Fast Nepal News

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य

banner single news

काठमाडौं – फागुन २२

काठमाडौं, नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।

समूहले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो। संसदीय दलको नेता चयन भएपछि दाहालले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताए। ‘बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रूपमा चयन गर्नुभएको छ। यसलाई मैले चुनौतीको रूपमा लिएको छु। आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ’, दाहालले बैठकपछि भने। उनले अहिले नै प्रधानमन्त्री बन्ने हतार नभएको र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताए। ‘अहिले हामी छलफलमै छौं। संसद् विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ। छलफलमा छौं, एक–दुई दिनमा टुंगो लाग्छ,’ दाहालले भने। अविश्वास प्रस्तावसम्बन्धमा दाहाल–नेपाल समूह कांग्रेसको निर्णय कुरेर बसिरहेको छ।

Inside Article Ads

शुक्रबारको संसदीय दलको बैठकमा १ सय ११ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ। ‘अहिले एक सय ११ जना सांसदको हस्ताक्षर भएको छ। चारजना अझै आउँदै हुनुहुन्छ’, सांसद यज्ञराज सुनुवारले भने। उनका अनुसार संसदीय दलमा बहुमत पुगेकाले संसदीय दलको नेतामा दाहाललाई चयन गरिएको हो।

दाहाल–नेपाल समूहले संसदीय दलमा समेत बहुमतमा नरहेका प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने जनाएको छ। तर ओलीले राजीनामा दिने पक्षमा नभएपछि दाहाल–नेपाल समूहले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यको प्रस्ताव गरेको छ। जनता समाजवादी पार्टीले सहयोग गर्ने जनाए पनि कांग्रेसले निर्णय गरिसकेको छैन।दाहालले भावी प्रधानमन्त्रीको विषय एक–दुई दिनमा टुंगो लाग्ने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.