Fast Nepal News

धनगढीलाई उपाधि

banner single news

काठमाडौँ — २९ कात्तिक २०७८

काठमाडौँ , धनगढी उपमहानगरपालिकाले पछाडि परेको स्थिति उल्टाउँदै ललितपुर महानगरलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएर आइतबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको उपाधि जितेको छ । धनगढी र ललितपुरले फाइनल प्रवेशसँगै राष्ट्रिय लिगमा स्थान सुरक्षित गरेका थिए । एन्फा कम्प्लेक्समा भएको फाइनलमा निर्धारित समय ३–३ मा टुंगिएपछि पेनाल्टी सुटआउटमा रेबिका पाण्डे, बिर्सना चौधरी र रेखा पौडेलले गोल गर्दै धनगढीलाई सफलता दिलाए । सरस्वती रोकायलाई ललितपुरकी गोलकिपर अंकिता राईले असफल पारेकी थिइन् ।

आशा कुस्वर र रजनी थोकरको प्रहारलाई रोक्दै गोलकिपर उषा नाथले धनगढीको जितको आधार तय गरिदिइन् । ललितपुरकी कप्तान निर्मला विक पेनाल्टीमा सफल रहे पनि सम्झना लावतीको प्रहार बाहिरिएको थियो । छनोटको विजेता धनगढीले ५ लाख र उपविजेता ललितपुरले ३ लाख रुपैयाँ प्राप्त गरे । निर्धारित समयको १६ मिनेटभित्रै मनीषा सेन र निर्मलाले गोल गर्दै ललितपुरलाई २–० को अग्रता दिलाएका थिए । धनगढीकी सीमा रावलले २४ औं मिनेटमा गोल गरे पनि रजनीले ३९ औं मिनेटमा फेरि ललितपुरे टिमलाई दुई गोलले अघि बढाइन् । त्यसपछि चन्द्रा भण्डारीले ४९ र ६४ औं मिनेटमा गोल गरेपछि धनगढी ३–३ को अवस्थामा पुगेको थियो ।

Inside Article Ads

अन्त्यतिर पाएको पेनाल्टीमा रेखा चुकेपछि धनगढी निर्धारित समयमै जितबाट वञ्चित भएको थियो । उनको प्रहारलाई गोलकिपर अंकिताले रोकेकी थिइन् । छनोटमा धनगढीकी उषा उत्कृष्ट गोलकिपर, सरस्वती उत्कृष्ट मिडफिल्डर, चन्द्रा उत्कृष्ट फरवार्ड र राघवन्दर कार्की उत्कृष्ट प्रशिक्षक घोषित भए । ललितपुरकी सृजना सिंह उत्कृष्ट डिफेन्डर चुनिइन् । उनीहरूले जनही २० हजार रुपैयाँ पाए । कन्काई नगरपालिका, झापाकी दीपा शाहीले प्रतियोगिताकै उत्कृष्ट खेलाडीको ५० हजार रुपैयाँ हात पारिन् । ३१ नगरपालिका सहभागी छनोटमा जानकी नगरपालिका, कैलालीले फेयर प्ले अवार्डबापत ५० हजार रुपैयाँ हात पार्‍यो ।

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.