Fast Nepal News

क. पुष्पलालको स्मृति दिवस र नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान

banner single news

 

महेन्द्रप्रकाश सिवाकोटी

मानिसहरू यो संसारमा जन्मन्छन् र आफ्नो राष्ट्रका लागि केही विशेष योगदान दिन्छन् । उनीहरूले आफ्नो सम्पूणर् जीवन मातृभूमिको सेवामा समर्पित गर्छन् र कहिल्यै विलासी जीवनको अपेक्षा गर्दैनन् । यस्ता महान व्यक्तित्वहरूमध्ये एक थिए कमरेड पुष्पलाल, जसले आफ्नो जीवनभर देश र जनताको सेवा गरे । उहाँका लागि देश र जनताको स्वतन्त्रता, लोकतन्त्र र प्रजातन्त्र नै सबैथोक थियो; उनले कहिल्यै घाम, पानी, सुख र आफ्नो परिवारको कुरा गरेनन् । उहाँको यस्तै बलिदानको कारणबाट आज हामी उहाँलाई नेपाली राजनीतिमा एक महान व्यक्तित्वको रूपमा लिने गर्दछौ । उहाँको त्याग र समर्पण आज पनि सबैका लागि प्रेरणाको स्रोत बनिरहेको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनका आरम्भकर्ता कमरेड पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा भएको थियो । उहाँका बुबाको नाम भक्तलाल र आमाको नाम तुलसीमाया थियो । शहीद गंगालालको भाइ कमरेड पुष्पलाल, परिवारको माइलो छोरो हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथि ‘कू’ गरेपछि भारत निर्वासित हुनु भएको थियो । निर्वासनकै क्रममा उहाँ गम्भीर रूपमा विरामी हुनुभयो । उपचारकै क्रममा वि.सं. २०३५ साल साउन ७ गते भारतस्थित नयाँ दिल्लीमा उहाँको निधन भयो । नेपालका कम्युनिष्ट र नेपाली काङ्गे्रस मिलेर संयुक्तरूपमा जनआन्दोलन गरेमा नेपालमा प्रजातन्त्रको बहाली हुन्छ भन्ने उहाँको विचार थियो । आज पनि कमरेड पुष्पलालको विचारलाई विश्लेषण गरेर भन्ने हो भने नेपालका कम्युनिष्ट र नेपाली काङ्ग्रेस दुवै मिलेर जनताको भावना अनुरूपको समृद्ध नेपाल निर्माण गर्न अगाडि बढ्ने हो भने मुलुकले निश्चय नै विकासको ठूलो फड्को मार्नेछ । देश समृद्ध हुनेछ र नेपाली जनता सुखी हुनेछन् ।
नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरूष हुनुहुन्थ्यो- पुष्पलाल ! नेपाली कम्युनिष्ट राजनीतिमा उहाँको उपस्थिति र भूमिकाले नै नेपालमा कम्युनिष्ट पार्टी स्थापना र उक्त संगठन विस्तारका लागि उत्प्रेरकको भूमिका निर्वाह भएको थियो । क. पुष्पलालको परिवार राजनीतिक रूपमा अपरिचित थिएन । उनका सहोदर दाजु गंगालाललाई २२ वर्षको कलिलो उमेरमा राणा शासकहरूले गोली हानेर हत्या गरेका थिए । यसरी सानैदेखि राजनीतिक परिवेशमा हुर्केका र आफ्नै अगाडि दाजु गंगालालको छातीमा निरङ्कुश राणाहरूले गोली हानी हत्या गरेको अवस्था अनि घरमा भइरहने राजनीतिक जमघट र गतिविधि किशोर पुष्पलालका लागि प्रेरक घटना बनेका थिए । दाजु गंगालालले आफ्नो हत्या हुनुभन्दा अघि “आफूले गर्न नसकेको प्रजातन्त्रको स्थापनाको कार्यभारलाई तिमीले गाउँको कुनाकुनासम्म पुर्याउनु” भन्ने सन्देशलाई उनले जीवनभरि निभाइरहे । यसरी गङ्गालाललाई शोभाभगवतीमै हत्या गरेकै दिनमा क. पुष्पलालले नेपालबाट पारिवारिक राणा र सामन्ती सत्ताको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूणर् गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गरेका थिए ।

कम्युनिष्ट पार्टीको स्थापना
वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघमा रहेका सदस्यले आ-आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम बनाएका थिए । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका सीपमूलक तालीम दिने गरिन्थ्यो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउन पुष्पलालले भित्रभित्रै नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ’जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो । त्यस्तै २००४ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व क. पुष्पलाल, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो ।
माक्र्सवाद-लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा क. पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो, जसका संस्थापक सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ आदि थिए ।

कम्युनिष्ट पार्टीको घोषणापत्र
क. पुष्पलालले नेपालमा कम्युनिष्ट विचारधाराको व्यापक प्रचार-प्रसार गर्न कार्ल माक्र्स र फेडरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणा-पत्र’ नेपाली भाषामा अनुवाद गर्नुभयो । सो घोषणा पत्र माक्र्सवादी विचारको नेपाली भाषामा पहिलो साहित्य हो । २००६ साल बैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको आवश्यकता छ भन्ने महसुस गरी नेपाल कम्युनिष्ट पार्टी स्थापनार्थ संगठन समितिको गठन आफ्नो नेतृत्वमा गर्नुभएको थियो, जसका सदस्यहरूमा गोविन्द निरन्जन वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । यस संगठन समितिले २००६ साल भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रका साथ विधिवत् नेपाल कम्युनिष्ट पार्टीको घोषणा गर्यो । पार्टी स्थापना भएपछि विस्तारै कम्युनिष्ट पार्टीको सदस्यमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, डि.पी. अधिकारी, शैलेन्द्र कुमार उपाध्याय, हिक्मतसिंह भण्डारी, केशरजङ्ग रायमाझी आदि जोडिनु भयो ।
२००८ सालमा पुनः कलकत्ताको एक धर्मशालामा कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन भयो । नेपालको आधुनिकीकरणका लागि ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक कार्यक्रम पास भयो । यही बैठकले नेपालमा नयाँखाले पुँजीवादी जनवादी क्रान्ति गर्नुपर्ने आवश्यकतालाई जोड दियो जसलाई नयाँ जनवादी कार्यक्रमको संज्ञा दिइएको थियो । क्रान्तिपछि राज्यको स्वरूप नयाँ जनवादी गणतन्त्र हुने घोषणा गरिएको थियो । यसले नयाँ जनवादी गणतन्त्रमा सामन्तवाद-साम्राज्यवाद विरोधी सबै दलहरूलाई प्रतिस्पर्धात्मक छुट दिने र राज्यको आर्थिक व्यवस्था समाजवादोन्मुख हुने र निजी र सरकारी दुवै क्षेत्रको सहकार्यमा समाजवादको निर्माण गर्ने र प्रेस स्वतन्त्रता, बोल्ने, लेख्ने, सम्पत्ति आर्जन गर्ने र सबैप्रकारका मौलिक हक हुने कार्यक्रम ल्याएको थियो । त्यस्तै स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरिएको थियो । त्यस्तै क्रान्तिकारी भूमिसुधार लागू गर्ने, जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी, गाँस, बास र कपासको अनिवार्य व्यवस्था राज्यले गर्नुपर्ने आदि महत्वपूणर् कुरा यसमा उल्लेख गरिएका थिए ।

समाज अध्येता पुष्पलाल
आफ्ना समकालीन नेताहरूभन्दा फरक पुष्पलाल राजनीतिक कर्महरूमा मात्र सीमित हुनुभएन । उहाँले नेपाली समाजको अध्ययन गर्ने, नेपाली इतिहासलाई माक्र्सवादी-भौतिकवादी दृष्टिकोणले केलाउने र त्यसको आधारमा नेपाली क्रान्तिको कार्यक्रम तय गर्ने ऐतिहासिक जिम्मेवारी वहन गर्नुभयो । नेपाली समाजको विश्लेषणको क्रममा पुष्पलाल नेपाली समाज अर्धसामन्ती र अर्ध-औपनिवेशिक रहेको निष्कर्षमा पुग्नुभएको थियो । २०२५ को तेस्रो सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम पारित गर्दा उहाँ दीर्घकालीन सशस्त्र किसान क्रान्ति संघर्षमार्फत् नयाँ जनवाद स्थापना गर्नुपर्ने निष्कर्षमा पुग्नुभएको थियो ।

समग्रमा कमरेड पुष्पलालको नेपालको राजनीतिक परिदृश्यमा गरेको योगदानलाई हेर्दा निम्नानुसार चर्चा गर्न सकिन्छ ः
सामाजिक न्याय र प्रजातन्त्रमा जोड
उहाँले नेपाली समाजमा पूणर् प्रजातान्त्रिक (जनवाद) मूल्य र मान्यताको स्थापना र सामाजिक न्यायका लागि जीवनभर आन्दोलनमा होमिनु भयो । उहाँ जहिले पनि श्रमिको हित र विशेष गरेर समाजको पिछडिएको वर्गको हितको बारेमा सोच्ने गर्नुहुन्थ्यो ।

सशक्त राजनीतिक नेतत्व
२००७ सालको क्रान्तिकालमा त्रिपक्षीय दिल्ली सम्झौता (राजा, राणा, भारतबीच भएको) विरूद्ध क. पुष्पलालले नेतृत्व गर्नुभई राष्ट्रीयताको पक्षमा संघर्ष चलाउनु भयो । त्यो संघर्षले नेपालमा कम्युनिष्ट आन्दोलनका लागि पर्याप्त सहयोग पुर्यो । यसबाट यो प्रष्ट हुन्छ कि क. पुष्पलालको नेतृत्वको क्षमता अतुलनीय थियो भन्ने बुझिन्छ । त्यतिबेलाको नेपाली समाजमा एउटा उदाउँदो चम्किलो नेताको रूपमा आफ्नो छवी स्थापना गर्नुभएको थियो । उहाँमा सशक्त नेतृत्वदायी क्षमता थियो । उहाँ समाज परिवर्तनको प्रवर्तक हुनुहुन्थ्यो । उहाँले राणा विरोधी आन्दोलन, प्रजातान्त्रिक सुधार र निरंकुश शासनको अन्तका लागि सशक्त नेतृत्व गर्नुभएको थियो ।

Inside Article Ads

बौद्धिक योगदान
उहाँको बौद्धिकता उहाँले लेखेका माक्र्सवाद र समाजवादसँग सम्बन्धित लेखकहरूबाट झल्कन्छ । प्रगतिशील बुद्धिजीवि सम्मेलनमा दिएको भाषण, नेपालमा मातृसत्तात्मक समाज, नेपालमा राजतन्त्रको उत्पत्ति विकास र यसको भविष्य (अन्त्य), नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकताका साथै उहाँले ‘कम्युनिष्ट पार्टीको घोषणा-पत्र’ नेपाली भाषामा अनुवाद गर्नुभएको थियो; जुन त्यतिबेलाको नेपाली समाजका लागि अत्यन्तै सराहनीय कार्य थियो । साथै नेपाल कम्युनिष्ट पार्टीको घोषणा-पत्र पनि उहाँले नै लेख्नुभएको हो । यी आदि बौद्धिक योगदानहरू उहाँका निधी हुन् । त्यस्तै उहाँका लेख-रचनाहरू नेपाली माटो सुहाउँदो हुने गर्दथ्यो र विशेष गरेर नेपाली नागरिकहरूलाई शिक्षित र जागरूक गर्ने खालको हुन्थ्यो । आज पनि धेरै कम्युनिष्ट नेताहरू उहाँलाई आफ्नो जीवनको प्रेरणा मान्दछन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध
अन्तर्राष्ट्रिय समाजवादी र कम्युनिष्ट आन्दोलनहरूसँग क. पुष्पलालको सम्बन्ध उहाँको सम्मेलन र विदेशी नेताहरूसँगको आदान-प्रदानमा देख्न सकिन्छ । उदाहरणका लागि, उहाँले मस्को र बेइजिङका सम्मेलनहरूमा भाग लिनुभएको थियो । विश्वका शोषित, उत्पीडित जनताको पक्षमा संघर्षरत पार्टीहरूसँग उहाँको सम्बन्ध र ऐक्वद्धता थियो । जसमा उहाँले नेपाली समाजको समाजवादी विचारधारा र सामाजिक परिवर्तनका लागि रणनीतिहरूबारे समेत चर्चा गर्न चुक्नुभएको थिएन ।

राजतन्त्रको विरोध र गणतन्त्रको वकालत
क. पुष्पलाल राजतन्त्रको शक्तिको प्रखर आलोचक हुनुहुन्थ्यो र नेपालमा गणतन्त्रको वकालत गर्ने पहिलो व्यक्ति क. पुष्पलाल नै हुनुहुन्थ्यो । उहाँले सामन्ती शासनभन्दा जनताको हितलाई प्राथमिकता दिने राजनीतिक संरचनामा विश्वास गर्नुभएको थियो । त्यसैकारण उहाँले नयाँ जनवादी कार्यक्रम नेपाली जनताको एक मात्र मूलबाटो कार्यक्रम नै प्रस्तुत गर्नुभयो ।

राजनीतिक गठबन्धनको गठन
आफ्नो राजनीतिक जीवनकालभर क. पुष्पलालले नेपालमा पूणर् प्रजातन्त्र (जनवाद) र समाजवादको आन्दोलनलाई बलियो बनाउन सामन्तीवाद इतर-शक्तिहरूको गठबन्धन बनाउने काम गर्नुभयो । उहाँ नेपाली जनताको उत्थान, सामन्ती शासनको अन्त र गणतन्त्रको स्थापनाका लागि नेपालका सबै सामन्तीवाद इतर-शक्तिहरूको राजनीतिक पार्टीहरूमा कार्यगत एकताको पक्षमा हुनुहुन्थ्यो । त्यही अनुरूप उहाँले टंकप्रसाद आचार्यले नेतृत्व गरेको प्रजापरिषद्समेतको जातीय जनतान्त्रिक मोर्चा बनाउनदेखि सामन्तवाद इतर अन्य राजनीतिक दलहरूलाई पनि संयुक्त आन्दोलनमा हिस्सा लिन उत्प्रेरणा गर्नु भएको थियो ।

भावी पुस्तामा प्रभाव
क. पुष्पलालका विचार र सिद्धान्तले नेपालको राजनीतिक बहसलाई आज पनि निरन्तर प्रभाव पारिरहेको छ । अबको नेपाली जनताको मुक्तिमार्ग क. पुष्पलालको सिद्धान्त र नीति बाहेक अर्को विकल्प छँदैछैन । आगामी पुस्ता र राजनीतिककर्मीहरू लागि सामाजिक परिवर्तन र प्रगतिको दिशामा अग्रगतिमा बढ्न चाहनेहरूले क. पुष्पलालको सिद्धान्त र नीतिलाई प्रेरणा तथा मार्गदर्शनको स्रोतको रूपमा लिनु अत्यावश्यक छ ।

उपसंहार
समग्रमा नेपालको राजनीतिक र वैचारिक परिदृश्यमा पुष्पलालको योगदान गहिरो र दूरगामी छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यहरूमध्ये एक र समाजवादी सिद्धान्तहरूको प्रखर अधिवक्ताको रूपमा, क. पुष्पलालले सामाजिक कल्याण, आर्थिक समानता र श्रमिक वर्गको अधिकारको वरिपरि केन्द्रीत राजनीतिक बहसका लागि आधार तयार पार्नुभएको थियो । श्रमिकवर्गको अधिकार र सामाजिक न्यायमा केन्द्रीत उनको प्रारम्भिक सक्रियताले निष्पक्ष र समतामूलक समाज खोज्ने धेरै नेपालीहरूको आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित भएको थियो ।
यसबाहेक, क. पुष्पलालको प्रभाव राजनीतिक आन्दोलनहरूमा प्रत्यक्ष संलग्नताकासाथै दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत नेपाली समाजमा वर्गहरूको स्थिति विश्लेषण माक्र्सवादी चिन्तनको आधारमा गर्नुभएको थियो । समाजवाद र नेपालको राजनीतिक परिदृश्यमा लेखिएका लेखहरूसहित उनका बौद्धिक योगदानले युवा कार्यकर्ता र बुद्धिजीवीहरूका लागि मार्गदर्शन गर्ने कार्य गरेको थियो र आज पनि गरिरहेको छ । उहाँले छाडेको विचारधारा आज पनि उत्तिकै सान्दर्भिक र समसामयिक छ ।
आजको सन्दर्भमा क. पुष्पलालको विरासत जीवित र सान्दर्भिक छ । लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक कल्याण र आर्थिक समानताका लागि उनको वकालतले नेपालमा वामपन्थी राजनीतिक दलहरूको नीति र प्राथमिकताहरूलाई आकार दिन ठूलो टेवा पुर्याएको छ । सामाजिक न्याय, समावेशी विकास र लोकतान्त्रिक शासन व्यवस्थाका लागि चलिरहेको आन्दोलनमा उहाँको स्थायी छाप कहिले पनि मेटिने छैन ।

क. पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य हुन पुगेको कुरा सबैले महसुस गरेकै हो । उहाँको योगदानले नेपालको राजनीतिक र सामाजिक संरचनामा अमिट छाप छोडेको छ । उहाँको विरासतले अझ न्यायपूणर्, समतामूलक र पूणर् प्रजातान्त्रिक (जनवाद) समाजका लागि चलिरहेको सङ्घर्षमा एउटा ठूलो कोषेढुंगाको रूपमा कार्य गरेको छ; जसले वर्तमान र भावी पुस्ताहरूलाई आफ्नो जीवनभरि एउटा प्रेरणादायक भूमिका निभाउन र क. पुष्पलाल देखाएको मार्गमा हिड्न सङ्घर्ष गर्दै अगाडि बढ्ने प्रेरक बनोस् ।
संक्षेपमा, कमरेड पुष्पलालको सिद्धान्त, विचार र उहाँले देखाएको मार्गदर्शनमा आज हामी हिडिरहेका छौं या छैनौं आत्मलोचना गर्ने बेला आएको छ । कतै उहाँले देखाएको मार्गलाई बिर्सेर, बिलासितामा रमाउँदै, देश र जनताको आवश्यकतालाई पन्छाएर, आफ्ना वाचाहरू भूलेर ठूला-ठूला महल, महङ्गा गाडी र देश-विदेश शयर गर्ने त भएका छैनौं ? देशमा ठूला-ठूला आन्दोलन भए, राजतन्त्रको बिदाइ भयो, देशमा गणतन्त्र आयो तर पनि जनताका समस्या जहाँको त्यहीँ हुनु, युवाहरू विदेशिनु पर्ने वा पलायन हुनुपर्ने अवस्था रहिरहनुपर्ने हो भने, निश्चय पनि हामी कमरेड पुष्पलालले देखाएको मार्गबाट विचलित भएका छौं भन्दा शायद गलत नहोला । २०४६-०६२/६३ को जनआन्दोलनमा जनताले किन र कसका लागि बलिदान दिए, शहीद भए, लाखौं लाख मानिसहरू घरवारबिहिन भए, लाखौं मानिसहरू विदेश पलायन भए ! यदि अझैपनि यसको लेखाजोखा नगर्ने, सत्ताको हानथापमा मात्र समय बर्बाद गर्ने हो भने, अनि आमजनताका मुद्दालाई थाँतिराखेर नेताहरूले आफू र आफ्नाहरूको बारेमा मात्र सोच्ने हो भने, कमरेड पुष्पलाल, मदन भण्डारी र शहीदका आँशुले तपाईंहरूलाई पनि पिरोल्नेछ र देशमा आँधिहुरी जस्तो बेजोडको आन्दोलन सिर्जना हुनसक्ने कुरालाई समयमै ध्यान पुग्न सकोस् । मुलुक र राष्ट्रियतामाथि विदेशीको आँखा लाग्न नपाओस् । मुलुकको नेतृत्व गर्ने मानिसहरूमा राजनीतिक संस्कार, शिक्षा अध्ययन-अध्यापन पनि हुन सकोस् । यिनै विषयहरूलाई कमरेड पुष्पलालको जन्मशताब्दी तथा स्मृति दिवसको अवसरमा स्मरण गर्दै, सङ्कल्प गर्दै अगाडि बढ्ने बाचा गरियौं भने कमरेड पुष्पलालको जन्मशताब्दी मनाएको पनि सार्थक हुन सक्छ ।
कमरेड पुष्पलालको जीवन र योगदानलाई हेर्दा, हामीलाई एक सच्चा देशभक्तको परिभाषा थाहा हुन्छ । उहाँले आफ्नो सम्पूणर् जीवन राष्ट्र र जनताको हितमा समर्पित गर्नुभयो, स्वतन्त्रता र लोकतन्त्रका लागि अनवरत संघर्ष गर्नुभयो । उहाँको योगदानले नेपाली राजनीतिमा महत्वपूणर् परिवर्तनहरू ल्यायो र आज पनि उहाँको सम्झना प्रेरणादायी छ । पुष्पलाल श्रेष्ठले सिकाएको सन्देश स्पष्ट छ- आफ्नो मातृभूमिको लागि निरन्तर सेवा र त्याग गर्नुपर्छ । उहाँको जीवनीबाट हामीले राष्ट्रिय एकता, स्वतन्त्रता र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने शिक्षा लिन सक्छौं । यसरी, कमरेड पुष्पलाल आफ्नो योगदानले नेपाली समाजमा एक अटल प्रेरणाको स्रोतको रूपमा रहेका छन् ।
(लेखकः सदस्य, पुष्पलाल जन्मशताब्दी समारोह समिति, २०८१)

Visited 128 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.