Fast Nepal News

दशकपछि विशालको ‘इमोसनल’ डेब्यु

banner single news

काठमाडौँ — २१ भाद्र २०७८

काठमाडौँ, भारतले फेरि एकपल्ट नेपाललाई हरायो, दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको मूल कथा यही हो । तर यो कथाभित्र अर्को ‘भावनात्मक कथा’ पनि छ र यो जोडिन्छ, नेपाली गोलरक्षक विशाल श्रेष्ठसँग । उनलाई मात्र होइन, धेरैलाई लागिसकेको थियो, सायद यी खेलाडीको भाग्यमा नेपालका लागि खेल्नु लेखिएकै छैन । उनी आफ्नो खेलजीवनमा अधिकांस समय राष्ट्रिय टिममा त परे, कहिले पनि मैदानमा उत्रन पाएका थिएनन्, सधैं बेन्चमै सीमित रहे । भारतविरुद्धकै पहिलो खेलमा पनि उनी दोस्रो हाफतिर ‘वार्म अप’ गरिरहेका थिए, तर मैदानमा छिर्न पाएनन् । दोस्रो खेलको दोस्रो हाफमा पनि उनी मैदानमा प्रवेशका लागि तयारी गरिरहेका थिए । यसपल्ट उनलाई ‘वार्म अप’ गराइरहेका थिए, अर्का गोलरक्षक विकेश कुथुले । यसपल्ट भने उनलाई भाग्यले साथ दियो र खेलको ८६ औं मिनेटमा मैदान छिरे, अनि उनले पहिलोपल्ट साँच्चै नेपालका लागि खेले । अब उनले मात्र होइन, कसैले पनि गुनासो गर्न पाउने छैनन्, विशालले कहिल्यै नेपालका लागि खेल्न पाएनन् भनेर ।

यो वास्तवमै विशालको ‘इमोसनल’ डेब्यु रह्यो । खेलपछि उनी आफ्नो परिवारबाट घेरिए र सबै उनलाई बधाई दिइरहेका थिए । पछि उनले भने, ‘म वास्तवमै निकै खुसी छु, मेरो नेपालका लागि खेल्ने सपना पूरा भएको छ ।’ उनी किन धेरै खुसी थिए भने उनको डेब्यु सपना दशरथ रंगशालामा पूरा भएको थियो । उनले थपे, ‘नेपाली फुटबलको घरमा डेब्यु गर्न पाउँदा अझ खुसी भएको छु ।’ उनको डेब्यु साँच्चै कति भावनात्मक रह्यो, त्यो ठ्याक्कै मैदान छाडेयता देखियो । उनलाई स्वागत गर्न मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आफैं अगाडि सरेका थिए र त्यसलाई देखेर विशालले आफूलाई रोक्न सकेनन् । उनी र प्रशिक्षक अल्मुताइरी अँगालोमा बेरिए । यो अँगालो केही नभए पनि ३० सेकेन्डभन्दा बढी चलेको थियो । प्रशिक्षक अल्मुताइरीका केही कमजोरी होलान्, तर खेलाडीको भावना बुझ्नमा उनी माहिर देखिए । उनी मनोविज्ञानका विद्यार्थी हुन् । उनले विशालको भावना बुझिहाले र नेपाली फुटबलमा सधैं सम्झिने एउटा गुन लगाए । दशरथ रंगशालाबाट बाहिरिँदा उनी अझै पनि गोलरक्षककै पहेँलो जर्सीमा थिए । हिँड्दै कुरा गरिरहेका विशालले थपे, ‘मैले प्रतीक्षा गरिरहेको एउटा मोड मेरो खेलजीवनमा आइपुगेको छ । धेरैको डर थियो, मैले कहिले पनि नेपालका लागि खेल्न पाउने छैन भनेर । तर म आफैं कहिले पनि निराश भइनँ, न त हरेस खाएँ । लगातार मिहिनेत गरिरहें र मलाई लाग्थ्यो, कुनै न कुनै दिन यस्तो अवसर पक्कै आउँछ । जति बेला आयो, त्यसको खुसी बयान गर्न सक्दिनँ ।’

Inside Article Ads

उनी सन् २०११ मा पहिलोपल्ट नेपाली राष्ट्रिय टिममा परेका थिए, जति बेला नेपालले काठमाडौंमै एसियाली विश्वकप छनोटको पहिलो चरण खेलेको थियो । त्यतिबेला इस्ट टिमोर दुवै लेगको खेल खेल्न काठमाडौं आएको थियो र प्रशिक्षक थिए, ग्राहम रोबर्टस । यी इंग्लिस प्रशिक्षकले घोषणा गरेको २४ सदस्यीय टिममा चार गोलरक्षक थिए, पहिलो किरण चेम्जोङ, दोस्रो विकास मल्ल र तेस्रो रितेश थापा र चौथो यिनै विशाल । संयोग कस्तो भने विकास अहिलेको राष्ट्रिय टिममा गोलरक्षक प्रशिक्षक छन् । विशालले केही नभए पनि १० वर्ष २ महिना कुरे, डेब्युका लागि । उनी टिममा अधिकांश समय पर्थे, तर उनको काम खालि बेन्च तताउने मात्र रह्यो । इस्ट टिमोरविरुद्धको दोस्रो खेल किरणको आफ्नो खेलजीवनको नेपालका लागि आठौं खेल मात्र थियो । संयोग कस्तो भने जति बेला उनी ७४ औं ‘क्याप’ जितेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भइरहेका थिए, त्यही दिन विशालले डेब्युको अवसर पाए । तर यो बेजोड रह्यो, अनुपम रह्यो । सबैभन्दा ठूलो ‘इमोसनल’ रह्यो, खुसीको आँसु दिने खालको ।

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.