Fast Nepal News

समापनको पूर्वसन्ध्यामा बढ्यो घरजग्गा एक्स्पोको चहलपहल

अफरमा सर्वसाधारणको आकर्षण

banner single news

काठमाडौं, असोज ३ । भृकुटीमण्डपमा विहिवारदेखि चलिरहेको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ आइतबार समापन हुँदैछ । समापनको पूर्वसन्ध्यामा शनिबार प्रदर्शनीस्थलमा सर्वसाधारणको चहलपहल बढेको छ । घर तथा जग्गा खरिदबारे बुझ्न आउनेसँगै निर्माण सामग्री, पेन्ट्स, इन्टेरियर, प्रिफ्याब र आवाससम्बन्धी सेवाका स्टलमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित असोज १ गतेदेखि सुरु भएको प्रदर्शनीमा घरजग्गा खरिद–बिक्रीसँगै घर निर्माण र सजावटका सामग्री तथा प्रविधिबारे जानकारी र परामर्श दिने व्यवस्था गरिएको छ । चारदिने प्रदर्शनीमा एक सयभन्दा बढी स्टल राखिएका छन् ।
प्रदर्शनी सुरु भएको पहिलो दिनदेखि नै सर्वसाधारणको चासो बढेको र जग्गा तथा आवासको बुकिङ्ग हुन थालेको प्रदर्शनमा रहेका घरजग्गा व्यवसायीहरुले बताए । बुकिङ्गका साथै अधिक चासो र सोधपुछ भएको अनुभव स्टलमा रहेका व्यवसायीहरुको छ ।
यसले केही वर्षदेखि सुस्त रहेको घरजग्गा बजारमा सर्वसाधारणको रुचि पूर्ण रूपमा हराएको नभई मूल्य, कर्जा सुविधा र खरिदका अवसरअनुसार माग खोजिरहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ । एक्स्पोमा व्यवसायीले यही मनोविज्ञानलाई लक्षित गर्दै घर तथा जग्गामा छुटदेखि वित्तीय सुविधा र अन्य प्रोत्साहनसम्मका योजना अघि सारेका छन् ।
प्रदर्शनीमा घर तथा जग्गा खरिदमा १० देखि २५ प्रतिशतसम्म छुटका योजना सार्वजनिक गरिएका छन् । गुरु ग्रुपले धुलिखेलमा निर्माण गर्न लागेको पाँच आना क्षेत्रफलमा आधारित भिल्लाको मूल्य छुटपछि ७७ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै, काठमाडौंको टोखामा निर्माण हुने तीन बेडरुमको घर प्रदर्शनी अवधिमा बुकिङ गर्ने ग्राहकलाई १ करोड ४० लाख रुपैयाँमा उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ । सामान्य मूल्य १ करोड ५० लाख रुपैयाँ रहेको उक्त घरमा प्रदर्शनी अवधिमा बुक गर्दा १० लाख रुपैयाँ छुट हुने बताइएको छ ।
काठमाडौं बाहिरका परियोजनाले पनि उपत्यकाका ग्राहक तान्ने प्रयास गरिरहेका छन् । धनगढी–अत्तरिया, भरतपुर र पोखराका डेभलपरले तुलनात्मक रूपमा सस्तो जग्गा, किस्ताबन्दी तथा फाइनान्स सुविधासहितका परियोजना प्रदर्शनीमा ल्याएका छन् । धनगढी–अत्तरिया क्षेत्रमा रहेको स्वागतनगर ग्रान्ड सिटीले एक्स्पो अवधिमा जग्गा खरिदमा १० प्रतिशतसम्म छुट र ५० प्रतिशतसम्म फाइनान्स सुविधा दिने जनाएको छ । भरतपुरका परियोजनामा पनि कम मूल्यका प्लटलाई मुख्य आकर्षण बनाइएको छ ।
एक्स्पोमा घर तथा जग्गाको मूल्यमा दिइएको छुटसँगै निर्माण सामग्रीका अफरले पनि अवलोकनकर्ताको ध्यान खिचेको छ । विशेषगरी दसैं नजिकिँदै गर्दा पेन्ट्स कम्पनीहरूले छुट, पुरस्कार र नयाँ उत्पादनसहित ग्राहक आकर्षित गरिरहेका छन् ।
होमल्यान्ड पेन्ट्सले दसैंलाई लक्षित गर्दै रङमा ५० प्रतिशतसम्म छुट दिएको छ । कम्पनीले नयाँ प्रविधिबाट उत्पादित रङसँगै सही तरिकाले पेन्ट्स प्रयोग गर्ने विषयमा समेत जानकारी दिने जनाएको छ ।
जस्मिन पेन्ट्सले ७५ हजार रुपैयाँ बराबरको रङ खरिद गर्ने ग्राहकका लागि लक्की ड्रमार्फत पाँच दिन लन्डन भ्रमणको अवसरसहित विभिन्न पुरस्कार योजना ल्याएको छ । कम्पनीका अनुसार एक जनालाई लन्डन भ्रमण, पाँच जनालाई वासिङ मेसिन, ३५ जनालाई प्रेसर कुकर, १३५ जनालाई मिक्स्चर जार, १७५ जनालाई हट वाटर केटल र ७५० जनालाई भित्ते घडी दिने योजना छ ।
एसियन पेन्ट्सले पनि नयाँ उत्पादन तथा सेवासहित छुटको योजना ल्याएको छ । कम्पनीले १ लाख २५ हजार रुपैयाँको खरिदमा १० हजार रुपैयाँ छुट, १२ वर्षको वारेन्टी भएको वाटरप्रुफ उत्पादन तथा घरमा रङ लगाउँदा विशेषज्ञ पेन्टरसहितको सेवा उपलब्ध गराउने जनाएको छ ।
घर निर्माणमा नयाँ प्रविधि खोजिरहेका ग्राहकका लागि प्रिफ्याब घरसमेत आकर्षण बनेको छ । दुई कोठा र किचेनसहितको प्रिफ्याब घर फाउन्डेसनबाहेक १० लाख रुपैयाँ तथा फाउन्डेसनसहित १२ लाख रुपैयाँमा निर्माण गर्न सकिने प्रस्ताव एक्स्पोमा राखिएको छ । बाढी प्रभावित परिवारको पुनर्वासमा समेत यस्तो प्रविधि प्रयोग गर्न सकिने आयोजकको भनाइ छ ।
प्रदर्शनी केवल घरजग्गा किनबेचमा केन्द्रित नभई सुरक्षित आवास र विपद् उत्थानशील निर्माणको बहसको थलोसमेत बनेको छ । शनिबार सुरक्षित भू–उपयोग, व्यवस्थित बस्ती र विपद् उत्थानशील पूर्वाधारबारे प्राविधिक छलफल भएको छ । विज्ञहरूले जथाभावी सडक तथा बस्ती निर्माणले विपद्को जोखिम बढाइरहेको भन्दै सुरक्षित भूभाग पहिचान गरेर मात्रै बस्ती विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
एक्स्पोमा घरजग्गा व्यवसायीले बिक्रीका अवसरसँगै नीतिगत समस्या पनि उठाएका छन् । हदबन्दी, कित्ताकाट र कर्जाको पहुँचलाई घरजग्गा क्षेत्रको प्रमुख समस्या भन्दै व्यवसायीले नीतिगत सुधारको माग गरेका छन् ।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल इस्टेट कम्पनीलाई हदबन्दीमा छुट, घरजग्गा कर्जाको लोन–टु–भ्यालु रेसियो ८० प्रतिशत पुर्‍याउने तथा निश्चित सीमासम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने माग अघि सारेका छन् ।
समापनको दिन आइतबार पनि सर्वसाधारणले घर, जग्गा, अपार्टमेन्ट, निर्माण सामग्री तथा विभिन्न छुट र अफरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । आयोजकले घर बनाउने वा खरिद गर्ने योजनामा रहेका सर्वसाधारणलाई प्रदर्शनीमा आएर विभिन्न परियोजना, मूल्य, वित्तीय सुविधा र निर्माण प्रविधिबारे तुलना गरेर निर्णय लिन आग्रह गरेको छ ।
असोज १ गतेदेखि सुरु भएको प्रदर्शनी नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको सहआयोजनामा भइरहेको हो । प्रदर्शनीमा हाउजिङ तथा अपार्टमेन्ट, जग्गा विकास आयोजना, बैंक तथा वित्तीय संस्था, बीमा, निर्माण सामग्री, सिमेन्ट, स्टिल, पेन्ट्स, सेनिटरी, इन्टेरियर, सौर्य ऊर्जा, प्रिफ्याब, यूपीभीसी तथा अन्य आवाससम्बन्धी व्यवसाय सहभागी छन् ।
चार दिनको एक्स्पोले एकातर्फ घरजग्गा बजारमा कारोबारको सम्भावना खोजिरहेको व्यवसायीलाई ग्राहकसँग प्रत्यक्ष जोडेको छ भने अर्कोतर्फ सर्वसाधारणलाई एउटै स्थानमा घर, जग्गा, निर्माण सामग्री, प्रविधि र वित्तीय सुविधाबारे जानकारी लिने अवसर दिएको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.