Fast Nepal News

लैनचौर निवासमा सर्न मानेनन् सभामुख

संसद् सचिवालयले नयाँ आउने सभामुखका लागि भनेर लैनचौर निवासलाई तयारी अवस्थामा राखेको थियो, तर नवनिर्वाचित सभामुख देवराज घिमिरेले त्यहाँ बस्न अस्वीकार गरेपछि सरकार बालुवाटारमा सरकारीआवासको व्यवस्थापनमा जुटेको छ

banner single news

१८ माघ, काठमाडौँ-नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित सभामुख निवासमा बस्न अस्वीकार गरेका छन् । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बस्न थालेपछि तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले लैनचौरस्थित सरकारी निवासमा कार्यकाल पूरा गरेका थिए । घिमिरेले लैनचौर सर्न नमानेपछि सरकार बालुवाटारमा सरकारी आवासको व्यवस्थापनमा जुटेको छ ।

सापकोटापछि सभामुख भएका घिमिरेले लैनचौरस्थित सरकारी निवासमा बस्न अस्वीकार गरेका हुन् । बालुवाटारभित्र व्यवस्थापन नहुँदासम्म लैनचौर आवास सरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहरी विकासमन्त्री विक्रम पाण्डेले गरेको अनुरोध नमानेका घिमिरे निर्वाचित भएको दिनदेखि लोकन्थलीस्थित आफन्तको घरमा बसिरहेका छन् ।

५ माघमा सभामुख निर्वाचित भएका घिमिरेका लागि संसद् सचिवालयले लैनचौरस्थित सरकारी निवासलाई रङरोगन तथा मर्मतसम्भार गरेर तयारी अवस्थामा राखेको थियो । सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पहिले सभामुख बसिसकेको लैनचौर निवासमा सर्न अनुरोध गरे पनि घिमिरेले आलटाल गरेका छन् ।

सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारमा सभामुखको निवास व्यवस्थापन हुन केही समय लाग्ने बताए । लैनचौर एउटा विकल्प भए पनि बालुवाटारभित्रै व्यवस्थापन गर्ने प्रयत्न गरिरहेको सचिव आचार्यको भनाइ छ । ‘उहाँको निवास बालुवाटार नै हो । त्यहाँ राष्ट्रिय सभा अध्यक्ष बस्नुभएको रहेछ । उहाँहरूको व्यवस्थापन चाँडै मिलाउँछौँ,’ उनले भने, ‘हामी व्यवस्थापन गर्दै छौँ, सभामुखसँग कुरा भइसकेको छ ।’

उनले सभामुखको निवास राष्ट्रिय सभा अध्यक्षले ओगटेकाले बालुवाटारभित्रकै मुख्यसचिवको निवासलाई सभामुख घिमिरेले प्रयोग गर्ने गरी व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । ‘बालुवाटारभित्रै १८–२० दिनभित्र व्यवस्थापन गर्छाैँ । यसबीचमा सभामुखलाई केही दुःख भएको छ, यसका लागि हामीले क्षमा मागिसकेका छौँ,’ उनले भने । बालुवाटारमा मन्त्रिपरिषद् बस्न प्रधानमन्त्रीले प्रयोग गरिरहेको कक्ष खाली गरेर दिने सहरीको योजना छ ।

संसद् सचिवालय आन्तरिक व्यवस्थापन शाखा प्रमुख त्रिविक्रम पराजुलीले कानुनअनुसार सभामुखको निवास व्यवस्थापन गर्ने दायित्व सहरी विकासको भएको र आफूहरूले ताकेता गरिरहेको बताए । ‘अहिले सभामुख, उपसभामुख र उपाध्यक्ष कसैको निवास छैन । निर्वाचन हुनुभन्दा १५ दिनअघिबाटै सहरी विकास मन्त्रालयलाई ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘सभामुखको निवास १५ दिनभित्र व्यवस्थापन हुन्छ भनेको छ ।’

सभामुख घिमिरेका स्वकीय सचिव देवप्रकाश भट्टराईले हालसम्म निवासको व्यवस्थापन नभएको बताए । ‘सरकारले विभिन्न प्राविधिक समस्याले अलिकति समय लाग्ने भयो, १२–१५ दिनभित्र सभामुखको निवास जहाँ हो त्यहीँ लगेर राख्छौँ भनेको छ,’ उनले भने । सरकारले औपचारिक रूपमा लैनचौर सरिदिन नभनेको र सभामुखकै निवासमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उनले दाबी गरे । ‘अब सभामुखलाई अनौपचारिक वा व्यक्तिगत भेटमा अनुरोध गरेको बेग्लै हो । राज्यले कहाँ व्यवस्थापन गर्ने भन्ने फरक कुरा हो । प्रधानमन्त्री र मन्त्रीभन्दा पनि सहरी मन्त्रालयको सम्बन्धित निकायले प्राविधिक समस्याले केही समय लाग्ने भयो, बालुवाटारभित्रै व्यवस्थापन गर्छाैँ भनेका छन्,’ स्वकीय सचिव भट्टराईले भने ।

Inside Article Ads

पञ्चायतकालमा चिफ अफ प्रोटोकल कार्यालय रहेको लैनचौर निवासमा केही समय काठमाडौं महानगरका तत्कालीन मेयर केशव स्थापित बसेका थिए । त्यसपछि उपराष्ट्रपति निवास बनेको थियो । परमानन्द झादेखि केही समय नन्दबहादुर पुनसमेत बसेका थिए । पुन समाज कल्याण परिषद्छेउको उपराष्ट्रपति भवन सरेपछि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई उक्त भवनमा बसेका थिए । कृष्णबहादुर महरा सभामुखबाट पदमुक्त हुँदा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना हतार–हतार बालुवाटारको निवास सरे ।

केही समयपछि सभामुख चुनिएका सापकोटालाई निवास अभाव भयो । लैनचौरमा बसिरहेका तत्कालीन मन्त्री भट्टराईलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा सारेर सापकोटालाई लैनचौरमा व्यवस्थापन गरिएको थियो ।

उपसभामुख र उपाध्यक्षको निवास भने तयार भइनसकेको सचिव आचार्यले जानकारी दिए । ‘तत्काललाई उहाँहरू बसेको घरको भाडा नियमानुसार उपलब्ध गराउँछौँ,’ उनले भने, ‘भैँसेपाटीमा आवास बन्दै छ । वैशाखभित्र निर्माण सम्पन्न गर्ने प्रयास गरिरहेका छौँ । केही कारणले ढिलाइ भयो भने पनि असार मसान्तसम्म सक्छौँ । त्यसपछि निवास उपलब्ध गराउँछौँ ।’

यसरी आयो समस्या

तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोज ०७६ मा पदबाट राजीनामा दिएर बालुवाटारस्थित सभामुख निवास छाडेका थिए । खाली भएलगत्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सभामुख निवासमा सरेका थिए । राष्ट्रिय सभा अध्यक्ष बसेको भवन प्रधानमन्त्री केपी ओलीले नै प्रयोग गरे । सुरुमा राष्ट्रिय सभा अध्यक्ष प्रधानमन्त्री कार्यालय परिसरसँगैको मुख्यसचिवको निवासमा बस्दै आएका थिए । महरा पदमुक्त भएपछि तिमिल्सिना सभामुख निवास र तत्कालीन प्रधानमन्त्री ओली राष्ट्रिय सभा अध्यक्ष बसेको भवनमा सरे । अध्यक्ष तिमिल्सिनाले सभामुखको निवास नछाडेपछि सापकोटालाई लैनचौरमा व्यवस्थापन गरिएको थियो । कार्यकाल सकिएसँगै सापकोटाले छाडेपछि लैनचौर सरकारी निवास खाली थियो ।

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.