Fast Nepal News

चुनौतीमाझ दासानायके

banner single news

काठमाडौँ — २६ मंसिर २०७८

काठमाडौँ , ठीक अहिले नै जसरी पुबुदु दासानायकेले एक वर्षअघि पनि नेपालको क्रिकेट प्रशिक्षक बन्न आवेदन दिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) को प्रशिक्षक छनोट समितिसँग अन्तर्वार्ताका क्रममा उनले विगतका घटनाक्रम आफ्नोतर्फबाट प्रस्ट्याउन खोज्दै थिए । धन्न, उनको अन्तर्वार्तासम्म लिने आँट क्यानले गरेको थियो । नत्र, उनको आवाज पनि नसुन्ने स्थितिमा क्यान पुगिसकेको थियो । दासानायके र क्यानको मतभेद विगतकै हो । उनलाई ल्याउँदा त्यही मतभेद निरन्तर रहन्छ भन्ने एउटा समूह क्यानमा थियो । ‘पुबुदुलाई ल्याएर फेरि अख्तियार जानु छैन’ भन्न समेत क्यान पदाधिकारीहरू पछाडि परेका थिएनन् । हुन त अन्तर्वार्तापछि क्यानले निकालेको अन्तिम तीन जनाको प्रशिक्षक सूचीमा दासानायके नपरेका होइनन् । निर्णय स्पष्ट थियो । त्यस अन्तर्वार्तापछि कुन हदसम्म अपमान बेहोरेर उनी बाहिरिएका थिए, त्यसको लेखाजोखा दासानायकेले राम्रैसँग राखेका होलान् । क्यानले डेभ ह्वाटमोरलाई नेपालको प्रशिक्षक नियुक्तमात्र गरेन, दासानायकेका लागि सबैजसो ढोका बन्द गरिदिएको थियो ।

नेपालको विश्वकप खेल्ने सपना साकार पार्ने उनै दासानायके थिए । सन् २०११ को अक्टोबर अन्त्यमा उनी नेपालका प्रशिक्षक बनेर आए । क्यानडालाई त्यही वर्ष एकदिवसीय विश्वकप खेलाएको ताजा अनुभव बोकेर उनी नेपाल भित्रिएका थिए । उनी आउनुअघि नेपाल विश्व क्रिकेट लिगको संरचनामा अड्किरहेको थियो । नतिजाको हिसाबमा दासानायके आएपछि नेपाली क्रिकेटले ठूलै उडान लियो । डिभिजन ४ मा रहेको नेपाल डिभिजन ४ र डिभिजन ३ जित्दै एकदिवसीय विश्वकप छनोटसम्म पुग्यो । दासानायके आउनुअघि नेपाल एसीसी ट्वान्टी–२० को सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन । उनकै प्रशिक्षणमा नेपाल २०११ मै एसीसी ट्वान्टी–२० को सेमिफाइनलमात्र पुगेन, २०१३ को अर्को संस्करणमा फाइनल पुग्यो । त्यहींबाट ट्वान्टी–२० विश्वकप छनोट हुँदै विश्व ट्वान्टी–२० मा पुगेको थियो । नेपाली टोलीका कप्तान थिए पारस खड्का । उनले भनेका थिए, ‘सबैले विश्वकप भनेर भन्थे, तर त्यहाँ पुग्ने बाटो कुन हो भनेर हामीलाई केही थाहा थिएन । पुबुदु सरले नै आएर त्यो बाटो देखाइदिनुभएको हो ।’

ट्वान्टी–२० विश्वकपमा नेपालको पहिलो उपस्थिति सहभागितामै सीमित भएन । नेपालले हङकङ र अफगानिस्तानलाई हराएर जोसिलो प्रदर्शन देखायो । विश्वकपबाट फर्किएलगत्तै खेलाडीहरूले क्यानमा थिति बसाल्नका लागि विरोधमै उत्रिए । विरोधले उग्र रूप लिँदै गर्दा क्यानविरुद्ध अख्तियारमा भ्रष्टाचारलगायतका विषयमा उजुरी पर्‍यो । उजुरी बेनामे थियो कि के थियो अझै स्पष्ट छैन । तर, क्यानविरुद्ध उजुरी गर्नेमा पारस र अर्का दुई खेलाडी तथा दासानायके नै थिए । वर्ष दिनअघिको अन्तर्वार्तामा दासानायकेले अख्तियारको यही प्रसङ्गलाई क्यान पदाधिकारीसामु स्पष्ट पार्न चाहिरहेका थिए । उनले आफ्नो भनाइ राखे पनि सुन्ने कोही थिएनन् । शनिबार बिहान जुमबाट क्यानको बोर्ड बैठक चलिरहँदा परिस्थिति ठीक उल्टो थियो । छनोट समितिले प्रमुख प्रशिक्षकका लागि दासानायकेको नाम प्रस्ताव गरेपछि अनुमोदनका लागि लैजाँदा ‘शतप्रतिशत’ले सहमति जनाएका थिए । उनको नामप्रति विरोधमा कोही थिएनन् । यसपटकको अन्तर्वार्तामा पनि उनले आफ्नो भनाइ दोहोर्‍याएका थिए ।
‘विगतमा आफूलाई खेलाडीमाझ रहेर कार्य गर्न भनिएको र क्यान पदाधिकारिसँग बसेर काम गर्ने कहिल्यै वातावरण थिएन, मलाई क्यानको योजनामा रहेर काम गर्न कुनै आपत्ति छैन,’ दासानायकेले अन्तर्वार्ताका क्रममा राखेको भनाइ क्यानका एक अधिकारीले उद्धृत गरे । ती पदाधिकारीका अनुसार विरोधमा रहेका केही पदाधिकारी अहिले क्यानमा नरहेका कारण पनि दासानायकेलाई नेपाल फर्कन सजिलो भएको थियो । ह्वाटमोरमा ‘लोभ लालच’ बढी नै देखिएपछि क्यानले प्रशिक्षकका लागि आवेदन खुला गर्दा दासानायके फेरि अन्तर्वार्तामा उभिएका थिए । जनवरीमा एकवर्षे सम्झौतासहित नेपाल आएका ह्वाटमोर सेप्टेम्बरमा ओमान भ्रमण गएको भोलिपल्टै राजीनामा दिएर भारतको बरौदा टिम हेर्ने निर्णयमा पुगेका थिए । दोस्रोपल्ट पनि अन्तर्वार्तामा दासानायके ‘अख्तियार काण्ड’ ले घेरिएका थिए । ‘प्रमुख प्रशिक्षकका रूपमा नेपाल फर्किन पाउँदा निकै उत्साही छु, नेपाल क्रिकेटलाई अर्को स्तरमा पुर्‍याउन कठिन मिहिनेत गर्नेछु,’ दासानायकेले कान्तिपुरसँग क्यानडाबाट भने । श्रीलंकाका लागि ११ टेस्ट र १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका दासानायके पछिल्लो दुई दशकदेखि क्यानडामा बस्दै आएका छन् ।

सजिलो छैन दोस्रो इनिङ्स

Inside Article Ads

सफलताको हिसाबमा दासानायकेको ‘सीभी’ निकै बाक्लो र बलियो छ । तर दोस्रोपल्ट नेपालको प्रशिक्षकमा कार्य गर्न उनलाई त्यति सहज छैन । क्यान र केही खेलाडीहरूबीच जुहारी चलिरहेको अवस्थामा उनी नेपाल आउँदै छन् । सेन्ट्रल कन्ट्रयाक्टको असहमतिबाट सुरु क्यान र खेलाडीबीचको विवादले ठूलै रूप लिएको छ । केही खेलाडीले अझै क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा सम्झौता गरिसकेका छैनन् । दासानायकेले नेपाली क्रिकेटलाई ‘एउटा टिम’ रूपमा बनाएपछि ट्वान्टी–२० विश्वकप सम्भव भएको थियो । अहिले त्यहीं टिम गुट–उपगुटले छिन्नभिन्न छ । खेलाडीहरू एकअर्काको छाया पनि हेर्न नचाहने स्थितिमा छन् । खेलाडीहरूलाई एकजुट बनाउनु दासानायकेलाई पहिलो चुनौती हुनेछ । दासानायके २०१५ को नोभेम्बरसम्म नेपालको प्रशिक्षकमा रहे । त्यसपछि २०१६ को नामिबियासँगको घरेलु शृंखला र इंग्ल्यान्ड भ्रमणमा ब्याटिङ परामर्शदाताका रूपमा रहे । यस अवधिमा पारस, शक्ति गौचन, वसन्त रेग्मी नेपालको मुख्य हतियार थिए । यी तीनै खेलाडी नेपाली क्रिकेटबाट अलग भइसकेका छन् ।

शक्तिले तीन वर्ष र पारसले चार महिनाअघि खेलाडी जीवन टुंग्याइसकेका छन् भने वसन्त अमेरिका लागिसकेका छन् । वर्तमान खेलाडीबाट उनले पारस, शक्ति र वसन्तको लय भेट्टाउनुपर्नेछ । फेब्रुअरी १५ देखि ओमानमा ट्वान्टी–२० विश्वकप छनोट हुने तालिका छ । नेपालसँग दुई महिनामात्र समय छ । दासानायके डिसेम्बर २० भित्र नेपाल आइपुग्ने तालिका छ । त्यस हिसाबमा ट्वान्टी–२० विश्वकप छनोटमा नेपालसामु तयारीलाई दुई महिना कम समय छ । यति छोटो अवधिमा पूर्ण रूपमा नयाँ प्रशिक्षक ल्याउँदा उसलाई खेलाडीसँग भिज्नै समय लाग्ने हुनाले पनि क्यानको नजरमा दासानायके पहिलो प्राथमिकतामा परेका हुन् । क्यानले ट्वान्टी–२० विश्वकपलाई हेरेर मात्र दासानायकेलाई नल्याएको स्पष्ट देखिन्छ । क्यानले दासानायकेलाई दुई वर्षे सम्झौता दिएको छ । यसअघि क्यानले मुख्य प्रशिक्षकलाई ६ महिनादेखि वर्ष दिनको सम्झौता दिने गरेको थियो । अहिले सम्झौता अवधि दोब्बर बनाइएको छ । ‘मलाई विश्वास छ, उनको यो दुई वर्षे कार्यकालमा क्रिकेटले ठूलो उचाइ लिनेछ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्तिमा भनेका छन् ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.