Fast Nepal News

तीन दलको बैठक निष्कर्षविहीन

banner single news

१२ फागुन,काठमाडौं- राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच छलफल भएको छ ।

सिंहदरबारमा बिहिबार भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापकरूपमा छलफल गर्‍यौँ, हामीले हाम्रो पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउनका लागि प्रस्ताव पनि गर्‍यौँ तर केही निर्णय हुन सकेको छैन ।” वाम–समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको उहाँको भनाइ छ ।

राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक बसेको हो ।

बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुभएको थियो ।

Inside Article Ads

यसअघि जसपाका अध्यक्ष यादवले उपराष्ट्रपतिको निर्वाचनको सवालमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.