेटलाई कसरी सहज बनाउन सक्छौं र खेलाडीबाट कसरी उत्कृष्ट निकाल्न सक्छौं भन्नेमा लाग्ने छौं । जसका कारण खेलाडीले स्वतन्त्र भएर खेल्न सक्छन् । त्यो हुँदा खेलाडीलाई मैदानमा क्षमता देखाउन सजिलो हुनेछ ।

Inside Article Ads

विश्वकप (ट्वान्टी–२०) छनोट जस्तो ठूलो प्रतियोगिताबाट कप्तानी सम्हाल्दै हुनुहुन्छ । यो कत्तिको चुनौतीपूर्ण छ जस्तो लाग्छ ?

विश्वकप छनोटमात्र नभई अरू प्रतियोगितामा पनि यसको मजा लिन सकिन्छ । यदि दबाब महसुस गर्नुहुन्छ भने निश्चय पनि दबाब नै हुन्छ । चुनौती त निश्चय पनि हुन्छ । सँगसँगै आउने दिनमा मैले एउटा खेलाडी र कप्तानको रूपमा सिक्नेछु । म कहिल्यै दबाब महसुस गर्दिनँ । क्रिकेट सुन्दर खेल हो, यो सुन्दर खेलमा रमाउन सकियो भने त्यहीअनुसार आनन्द पाइन्छ । मेरो चासो भनेको अरू खेलाडीबाट पनि कसरी उत्कृष्ट निकाल्ने र नेपाली क्रिकेटलाई अर्को स्तरमा लाने हो ।

विश्वभरका फ्रेन्चाइज लिग खेलिरहेका कारण तपाईं नेपालमा ग्लोबल स्टार हुनुहुन्छ । अन्तर्राष्ट्रिय हिसाबमा कप्तानमा नियुक्त भएपछि कस्तो खाले प्रतिक्रिया आएका छन् ?

अहिलेसम्म राम्रै प्रतिक्रिया आएका छन् । सामाजिक सन्जाल मैले खासै हेरेको छैन । बिग बास लिगको अर्को खेलका लागि कडा अभ्यास गरेर बसिरहेको छु । जब फुर्सदको समयमा समाजिक सञ्जाल खोल्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आएका छन् । यो सबैमा अल्झेर बस्नु भन्दा पनि एउटा टिमको रूपमा कसरी राम्रो गर्न सकिन्छ भनेर सोचिरहेको छु ।

विगतमा फ्रेन्चाइज लिग खेल्दा एउटा खेलाडीको रूपमा नेपाली टिममा एक साताअगाडि समावेश हुनुहुन्थ्यो । एउटा कप्तानको रूपमा एक साता अगाडिमात्र टिममा समावेश हुँदा अब असर पर्दैन र ?

निश्चय पनि । टिममा एक साताअगाडि त्यति धेरै परिवर्तन हुँदैन । म टिमका हरेक सदस्यसँग सम्पर्कमै हुन्छु । पुबुदु सर हुँदा अझै सजिलो हुन्छ । यसपालि बिग बास जनवरी २८ मा सकिँदै छ, म त्यसको भोलिपल्ट नेपाल आउने छु ।

कप्तानको रूपमा कस्तो लक्ष्य छ त ?

एकै पटक मैले अहिले केही सोचेको छैन । एकपटकमा म एउटा कुरामा विश्वास गर्छु । अहिलेलाई म ग्लोबल छनोटका बारेमा सोचिरहेको छु । त्यहाँबाट नेपाललाई विश्वकपमा पुर्‍याउनु छ ।

मैदानभित्र तपाईंको जुन आक्रामक स्वभाव छ, त्यसले कप्तानीलाई हानि त पुर्‍याउँदैन ?

त्यस्तो कहिल्यै हुने छैन । सबैको स्वभाव एकै हुन्छ भन्ने पनि छैन । भारतमै उदाहरण हेर्नुस् न । महेन्द्रसिंह धोनी कति कुल थिए र विराट कोहली कति आक्रामक स्वभावका थिए । टिमलाई मेरो आक्रामक स्वभाव वा शान्त स्वभाव चाहिएको छ, त्यसमा भरपर्छ । मेरो टिमले मलाई पहिलो ओभर माग गरेको छ भने म निश्चय पनि आक्रामक नै हुन्छु । यो सबै स्थितिमै भरपर्छ ।

एउटा कप्तानका रूपमा आफैंलाई पहिलो ओभर लिएर आउन कतिको गाह्रो छ ?

त्यस्तो केही गाह्रो छैन, स्थितिले मलाई पहिलो ओभर नै माग गर्छ भने म पहिलो ओभर नै आउँछु ।

एउटा यथार्थ पक्ष के हो भने नेपाली टिमभित्र गुट उपगुट छ, यसलाई कसरी लिएर जाने सोच छ ?

यहाँबाट धेरै कुरा लिनु छ । टिमका सबै सदस्यले ठूलो योगदान दिनुपर्नेछ । मैले पनि सिक्न बाँकी छ यहाँबाट । क्रिकेटलाई कुनै हानि नहुने गरी कार्य गर्नेछौं । किनभने क्रिकेटभन्दा ठूलो कोही छैन ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.