Fast Nepal News

डिफेन्डरको तीन गोलमा थ्रीस्टारको उडान

banner single news

काठमाडौँ — ५ मंसिर २०७८

काठमाडौँ , सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टारलाई सधैं उपाधिको दाबेदार मानिन्छ । तर पाटनको यो क्लब लिग च्याम्पियन नभएको नौ वर्ष भयो । उपाधि होडमा पछाडि परेकोमात्रै होइन, अंक तालिकामा पनि खस्किँदै गएको छ । यसपालि भने पहिलो खेलमै छिमेकी च्यासल युवा क्लबलाई ३–० ले पन्छाउँदै थ्रीस्टारले शनिबार उपाधि होडमा बलियो दाबेदारी पेस गर्ने संकेत दिएको छ । तीनपल्टको लिग च्याम्पियन थ्रीस्टारका लागि दशरथ रंगशालामा च्यासलविरुद्ध तीनै गोल डिफेन्सका खेलाडीले गरे । तीनै गोल ‘सेट पिस’ मा भए । कर्नरमा दुई र फ्रि–किकमा एक गोल । थ्रीस्टारले पूरा खेलमा पाँचपल्ट पोस्टमा प्रहार गर्‍यो र त्यसमा गोलकर्ता रहे निशान खड्का, रिम राफाएल र अनन्त तामाङ । इटालियन सिरी ‘ए’ क्लब एट्लान्टाको युवा टिमबाट च्यासल आइपुगेका फरवार्ड विकास मेराग्लियाले पहिलो हाफमा केही दबाब दिए पनि दोस्रो हाफ पूर्णत पकडमा राख्दै थ्रीस्टारले तीन अंक जोड्दै उत्कृष्ट सुरुआत गरेको हो ।

करिब २७ यार्डबाट निशानले बायाँ खुट्टाले प्रहार गरेको फ्रि–किकमा बल ‘टप बार’ मा आकर्षक गोलमा परिणत भएपछि थ्रीस्टारले २२ औं मिनेटमा अग्रता लियो । च्यासलले दबाब दिइरहेको समयमा त्यो नै थ्रीस्टारमा पहिलो आक्रमण थियो । त्यसको चार मिनेटभित्रै च्यासलले बराबरी गर्ने राम्रो अवसर पाएको थियो । इटालीको यू–१६ टिमबाट खेलिसकेका विकासले बल पाएको अवस्थामा पेनाल्टी क्षेत्र वरिपरि खतरनाक देखिएका थिए । बल अघि बढाइरहेका उनलाई अनन्तले ‘फाउल’ गर्दै लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले च्यासललाई पेनाल्टी दिए । विकासले प्रहार गरेको पेनाल्टीमा गोलकिपर येल्भेस प्रिसोले रोक्दै थ्रीस्टारलाई राहत दिलाए । त्यसमा विकासको प्रहार पनि खासै उत्कृष्ट थिएन ।

प्लेयर अफ द म्याच निशान खड्का ।

पेनाल्टी क्षेत्रमा बल प्रहार गर्ने क्रममा रहेका विकासलाई ३२ औं मिनेटमा राफाएलले लडाएका थिए । च्यासलले पेनाल्टी अपिल गर्‍यो । रेफ्रीले श्रेष्ठले अस्वीकार गरिदिए । त्यसबारे च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘पेनाल्टी हुनुपर्ने थियो । पहिला नै पहेंलो कार्ड पाइसकेका राफाएललाई रेड कार्ड पनि हुन्थ्यो । रेफ्रीकै निर्णयले खेल परिवर्तन भयो । सेट पिसमा डिफेन्सले रोक्न नसक्नु हाम्रो पनि कमजोरी हो ।’ धेरै कुरा हेर्दा रेफ्रीले थ्रीस्टारलाई समर्थन गरेजस्तो देखिए पनि त्यस्तो गल्ती हुने उल्लेख गर्दै उनले थपे, ‘जबसम्म रेफ्रीको स्तर बढ्दैन, तबसम्म फुटबल राम्रो हुँदैन ।’ दोस्रो गोलको फ्रिकिक पनि ‘सफ्ट पुस’ मै दिएको उनले आरोप लगाए ।

च्यासलका पूर्वमिडफिल्डर हेमन्त थापामगरको फ्रिकिकमा अग्ला कदका डिफेन्डर राफाएलको हेडरमा थ्रीस्टारले ४५ औं मिनेटमा अग्रता दोब्बर बनायो । तेस्रो गोल अनन्तले गरे । उनले पनि हेमन्तकै कर्नर उपयोग गर्दै ५८ औं मिनेटमा हेडद्वारा गोल गरे । लिगमा दुई वर्षअघि च्यासलविरुद्ध २–० को जितमा पनि अनन्तले गोल गरेका थिए । ‘ए’ डिभिजन लिगमा च्यासलविरुद्धका तीन खेलमा थ्रीस्टारको यो नै सबभन्दा ठूलो अन्तरको सफलता हो । शीर्ष श्रेणीमा च्यासलले डेब्यु गरेको लिग (२०७५) मा भने थ्रीस्टारलाई च्यासलले गोलरहित रोकेको थियो । अर्पण कार्कीको अनुपस्थितिमा गोलपोस्ट सम्हाल्ने अवसर पाएका प्रदीप भण्डारीले ८४ औं मिनेटमा ऋतिककुमार खड्का र मिक्छेन तामाङको प्रहारलाई रोक्दै च्यासललाई अझै ठूलो अन्तरबाट जोगाइदिए ।

Inside Article Ads

‘लय समात्ने कोसिस’

‘यो जितले टिमको हौसला त बढाउँछ नै,’ थ्रीस्टारका कप्तान विक्रम लामाले भने, ‘हामीले गोल स्कोरिङभन्दा लय समात्ने कोसिस गर्‍यौं । कमी कमजोरी धेरै छ । यसलाई सुधार गरेर हामी उपाधि होडमा राम्रोसँग जान सक्छौं । लक्ष्य उपाधि जित्ने नै हो । त्यसको लागि हामीले धेरै सुधार गर्नुपर्छ ।’ ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका विंगर आयुष घलान, सर्लाहीका ऋषितक र हेमन्तको आगमनले टिमलाई बलियो बनाएको पनि उनले बताए । क्यामरुनी डिफेन्डर राफाएल पनि थ्रीस्टारमा नयाँ हुन् । पहिलो खेल भएकोले अलि गाह्रो भएको उल्लेख गर्दै थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले भने, ‘सुरुमा च्यासलले दबाब दियो । ३–० (नतिजा) एकदम राम्रो हो । यसले खेलाडीहरू आत्मविश्वासी हुन्छन् । अब कमजोरी सुधार्न सजिलो हुन्छ । अर्को खेलमा योभन्दा राम्रो गर्नेछौं ।’ उनले थपे, ‘हामी अगाडि चुकिरहेका छौं । तीनै गोल डिफेन्सले गरे ।’ २०५४, ०६१ र ०६९ को च्याम्पियन थ्रीस्टार त्यसपछि केही कमजोर देखिएको थियो । उसको पछिला तीन संस्करणमा (२०७० मा दोस्रो, ०७५ मा तेस्रो र ०७६) वरीयता पनि खस्कियो । यसैलाई उकास्दै लोकप्रिय क्लबलाई फेरि च्याम्पियन बनाउने जिम्मेवारीमा छन् प्रशिक्षक श्रेष्ठ ।

हिमालयन १–१ संकटा

अनुभवी मिडफिल्डर लक्ष्मण रुचालले हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीको गल्तीको फाइदा उठाउँदै ६० औं मिनेटमा यो लिगकै पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्रिदेव गुरुङले ६४ औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई १–१ मा पुर्‍याए । संकटाका गणेश हमालले ८४ औं मिनेटमा प्रहार गरेको बल डिफेन्समा डिफ्लेक्ट हुँदै बारमा लागेर फर्कियो । त्यही ‘रिबाउन्ड’ मा लक्ष्मणको ‘फ्रि–हेडर’ मा बल पोस्टबाहिर जाँदा संकटाले तीन अंक जोड्ने अवसर गुमाएको थियो । ‘गल्तीले गोल खायौं । समग्रमा दुवै टिमको राम्रो भयो,’ हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले भने, ‘संकटाले सोचेभन्दा राम्रो अनुशासित खेल खेल्यो । हाम्रो ट्याक्टिकल अनुशासन पनि कायम रह्यो ।’ संकटाका मुख्य प्रशिक्षक विष्णु गुरुङले भने, ‘टिमको प्रदर्शनमा खुसी छु । मेरो प्रणालीमा खेल्न अझै समय लाग्छ ।’ यी दुवै प्रशिक्षकले पहिलो पल्ट ‘ए’ डिभिजन क्लब सम्हालेका हुन् ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.