
काठमाडौँ — २ मंसिर २०७८
काठमाडौँ , सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी टोली सातदोबाटो युथ क्लबलाई खेल पोसाक उत्पादन गर्ने भारतीय ब्रान्ड टी–१० स्पोर्ट्सले प्रायोजन गरेको छ । बुधबार राजधानीमा टी–१० को नेपाली आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ प्रालिका तर्फबाट पवनकुमार सर्राफ र सातदोबाटो क्लबका महासचिव सुनील विष्टले तीनवर्षे सम्झौतामा हस्ताक्षर गरे । सम्झौतासँगै टी–१० बाट उत्पादित आवश्यक सम्पूर्ण सामग्रीका अलावा भाटभटेनी होल्डिङले सातदोबाटो क्लबका लागि आवश्यक सबै खेलसामग्री उपलब्ध गराउने छ ।
सम्झौताको आर्थिक कारोबार दुवै पक्षले गोप्य राख्ने सहमति गरेका छन् ।नेपाली खेलकुदमै पहिलोपल्ट प्रदर्शनमा आधारित बोनससमेत व्यवस्था गरिएको छ । प्रायोजक कम्पनीले पहिलो वर्षको प्रदर्शनका आधारमा बोनस रकम निर्धारण गर्नेछ । पत्रकार सम्मेलनमा क्लबका महासचिव विष्टले स्थापित ब्रान्डको साथले लिगमा राम्रो प्रदर्शन गर्ने हौसला मिलेको बताए । २०५७ सालमा स्थापित सातदोवाटो क्लब गत संस्करणमा ‘बी’ डिभिजन लिग विजेता बनेको थियो । शुक्रबार सुरु हुने लिगको पहिलो खेलमै सातदोबाटोले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । क्लबको मुख्य प्रायोजक गोल्डेनओक हो ।
( कान्तिपुर दैनिक )
