
सुमित्रा भुजेल
बेँसीशहर ,बिरामी अवस्थामा उद्धार गरिएको चितुवा डिभिजन वन कार्यालय लमजुङको परिसरबाटै पिँजडा भत्काएर फुत्किएपछि वन्यजन्तु उद्धार तथा स्थानान्तरणको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। चितुवालाई अर्को पिँजडामा सार्ने क्रममा वनरक्षक घाइते भएका छन् भने चितुवा रातभर कार्यालय परिसरमै रहेपछि बेँसीशहर बजार क्षेत्रमा त्रास सिर्जना भएको थियो।
बेँसीशहर नगरपालिका–११ चितीको तिलाहार–कार्कीडाँडा सडकअन्तर्गत धङ खोलामा बिहीबार दिउँसो अशक्त अवस्थामा भेटिएको चितुवालाई स्थानीय, प्रहरी र वन कर्मचारीको टोलीले उद्धार गरेको थियो। करिब साढे ३ बजे उद्धार गरिएको चितुवालाई अपराह्न डिभिजन वन कार्यालय ल्याएर कास्कीको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्र पठाउने तयारी गरिएको थियो।
तर कार्यालय परिसरमै चितुवालाई अर्को पिँजडामा सार्ने क्रममा उसले पिँजडा भत्काएर भागेको हो।
‘बिरामी छ’ भन्दै जोखिम कम आँकियो
डिभिजन वन कार्यालय लमजुङका प्रमुख शिव श्रेष्ठले चितुवा अशक्त अवस्थामा रहेकाले जोखिम कम हुने अनुमान गरिएको बताए।
‘पिँजडामा थियो, बिरामी अवस्थामा पनि थियो। हामीले सामान्य ठानेका थियौँ, त्यहीँ यस्तो घटना भयो,’ उनले भने।
तर घटनापछि उद्धार गरिएको वन्यजन्तुको जोखिम मूल्यांकन, पिँजडाको मजबुती, स्थानान्तरणको विधि तथा कर्मचारीको सुरक्षाका लागि अपनाइएको तयारीमाथि प्रश्न उठेको छ।
चितुवाको आक्रमणमा वनरक्षक घाइते
चितुवालाई सार्ने क्रममा नजिकै रहेका ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङमाथि चितुवाले आक्रमण गरेको थियो। आक्रमणबाट उनको देब्रे हात र अनुहारमा चोट लागेको छ। उनको प्रदेश अस्पताल बेँसीशहरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
रातभर कार्यालयमै त्रास
पिँजडा भत्काएर फुत्किएको चितुवा रातभर डिभिजन वन कार्यालय परिसरमै रहेको थियो। चितुवा बजार क्षेत्रमा प्रवेश गर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै कार्यालयमा प्रहरी परिचालन गरिएको थियो। कर्मचारीलाई समेत कार्यालयभित्रै बस्न भनिएको थियो।
बिहान नियन्त्रणमा लिएर पोखरा पठाइयो
शुक्रबार बिहान पचभैयास्थित उद्धार केन्द्रबाट आएको प्राविधिक टोली र प्रहरीको सहयोगमा चितुवालाई पुनः नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले बताए। नियन्त्रणमा लिएपछि चितुवालाई पोखरा पठाइएको छ।
घटनाले उद्धार गरिएको वन्यजन्तुलाई सुरक्षित रूपमा नियन्त्रणमा राख्ने र एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्ने क्रममा कति प्रभावकारी सुरक्षा तयारी गरिएको थियो भन्ने गम्भीर प्रश्न उठाएको छ। विशेषगरी प्रयोग गरिएको पिँजडा, स्थानान्तरणको निर्णय, नियन्त्रणका क्रममा अपनाइएको विधि र वन कर्मचारीलाई उपलब्ध गराइएको सुरक्षा उपकरणबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ।
