Fast Nepal News

ओलीका तीन तुरुप, अध्यक्ष छाड्नै परे गौतमलाई दिने तयारी

banner single news

काठमाडौं, पुस ५ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको छ। कात्तिक २८ को सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न र सामूहिक दस्तावेज लेख्न गरेको ओलीको आग्रहलाई दाहालले अस्वीकार गरेसँग दुवै अध्यक्षबीचको सम्बन्ध झन् बिग्रेको हो।

दुई अध्यक्षबीचको छलफल फलदायी नभएपछि प्रधानमन्त्री ओलीले तीन रणनीति सुरु गरेका छन्। नेकपा उच्च स्रोतका अनुसार पहिलो कदमस्वरुप उनले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई साझा राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन्। दोस्रोमा पूर्वएमालेका तर्फबाट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पहिलो अध्यक्षका रुपमा अघि सार्ने र तेस्रोमा ओली, दाहाल दुवैका प्रतिवेदनलाई सन्दर्भ सामग्रीको रुपमा स्वीकार गरी दुवै अध्यक्षका तर्फबाट स्थायी कमिटी बैठकमा सामूहिक प्रतिवेदन पेस गर्ने ओलीको योजना छ।

ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गसिसकेका छन्। ओलीले दाहाललाई कात्तिक २८ मा सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए तर दाहालले अब सकिन्न, त्यो फिर्ता हुँदैन भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेस गर्न आग्रह गरेको स्रोतको दाबी छ। ‘प्रधानमन्त्रीले गृहमन्त्रीलाई सबैलाई मान्य हुने प्रतिवेदन लेख्न आग्रह गरेका हुन्। ‘कोही कसैको पक्षमा लाग्नुपर्दैन, तपाईं पनि सचिवालय सदस्य हो, पार्टी एकतालाई कायम राख्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ’, प्रधानमन्त्रीले थापासँग गरेको आग्रह उद्धृत गर्दै स्रोतले भन्यो।

पूर्वमाओवादी समूहका केही नेतासमेत दुवै अध्यक्षको प्रतिवेदन विस्थापन गरेर साझा प्रतिवेदन ल्याउनुपर्ने पक्षमा रहेको र गौतमलाई अध्यक्ष बनाउँदा खासै विवाद नहुने सुझाव ओलीलाई दिएका कारण ओली पक्षका केही नेता यसको गृहकार्यमा जुटेको स्रोतको दाबी छ। शनिबार बिहान दाहाल निवासमा भएको छलफलमा वामदेव गौतम पनि सहभागी थिए। गौतमले गुट भेलामा सहभागी नहुने तर सामूहिक छलफलमा सहभागी हुने बताउँदै आएका छन्। ‘दुई अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष गौतमलाई पनि बोलाइएको थियो उहाँसँग पनि केही बेर कुराकानी भयो तर कुराकानी लाभदायक भएन’, खुमलटारनिकट स्रोतले भन्यो, ‘उपाध्यक्षले पनि दुई अध्यक्ष मिल्नुस्, पार्टी एकता जोगाउनुस् तर अलि बढी जिम्मेवार प्रधानमन्त्री बन्नुस् भन्नुभयो। कुराकानी त भए तर के के विषयहरू मिलेका छैनन् भन्ने बारेमा चाहिँ छलफल नै हुँदैन।’ बिहान करिब १० बजे खुमलटार पुगेका ओली दुई घण्टापछि बाहिरिएका थिए। खुमलटारमा माधव नेपालको प्रवेशपछि ओली बाहिरिएका हुन्।

Inside Article Ads

प्रधानमन्त्री ओली खुमलटारबाट सीधै मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए। पुल्चोकमा गृहमन्त्री थापासँग केही बेर कुराकानी गरेका ओलीले सबैलाई मान्य हुने साझा प्रतिवेदन ल्याएर पार्टी एकतालाई कायम राख्न आग्रह गरेको स्रोतको दाबी छ। ओली र थापाले कुराकानी गरिरहेका बेला पुल्चोकमा भूमिसुधारमन्त्री पद्मा अर्याल, भौतिक योजना मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि पुगेका थिए। उनीहरूलाई ओलीले दाहालसँगको कुराकानी फलदायी नभएको बताएका थिए। ‘आजको भेट खास उपलब्धिमूलक भएको छैन। स्थायी कमिटीको बैठक चलिरहेको छ। समस्याको समाधान खोज्ने थलो एउटा त्यो पनि हो तर पार्टी सहमतिमा सञ्चालन गर्ने भन्ने उल्लेख छ त्यो सहमति उल्लंघन हुँदै आएको छ’, ओलीले त्यस बेला भनेका थिए। दाहाल–नेपाल समूह ओलीलाई एक पद छोडाउने रणनीतिमा लागेका छन्। तर ओली दुवै पद छाड्ने मनस्थितिमा छैनन्।

ओली शनिबार दिनभरि नै भेटघाटमा व्यस्त रहे। ‘खुमलटारबाट निस्केपछि उहाँ दिनभरजसो व्यस्त हुनुभयो। पार्टी एकतालाई जोगाउन कसरी सकिन्छ भन्ने विषयमा निकै चिन्तित हुनुभयो र गृहमन्त्री तथा अन्य नेतासँगको छलफलमा रहनुभयो’, बालुवाटारनिकट स्रोतले भन्यो। दिनभर नेताहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। उनले दिनभर भएको घटनाक्रमबारे भण्डारीलाई ब्रिफिङ गरेका थिए। -नागरिक दैनिक

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.