
प्रकाश कपाली
आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलहरु चुनावी प्रचारप्रसारमा जनताको घरदैलोमा पुग्ने क्रम करिब सम्पन्न हुन लागेको छ।
स्थानीय तहको उम्मेदवारहरुले आ-आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रम बढेको छ। यसैगरी राइनास नगरपालिका वडा नं ५ का वडा अध्यक्षको उम्मेदवार शंक बहादुर सार्कीले वडा अध्यक्षको पदमा उम्मेदवारी दिएलगत्तै जनताको घरदैलोमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
चुनावी घोषणापत्रमा आफू वडा अध्यक्षको पदमा निर्वाचित भएमा कृषि खेती र पशुपालनलाई जोड दिँदै स्थानीय निकायमा अाएकाे बजेटको ५० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पर्ने साम्रगी वितरण गर्ने, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरदैलोमा उपलब्ध गराउने, सामाजिक विकृतिको उचित व्यवस्थापन र नियमन गर्दै ६५ वर्षका माथिका जेष्ठ नागरिक र महिला तथा अशक्तलाई नि:शुल्क बिमा गराउने, किसानका लागि आर्थिक तथा प्राविधिक पोत्साहन गर्ने, फोहोर व्यवस्थापन र सरसफाई सम्बन्धी व्यवस्था, महिला मैत्री कृषि प्रविधिको विकास गर्ने लगायतका अन्य स्थानीय क्षेत्रका समस्या सम्बोधन गर्ने विषयमा चुनावी घोषणापत्र जारी गर्नु भएको छ।
लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको रुपमा राइनास वडा नं ५ का वडा अध्यक्षको उम्मेदवार सार्कीले २७ बुँदे चुनावी घोषणापत्र नगरवासी सामु सार्वजनिक गर्नुभएको हो।
