
काठमाडौँ — १ पुस २०७८
काठमाडौँ , नेपालले एसीसी यू–१९ एसिया कपका लागि देव खनालको कप्तानीमा राष्ट्रिय टिम छनोट गरेको छ । अघिल्लो साता सम्पन्न वाइवाइ यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना गरेर प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनोट गरेको थियो । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट बुधबार अन्तिम टोली छानिएको हो । यू–१९ टिममा देवसहित शेर मल्ल उपकप्तान, दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल वासिर अहमद, दुर्गेश गुप्ता, प्रकास जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् ।
प्रशिक्षकमा वसन्त शाही र व्यवस्थापकमा धर्मराज गिरी छन् । एसियाली क्रिकेट परिषद् (एसीसी) ले प्रकाशित गरेको तालिकाअनुसार एसिया कपमा नेपाल समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र कुवेतसँगै परेको छ । नेपालले सबै खेल शारजहाँमा खेल्नेछ । प्रतियोगिता डिसेम्बर २३ देखि ३१ सम्म यूएईको दुबई र शारजहाँमा हुनेछ । समूह ‘ए’ मा रहेका भारत, पाकिस्तान, अफगानिस्तान र यूएईले सबै खेल दुबईमा खेल्नेछन् । डिसेम्बर ३० मा दुबई र शारजहाँमा सेमिफाइनल तथा ३१ मा दुबईमा फाइनल हुने तालिका छ । नेपालले पहिलो दिन बंगलादेशसँग खेल्नेछ । डिसेम्बर २५ मा यूएई र २८ मा कुवेतसँग खेल्नेछ ।
( कान्तिपुर दैनिक )
