
काठमाडौं — २६ श्रावण २०७८
काठमाडौं , एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्रमुख प्रायोजकमा बजाज पल्सर मोटरसाइकल आएको छ । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा र एभरेस्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै पक्षले सम्झौताको आर्थिक पक्षबारे केही खुलाएका छैनन् । यसअघि टीभीएस ईपीएलको प्रमुख प्रायोजक थियो । ईपीएलमा ६ फ्रेन्चाइज टोली विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गरिरहेका छन् । असोज ९ देखि ईपीएलको तेस्रो संस्करण हुने तालिका छ ।‘बजाज पल्सर स्पोर्टस ब्रान्ड हो,’ एनएसजेएफ स्पोर्टस अवार्ड, जावलाखेल युथ क्लब, त्रिभुवन आर्मी क्लब, सहिद स्मारक ‘ए’ डिभिजन लिग, त्रिकोणात्मक ट्वान्टी–२० सिरिज ( नेपाल, नेदरल्यान्ड्स र मलेसिया) मा बजाज पल्सर मुख्य प्रायोजक रहेको इंगित गर्दै अध्यक्ष गोल्छाले भने ।
आफूहरू खेलकुद प्रवर्द्धन गर्न लागिपरेको जनाउँदै उनले भने, ‘कोरोना महामारीको असर सबैतिर छ, तर गतिविधिहरू पनि रोक्नुहुन्न र जारी नै राख्नुपर्छ । यसलाई गम्भीर रूपमा लिनुपर्छ र आफ्नो क्षमता पनि बढाउनुपर्छ । खेलकुदले क्षमता अभिवृद्धि गर्ने पनि हो ।’उनले ईपीएलले ठूलो सफलता पाउने विश्वास लिँदै त्यसैका आधारमा लामो समय ईपीएलसँग सम्बन्ध बढाउन सकिने प्रस्ट्याए । ईपीएलका प्रमुख अख्तरले भने बजाज पल्सरसँग ३ वर्षको प्रायोजन गर्न लागेको बताए । ठूलो कम्पनीका साथमा टेस्ट नखेल्ने राष्ट्रबीच यो सबैभन्दा ठूलो फ्रेन्चाइज लिग बनाउने उद्देश्यमा आफूहरू रहेको अख्तरले बताए । उनले प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गर्न लागिएको जनाए बताए पनि कति रकम भनरे खुलाएनन् ।
सन् २०१६ मा वेस्ट इन्डिजलाई विश्व ट्वान्टी–२० को उपाधि दिलाउन प्रमुख भूमिका खेलेका कार्लोस ब्रेथवेट र पाकिस्तानका पूर्व कप्तान सोएब मलिकले ईपीएलमा खेल्ने भएका छन् । सोमबार पत्रकार सम्मेलनमै ईपीएल प्रमुख अख्तरले यसको पुष्टि गरेका हुन् । तर उनीहरूले कुन टोलीबाट खेल्ने हो त्यो भने फ्रेन्चाइज टोलीले नै घोषणा गर्ने बताए ।भारतमा ५ वर्षअघि भएको ट्वान्टी–२० विश्वकपको फाइनलमा ब्रेथवेटले इंग्ल्यान्डका बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गर्दै नाटकीय रूपमा वेस्ट इन्डिजलाई उपाधि दिलाएका थिए ।
वेस्ट इन्डिजबाट ३ टेस्ट, ४४ एकदिवसीय अन्तर्राष्ट्रिय र ४१ ट्वान्टी–२० अन्तर्राष्ट्रियका अनुभवी ३३ वर्षे ब्रेथवेटले इन्डियन प्रिमियर लिग, बिगबाससहितका विश्वका अन्य फ्रेन्चाइज लिग खेल्दै आएका छन् ।मलिक पनि विश्वका धेरै फ्रेन्चाइज लिग खेल्ने खेलाडीमा पर्छन् । ३९ वर्ष उनले पाकिस्तानबाट झन्डै ४ सय ५० अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका छन् । पाकिस्तानकै साहिद अफ्रिदीले काठमाडौं किंग्स–११ र डानिस अजिजले चितवन टाइगर्सबाट ईपीएलमा प्रतिस्पर्धा गर्दैछन् ।
(कान्तिपुर दैनिक)
