
दुबई — ३० कात्तिक २०७८
दुबई , अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराएर पहिलोपल्ट ट्वान्टी–२० विश्वकपको उपाधि जित्यो । सुपर–१२ चरणमा फरक–फरक समूहमा रहेका यी टोलीले बहादुरीपूर्ण यात्रापछि फाइनल भेट निश्चित गरेका थिए । नेट रनरेटका आधारमा नकआउट चरणमा पुगेको अस्ट्रेलिया भाग्यमानी बन्यो । एएफपीको नजरमा विश्वकपका १० असाधारण क्षण :लगातार बलमा चार विकेट
पाकिस्तानले तोड्यो “भारतीय जिंक”
बाबर आजम र मोहम्मद रिजवानको अविजित अर्धशतकमा पाकिस्तानले भारतलाई १० विकेटले हराएर ट्वान्टी–२० विश्वकपमा आफ्नो चिरप्रतिस्पर्धीमाथि पहिलो जित निकाल्न सक्यो । १५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानका आजम (६८) र रिजवान (७२) ले दुबईमा १३ बल बाँकी छँदै आफ्नो टिमलाई जित दिलाएका थिए । बायाँहाते तीव्र बलर साहिन साह अफ्रिदीले जितको आधार तय गरेका थिए । ट्वान्टी–२० विश्वकपमा छैटौं प्रयासमा पाकिस्तानले छिमेकी भारतविरुद्ध जित पाएको हो । अफ्रिदीको ३–३१ को प्रदर्शनसाथ कप्तान विराट कोहलीको ५७ रनको इनिङ्सका बाबजुद भारत १५१–७ मा सीमित भएको थियो ।
डी ककको अस्वाभाविक व्यवहार
वेस्ट इन्डिजविरुद्ध घुँडा टेक्न अस्वीकार गरेका क्विन्टन डी ककले दक्षिण अफ्रिकाले त्यसपछि खेलेका खेलमा आफ्नो नाम फिर्ता लिए । क्रिकेट दक्षिण अफ्रिका (सीएसए) द्वारा प्रतियोगितामा सहभागी आफ्ना सबै खेलाडीले जातीयता विरोधी सांकेतिक ऐक्यबद्धतामा भाग लिन आदेश दिएको केही घण्टामै २८ वर्षीय डी ककको अस्वाभाविक निर्णय आएको हो । दुई दिनपछि डी ककले माफी माग्दै टिमका बाँकी सदस्यको जातीयताविरुद्धमा आफ्नो जस्तै धारणा भइदिए खुसी मिल्ने बताएका थिए । ‘यदि मैले घुँडा टेकेर अन्यलाई शिक्षित गर्न सहयोग पुग्छ र अरूको जीवन राम्रो बनाउन सकिन्छ भने मलाई यस्तो गर्दा धेरै खुसी मिल्नेछ,’ उनले भनेका थिए ।
ट्रोलबारे कोहलीको आक्रोश
पाकिस्तानसँगको हारमा टिमका एकमात्र मुस्लिम खेलाडी मोहम्मद सामीलाई दोषी देखाउँदै भारतीय समर्थकबाटै धार्मिक र साम्प्रदायिक हमला हुन थालेपछि कप्तान विराट कोहलीको आक्रोशित शैली देखियो । उनले समर्थकलाई अति दुर्बल र दयनीय भनिदिए । ‘हामी मैदानमा सकारात्मक कारणले खेलिरहेका छौं । न कि सामाजिक सञ्जालका अति दुर्बल झुण्डका लागि । जो वास्तवमै कसैप्रति टिप्पणी गर्ने हैसियत राख्दैनन्,’ कोहलीले भने, ‘कसैको धर्ममाथि हमला गर्नु एउटा मान्छेले गर्नसक्ने सबैभन्दा दयनीय हर्कत हो ।’उपाधि दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग हारेपछि सेमिफाइनल पुग्न असफल भएको थियो ।
बटलरको लय
जस बटलरले श्रीलंकाविरुद्धको २६ रनको जितका क्रममा प्रतियोगिताको पहिलो शतक प्रहार गरेपछि इंग्ल्यान्डले सेमिफाइलमा स्थान सुरक्षित गरेको थियो । बटलरले नटआउट १०१ रन बनाएपछि इंग्ल्यान्डले १६३–४ को योगफल खडा गरेको थियो । ६७ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका उनी क्रिकेटका तीनै फर्म्याटमा शतक प्रहार गर्न सफल भए ।
हसरंगाको प्रशंसा
भलै, श्रीलंका सुपर १२ चरणबाटै घर फर्कियो । सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपको अर्को संस्करणमा सम्भावित उपाधि विजेताका रूपमा अहिलेदेखि नै चर्चा सुरु भएको छ । यो विश्वकपमा उसका स्पिन अलराउन्डर वानिन्दु हसरंगाले १० भन्दा कम औसतमा १६ विकेट लिए । प्रशिक्षक मिकी आर्थरले भनेका छन्, ‘हसरंगा एक विशेष क्रिकेटर हुन् ।’
पुस्ताको अन्त्य
वेस्ट इन्डिजका कप्तान किइरोन पोलार्डले देशमा ‘एउटा पुस्ताको अन्त्य’ भएकामा अफसोच व्यक्त गरे । ड्वाइने ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेपछि क्रिस गेल र पोलार्ड आफैं पनि सोही निर्णयमा जोडिए । साबिक विजेता वेस्ट इन्डिजले सुपर १२ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियासँग ८ विकेटको हार बेहोर्यो । यो टोलीको ५ खेलमा चौथो हार थियो । समान ३८ वर्षका पोलार्ड र ब्राभो तथा ४२ वर्षीय गेल सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजले ट्वान्टी–२० विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य थिए । अबुधाबीमा यी स्टारलाई अस्ट्रेलियाली खेलाडीले ‘गार्ड अफ अनर’ दिएका थिए ।
रिजवान अस्पतालदेखि सेमिफाइनलसम्म
सेमिफाइनलमा अस्ट्रेलियासँग हारे पनि पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । त्योभन्दा आश्चर्यजनक कुरा के हो भने छातीको संक्रमणका कारण दुई दिन अस्पतालको आईसीयूमा बिताएर उनी सेमिफाइनल खेल्न रंगशाला पुगेका थिए । ‘रिजवानको छातीमा गम्भीर संक्रमण भएकाले अस्पताल भर्ना गरिएको थियो । उनले दुई रात आईसीयूमा बिताए,’ पाकिस्तानका चिकित्सक नजीब सोमरुले भने, ‘अविश्वसनीय रूपमा ठीक भएपछि उनी खेलका लागि योग्य भए । देशका लागि उनको महान् संकल्प र त्यागप्रति गर्व गर्छौं ।’
कोन्वेको “महँगो पञ्च”
दायाँ हात भाँच्चिएपछि न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान डेभोन कोन्वेले फाइनल गुमाउनुपर्यो । सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध ४६ रनमा आउट भएपछि उनले आफ्नै ब्याटमा पञ्च हानेका थिए । न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले पछि भनेका थिए, ‘आफ्नै हातमा चोट पुर्याएर उनले चतुर काम गरेनन् ।’
अस्ट्रेलियाको लामो पर्खाइ
मिचेल मार्सले ७७ रनको नटआउट प्रदर्शन गरेपछि न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले आफ्नो पहिलो ट्वान्टी–२० विश्वकप उपाधि जित्यो । कप्तान आरोन फिन्चले यो उपलब्धिलाई ‘विशाल’ भनेका छन् । दुबईमा १७३ रनको लक्ष्य पछ्याउने क्रममा मार्सले डेविड वार्नरसँग दोस्रो विकेटमा ९२ रनको साझेदारी गरेका थिए । यसैको आधारमा अस्ट्रेलियाले ७ बलअगावै खेल जितेको हो । पाँचपल्ट एकदिवसीय विश्वकप जिते पनि अस्ट्रेलियाले छोटो फर्म्याटको विश्वकप पहिलोपल्ट जितेको हो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिएका १३ मध्ये १२ खेल पहिले फिल्डिङ गर्ने टोलीले जितेको थियो ।
( कान्तिपुर दैनिक )
