
मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ मा अर्को पटक चुनाव लड्दै गर्दा भोट मागिरहनु नपर्ने अवस्था बन्ने जिकिर गरेका छन् । नेपाली कांग्रेस काठमाडौं–५ ‘क’ क्षेत्रीय कार्यसमितिले शुक्रबार बिहान आयोजना गरेको चुनावी भेलालाई संबोधन गर्दै नेता पौडेलले मतदाता आफैंले खोजी–खोजी मतदान गर्ने स्थिति निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन्।
‘हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं– हामीलाई मौका दिनुस्, हामीले अर्को चुनाव लड्दै गर्दा हामीले भाट मागिरहनु पर्दैन, ‘हामीलाई खोजी–खोजी भोट हाल्ने स्थिति हामी निर्माण गर्न चाहन्छौं।’नेता पौडेलले भने ।
उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति ईंगित गर्दै काठमाडौं–५ बाट निर्वाचन जितेर जनताको पक्षमा कुनै काम नगरेको टिप्पणी गर्दै धेरै फुर्ती नगर्न सुझाउदै पौडेलले भने, ‘चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरुले यो क्षेत्रमा केही गरेका छैनन्।’
नेता पौडेलले कांग्रेस पछिल्ला दिनमा समाजलाई प्रगतिको बाटोमा लिएर जाने सन्दर्भमा अलमलिएको जिकिर गर्दै समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व गरेको कांग्रेस सशक्त बन्न नसकेको उल्लेख समेत गरे।
नेपाली कांग्रेस नेपालको राजनीतिक संस्कृति विकास गर्ने, समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दैउनले भने, ‘आजको दिनमा समाजलाई प्रगतिको बाटोमा लिएर जाने, परिवर्तनको बाटोतिर लिएर जाने सन्दर्भमा हामी अलिबढी अलमलिएको स्थिति छ।’
राजनीति नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरालाई समाजमा स्थापित गर्न सक्नुपर्नेमा जोडदिदै पौडेलले लोकतान्त्रिक निष्ठामाथि कसैले प्रश्न नगर्नु दुखद रहेको बताए । राजनीति निष्ठा, इमान, नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा समाजमा स्थापित गर्न सक्नुपर्ने उनको भनाई थियो ।
