
लन्डन — २२ कात्तिक २०७८
लन्डन , इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले आइतबार आफ्नो व्यवस्थापक डिन स्मिथलाई बर्खास्त गरेको छ । भिल्ला शुक्रबार मात्रै साउथह्याम्पटनको हातबाट १–० ले पराजित भएको थियो । यो लिगमा क्लबको लगातार पाँचौं हार रह्यो । स्मिथले तीन वर्ष क्लब सम्हाल्ने अवसर पाए । लिग तालिकामा कमजोर प्रदर्शन गरिरहेको भिल्ला १५ औं स्थानमा रहेको छ र यो रेलिगेसन क्षेत्रबाट दुई अंक मात्र टाढा हो । भिल्लाका प्रमुख क्रिस्टियन पुरस्लोले भनेका छन्, ‘यसपल्ट हामीले टिमको प्रदर्शनमा कुनै सुधार देखेका छैनौं । टिमको प्रदर्शन र लिगमा हाम्रो अवस्था पनि अपेक्षाअनुसार रहेको छैन । त्यसैकारण पनि हामीले नयाँ प्रमुख प्रशिक्षकको आवश्यकता महसुस गरेका छौं र यसले टिममा परिवर्तन आउन सक्नेछ ।’ सन् २०१८ मा भिल्लाले ५० वर्षीय स्मिथलाई व्यवस्थापकमा नियुक्त गरेको थियो । क्लब सम्हालेको पहिलो वर्षमै उनले भिल्लालाई प्रिमियर लिगमा पुर्याएका थिए ।
यस्तै शनिबार नर्विचबाट ड्यानिएल फार्केले आफ्नो पद गुमाएका थिए । अक्टोबरमा वाटफोर्डले जेस्को मुनोजलाई बर्खास्त गरेको थियो भने स्टिभ ब्रुसले क्लबसँगको सहमतिमा न्युकासल युनाइटेड छाडेका थिए । भिल्लाले नयाँ व्यवस्थापक खोज्ने काम सुरु भइसकेको जनाएको छ । पुरस्लोले भनेका छन्, ‘भिल्लाको बोर्ड डिनलाई धन्यवाद दिन चाहन्छ र उनले आफ्नो कार्यकालमा मैदान बाहिर तथा भित्र निकै राम्रो काम गरेका छन् ।’ उनले थपेका छन्, ‘स्मिथ र उनको परिवारका लागि भिल्लाको के अर्थ भन्ने तथ्य सबैलाई थाहा छ । उनले भिल्लाको प्रतिनिधित्व उत्तिकै गर्व र उच्च आत्मसम्मानले गरेका छन् । हामी सबै उनलाई उच्च सम्मान प्रकट गर्न चाहन्छौं ।’ स्मिथ यसअघि ब्रेन्टफोर्ड र वालसलका प्रशिक्षक रहेका थिए । सिटी लागेका ग्रेलिसले ट्वीट गर्दै स्मिथ भिल्लाको इतिहासमै अहिलेसम्मकै सर्वाधिक उत्कृष्ट प्रशिक्षक रहेको बताएका छन् र उनले स्मिथको तुलना अरू कोहीसँग हुन नसक्ने दाबी पनि गरेका छन् ।
( कान्तिपुर दैनिक )
