Fast Nepal News

विवेकशील साझालाई पुनर्जीवन दिन्छौँ, सडकबाट प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ:-मिलन पाण्डे

banner single news

१५ माघ, काठमाडौँ -साझा विवेकशील पार्टीको केन्द्रीय अध्यक्ष तथा पूर्व नेता मिलन पाण्डे पुर्न साझा विवेकशील पार्टीमा सक्रिय भएका छन्।

पार्टीमा आन्तरिक विवाद हुँदा तत्कालिन अध्यक्ष रविन्द्र मिश्रले कारवाही गरेको पाण्डे मिश्रले नै पार्टी छोडेपछि फेरि सक्रिय भएका हुन्। प्रेस विज्ञप्ति जारी गर्दै नेता मिलन पाण्डेले आफू पुर्न रूपमा साझा विवेकशील पार्टीमा सक्रिय रहने बताउनुभएको हो। आज साझा विवेकशील पार्टीको नेता मिलन पाण्डेले जारी गरेको प्रेस विज्ञप्ति पढ्नुहोस्।

२०६९ सालमा स्व. उज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले लगभग एक दशक पार गरेको छ। यो बिन्दुसम्म आइपुग्दा वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति, गहिरो सुझबुझ सहितको राजनीति, नयाँ राजनीतिको आवश्यकता र स्पेस थप स्पष्ट देखिएको छ। हामीले यो राजनैतिक परिवर्तनलाई पनि यो अभियानको उपलब्धिका रूपमा लिएका छौँ। डेढ वर्ष अघि हाम्रा एक जना सहकर्मीले संविधानलाई भत्काउने विचार ल्याएपछि मैले समेत नेतृत्व गरिरहेको पार्टीमा दुई वैचारिक धार देखियो। हामीले उक्त विचारलाई त्यतिबेलानै खारेज गर्दै सङ्घर्ष गर्यौँ। उक्त निर्णयको विरुद्ध अदालत गयौँ।

तर, पार्टीको स्थापनाको विचार र मर्मलाई गलत धारमा जान दिएनौँ। हामीले यो वैचारिक द्वन्द्व पार्टीभित्रको द्वन्द्वका रूपमा मात्र हेरिरहेका थिएनौँ, यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावको रूपमा पनि हेरिरहेका थियौँ। उक्त विचार ल्याउने व्यक्तिले पार्टी छाडेर गएपछि, पार्टीमा रहेका साथीहरूले उक्त दस्ताबेज ‘विवादास्पद र घातक’ भन्दै खारेज गरेपछि र उक्त निर्णयलाई बन्दीपुर भेला मार्फत समेत खारेज गरेपछि हामी पार्टीभित्र रहेका साथीहरू बिचको वैचारिक द्वन्द्व समाप्त भएको छ। बन्दीपुर भेलालेनै म लगायत वैचारिक विमति राखेर कारबाही गरिएको साथीहरूको कारबाही फिर्ता गर्ने निर्णय भएसँगै अब पार्टीको मूलभूत वैचारिक समस्या सकिएको छ।

यो निर्णयसँगै हामीले अदालतमा हालेको मुद्दा पनि अब असान्दर्भिक भएको छ। हामी उक्त मुद्दा फिर्ता लिँदै छरिएका साथीहरूलाई एक ठाउँमा ल्याउन अग्रसर भएका छौँ। पार्टीलाई अझ प्रोग्रेसिभ, अझ लोकतान्त्रिक, अझ भविष्यमुखी, थप युवामुखी बनाउनुको विकल्प छैन। विवेकशील साझालाई महिला, दलित, मधेसी, अल्पसङ्ख्यकको पक्षमा वकालत गर्ने पार्टी बनाउन पहल गर्नु नै आजको आवश्यकता हो। यो संविधानलाई सुदृढ गर्दै, थप सुधार गर्दै नागरिकको मुद्दालाई केन्द्रमा राखेर पब्लिक सर्भिस डेलिभरीको राजनीति गर्न हामी अग्रसर हुनेछौँ। हामी न्याय सहित सहभागितामूलक लोकतन्त्र थप संस्थागत गर्न निरन्तर नेतृत्व गर्नेछौँ।

गत एक दशकमा हामीले संस्था निर्माण गर्न, यो आन्दोलनलाई स्थापित गर्न गरेको योगदान र मेहनतलाई अर्को चरणमा पुर्याउन हामी आउँदो माघ २७-२८ गते महाधिवेशन गर्ने तयारीमा जुटेका छौँ। आउँदो महाधिवेशनले विवेकशील साझा पार्टीलाई थप संस्थागत गर्नेछ भन्नेमा म ढुक्क छु। हामीसँग जोडिएका र छुटेका सम्पूर्ण साथीहरूलाई समेटेर अघि बढ्न हामी केहि साथीहरू निरन्तर संवादमा छौँ। साथै, नयाँ व्यक्तिहरू, हामीसँग विचार मिल्ने पार्टीहरूसँग पनि हाम्रो संवाद निकै सकारात्मक हुँदै छ। केहि नतिजाहरू महाधिवेशन अघि, केहि नतिजाहरू महाधिवेशनपछि देखिने नै छ। अब हामीले फेरी हाम्रो पुरानो जिम्मेवारी अर्थात् ‘वाच डग’ को भूमिका निर्वाह गर्नु छ।

Inside Article Ads

आज नागरिकले प्रतिपक्ष खोजिरहेका छन्। तर पाइरहेका छैनन्। त्यो भूमिका फेरी पनि हामीले निभाउनु छ। भूकम्पमा नागरिक सेवामा गरेका काम होस् वा कोरोनामा निभाएको जिम्मेवारी होस् हामी मैदानमा खटिएर कामनै गरेर आएको पार्टी हो। ओम्नी काण्डमा अख्तियारमा मुद्दा हाल्दै, सडक तताउँदै प्रतिपक्ष बनेर होस् वा संसद् विघटन विरुद्ध सडकमा उत्रेर होस् वा लोकमान कार्कीको मुद्दामा निरन्तर खटिएर होस् हामीले सत्तालाई प्रश्न गर्न कहिले छोडेनौँ। वाइड बडी होस् वा ललिता निवास प्रकरणमा विवेकशीलले नागरिकलाई प्रतिनिधित्व गर्न पछि हटेको छैन।

शिक्षाको मुद्दा होस् वा सूचनाको हक मार्फत सुशासनको मुद्दा होस्, विवेकशील विगत एक दशकदेखि निरन्तर प्रतिपक्षका रूपमा उभिएको छ। महिला, दलित, सीमान्तकृत समुदाय, अल्पसङ्ख्यक लगायतको पक्षमा निरन्तर बोलेको छ। लडेको छ। आवाज उठाएको छ। विद्यार्थी, युवा, गृहिणी,उद्यमीको मुद्दामा काम गरेको छ। अब फेरी यही कामलाई निरन्तर अगाडी बढाउँदै थप स्पष्ट र थप सशक्त भएर अघि बढ्ने छौँ।

विवेकशील सदनमा नभएर के भो त, नागरिकको मुद्दाका निम्ति हामीसँग पूरा सडक छ। त्यहीबाट बोल्ने छौँ। त्यहीबाट सिङ्गो सिंहदरबारलाई खबरदारी गर्नेछौँ। विवेकशील साझा पार्टीलाई नयाँ सिराबाट अघि बढाउने छौँ। यही पत्र मार्फत सम्पूर्ण साथीहरूलाई एक ठाउँमा आएर काम गर्न समेत अनुरोध गर्दछु। देशले स्पष्ट, जरैबाट उठेको वैकल्पिक शक्ति खोजिरहेको छ। हामी त्यो शक्ति हौँ। बन्न सक्छौँ। हामी सबैलाई शुभकामना। नेपाल आमाको जय होस्।

मिलन पाण्डे

विवेकशील साझा पार्टी

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.