
पोखरा — १ पुस २०७८
पोखरा , पोखरालाई ‘होम ग्राउन्ड’ मानेको मनाङ मर्स्याङ्दी क्लबले पुस ३ मा सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं चरणमा पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लिग इतिहासमै पहिलोपल्ट राजधानीबाहिर हुन लागेको हो । पोखरा रंगशाला फुटबल मैदानमा लिग तीन खेल हुनेछ । मनाङले पुस १७ मा लिगको सातौं चरणअन्तर्गत ब्रिगेड ब्वाइजसँग खेल्ने छ । आठौं चरणमा अन्तिम खेल पुस २४ मा मनाङ र च्यासल युथ क्लबबीच हुनेछ । पुस ३ मा हुने खेलका लागि आयोजक एन्फा, मनाङ मर्स्याङदी र विभागीय टिम पुलिस क्लब बुधबार नै पोखरा आएका छन् । लिग कमिटीका निर्देशक सन्जिव मिश्रले २०११ बाट लिग सुरु भएयता ३९ औं संस्करणसम्म आइपुग्दा पहिलोपल्ट राजधानीबाहिर खेल हुन लागेको बताए । ‘मनाङले पोखरालाई घरेलु मैदान बनाउन चाहेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दियो,’ बुधबार पत्रकार सम्मेलनमा उनले भने, ‘होम ग्राउन्डमा खेल्ने पहिलो टिम हुन पाउनु मनाङका लागि अवसर हो ।’
पोखरामा हुने खेलले लिगलाई ‘होम एन्ड अवे’ को दिशातर्फ डोहोर्याउने उनी बताउँछन् । अहिले तीन खेलमात्रै पोखरामा भए पनि भविष्यमा हुने लिगमा एकै समयमा धेरै म्याच गर्नुपर्दा देशका विभिन्न मैदान रोज्नुपर्ने उनको तर्क छ । ‘लिगले राष्ट्रिय स्वरुप पाएर मेची–महाकालीसम्म लैजाँदा अपनत्व लिन सकोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने, ‘टिमले होम ग्राउन्ड बनाउँदा एन्फालाई आर्थिक भार पनि कम पर्छ ।’ पोखरामा लिगका खेल हुँदा सम्पूर्ण खर्च मनाङ मर्स्याङ्दीले बेहोर्नुपर्छ । आयोजक, अफिसियल, विपक्षी टिमको व्ययभार मनाङकै काँधमा हुन्छ । प्रवेश टिकटवापत हुने आम्दानी मनाङले राख्नेछ । प्रत्येक खेलमा ३ देखि ५ हजार दर्शक उपस्थित हुने एन्फाको अनुमान छ ।
एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले अहिलेको लिग काठमाडौंमा व्यवस्थित ढंगले सञ्चालन भइरहेकामा त्यसलाई निरन्तरता दिन पोखरा आएको बताए । ‘मनाङ र पुलिसको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ,’ उनले भने, ‘पोखरेली फुटबलप्रेमीका लागि यो सुवर्ण अवसर हो ।’ काठमाडौंकै मापदण्डअनुसार खेल सञ्चालन गर्न रेफ्री, सेक्युरिटी, मेडिकललगायत टिम पोखरा आइसकेको उनले बताए । एन्फाका केन्द्रीय सदस्य एवं मनाङका उपाध्यक्ष विजय घलेले लिगलाई देशव्यापी लैजाने एन्फाको चाहनाबमोजिम नै मनाङले पोखरा छनोट गरेको बताए । ‘पोखरामा हाम्रो टिमका धेरै फ्यान छन्, पोखरेलीको प्रिय टिम हौं हामी,’ उनले भने, ‘पोखरा खेलकुदकै राजधानी पनि भएकाले यहाँ आउँदा हाम्रा खेलाडी मोटिभेट हुन्छन् ।’ मनाङलाई साथ दिन दर्शकको उल्लेख्य उपस्थिति हुनेमा उनी आशावादी छन् । चार चरण सकिँदासम्म मनाङ १० अंकसहित लिगको दोस्रो स्थानमा छ । मनाङले ३ खेलमा जित र एक खेलमा बराबरी खेलेको थियो । मछिन्द्रले ४ खेल नै खेलेर १० अंक जोडे पनि गोल अन्तरका आधारमा मनाङभन्दा माथि छ ।
कीर्तिमानी ८ पल्टको लिग विजेता मनाङ पोखरामा हुने सबै ३ खेल जितेर शीर्ष स्थानमा रहँदै लिग टुंग्याउने योजनामा छ । यद्यपि पुलिस क्लबको प्रदर्शनका पारखीसमेत पोखरामा उत्तिकै छन् । सहारा क्लबले गर्ने आहा–रारा गोल्डकपको उपाधि जित्न दुई क्लबबीच उछिनपाछिन हुने गर्छ । एन्फा कास्की अध्यक्ष मिलन गुरुङका अनुसार पोखरा रंगशालामा तयारीका काम धमाधम चलिरहेको छ । एक साताअघिदेखि दैनिक १५ कामदार रंगशालाको मर्मतसम्भारमा खटिएका छन् । मैदानको घाँस मिलाउने, रोप्ने, पानी हाल्ने, माटो भर्ने, घाँस उमार्ने मल छर्ने काम भइरहेका छन् । निर्माणाधीन रंगशालाको हालसम्म ९२ प्रतिशत काम सकिएको छ । १६ हजार ५ सय सिट क्षमताको प्यारापिट जडान गर्नुपर्नेमा ८ प्रतिशत काम बाँकी छ । चेन्जिङ रूम फिनिसिङ हुन बाँकी छ । पोखरा रंगशाला फुटबल मैदान २०४० सालमा बनेको हो । पोखराले दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेबारी पाएपछि फुटबल मैदान बनेको थियो । अहिले भने १ अर्ब २८ करोड रुपैयाँको लागतमा अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनिरहेको छ ।
( कान्तिपुर दैनिक )
