
काठमाडौँ — २१ भाद्र २०७८
काठमाडौँ, भारतले फेरि एकपल्ट नेपाललाई हरायो, दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको मूल कथा यही हो । तर यो कथाभित्र अर्को ‘भावनात्मक कथा’ पनि छ र यो जोडिन्छ, नेपाली गोलरक्षक विशाल श्रेष्ठसँग । उनलाई मात्र होइन, धेरैलाई लागिसकेको थियो, सायद यी खेलाडीको भाग्यमा नेपालका लागि खेल्नु लेखिएकै छैन । उनी आफ्नो खेलजीवनमा अधिकांस समय राष्ट्रिय टिममा त परे, कहिले पनि मैदानमा उत्रन पाएका थिएनन्, सधैं बेन्चमै सीमित रहे । भारतविरुद्धकै पहिलो खेलमा पनि उनी दोस्रो हाफतिर ‘वार्म अप’ गरिरहेका थिए, तर मैदानमा छिर्न पाएनन् । दोस्रो खेलको दोस्रो हाफमा पनि उनी मैदानमा प्रवेशका लागि तयारी गरिरहेका थिए । यसपल्ट उनलाई ‘वार्म अप’ गराइरहेका थिए, अर्का गोलरक्षक विकेश कुथुले । यसपल्ट भने उनलाई भाग्यले साथ दियो र खेलको ८६ औं मिनेटमा मैदान छिरे, अनि उनले पहिलोपल्ट साँच्चै नेपालका लागि खेले । अब उनले मात्र होइन, कसैले पनि गुनासो गर्न पाउने छैनन्, विशालले कहिल्यै नेपालका लागि खेल्न पाएनन् भनेर ।
यो वास्तवमै विशालको ‘इमोसनल’ डेब्यु रह्यो । खेलपछि उनी आफ्नो परिवारबाट घेरिए र सबै उनलाई बधाई दिइरहेका थिए । पछि उनले भने, ‘म वास्तवमै निकै खुसी छु, मेरो नेपालका लागि खेल्ने सपना पूरा भएको छ ।’ उनी किन धेरै खुसी थिए भने उनको डेब्यु सपना दशरथ रंगशालामा पूरा भएको थियो । उनले थपे, ‘नेपाली फुटबलको घरमा डेब्यु गर्न पाउँदा अझ खुसी भएको छु ।’ उनको डेब्यु साँच्चै कति भावनात्मक रह्यो, त्यो ठ्याक्कै मैदान छाडेयता देखियो । उनलाई स्वागत गर्न मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आफैं अगाडि सरेका थिए र त्यसलाई देखेर विशालले आफूलाई रोक्न सकेनन् । उनी र प्रशिक्षक अल्मुताइरी अँगालोमा बेरिए । यो अँगालो केही नभए पनि ३० सेकेन्डभन्दा बढी चलेको थियो । प्रशिक्षक अल्मुताइरीका केही कमजोरी होलान्, तर खेलाडीको भावना बुझ्नमा उनी माहिर देखिए । उनी मनोविज्ञानका विद्यार्थी हुन् । उनले विशालको भावना बुझिहाले र नेपाली फुटबलमा सधैं सम्झिने एउटा गुन लगाए । दशरथ रंगशालाबाट बाहिरिँदा उनी अझै पनि गोलरक्षककै पहेँलो जर्सीमा थिए । हिँड्दै कुरा गरिरहेका विशालले थपे, ‘मैले प्रतीक्षा गरिरहेको एउटा मोड मेरो खेलजीवनमा आइपुगेको छ । धेरैको डर थियो, मैले कहिले पनि नेपालका लागि खेल्न पाउने छैन भनेर । तर म आफैं कहिले पनि निराश भइनँ, न त हरेस खाएँ । लगातार मिहिनेत गरिरहें र मलाई लाग्थ्यो, कुनै न कुनै दिन यस्तो अवसर पक्कै आउँछ । जति बेला आयो, त्यसको खुसी बयान गर्न सक्दिनँ ।’
उनी सन् २०११ मा पहिलोपल्ट नेपाली राष्ट्रिय टिममा परेका थिए, जति बेला नेपालले काठमाडौंमै एसियाली विश्वकप छनोटको पहिलो चरण खेलेको थियो । त्यतिबेला इस्ट टिमोर दुवै लेगको खेल खेल्न काठमाडौं आएको थियो र प्रशिक्षक थिए, ग्राहम रोबर्टस । यी इंग्लिस प्रशिक्षकले घोषणा गरेको २४ सदस्यीय टिममा चार गोलरक्षक थिए, पहिलो किरण चेम्जोङ, दोस्रो विकास मल्ल र तेस्रो रितेश थापा र चौथो यिनै विशाल । संयोग कस्तो भने विकास अहिलेको राष्ट्रिय टिममा गोलरक्षक प्रशिक्षक छन् । विशालले केही नभए पनि १० वर्ष २ महिना कुरे, डेब्युका लागि । उनी टिममा अधिकांश समय पर्थे, तर उनको काम खालि बेन्च तताउने मात्र रह्यो । इस्ट टिमोरविरुद्धको दोस्रो खेल किरणको आफ्नो खेलजीवनको नेपालका लागि आठौं खेल मात्र थियो । संयोग कस्तो भने जति बेला उनी ७४ औं ‘क्याप’ जितेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भइरहेका थिए, त्यही दिन विशालले डेब्युको अवसर पाए । तर यो बेजोड रह्यो, अनुपम रह्यो । सबैभन्दा ठूलो ‘इमोसनल’ रह्यो, खुसीको आँसु दिने खालको ।
( कान्तिपुर दैनिक )
