
प्रकाश कपाली।विगत लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध भई राजनीतिमा सक्रिय हुनुभएका कुमार मानन्धरले आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र वडाध्यक्षको पदमा उम्मेदवारी दिनुभएको छ।
करिब २० वर्ष का.म.पा वडा नं १७ मा नेपाली कांग्रेसको इकाई सभापतिको भूमिका निर्वाह गर्नुभएको उहाँले स्थानीय जनताको हकहितको लागि करिब ३० बर्षदेखि हालसम्म समाजसेवामा सक्रिय रही स्थानीय जनताको विश्वास जित्नसमेत सफल हुनुभएको छ।
विगत लामो समयदेखि नेपाली कांग्रेसमा राजनीति गरेपनि नेपाली कांग्रेस पार्टीले उहाँले स्थानीय क्षेत्रमा गरेको अमूल्य योगदानको अवमूल्यन र राजनैतिक बेइमानी गरेको कारण आसन्न स्थानीय तहको निर्वाचनमा आफू बागी उम्मेदवारको रुपमा प्रस्तुत भई स्वतन्त्र उम्मेदवारी दिएको का.म.पा १७ को स्वतन्त्र वडा अध्यक्षको उम्मेदवार कुमार मानन्धरले बताउनुभयो।
जनताको सेवा र हकहितको पक्षमा आफ्नो उम्मेदवारी दिएको बताउँदै विगतका दिनहरुमा जनताको सेवामा समर्पित रहेको पनि उहाँले बताउनुभयो।
२०७२ सालको भूकम्पमा त्रिपाल वितरण र कोभिडको महामारीमा क्षेत्रपाटी चिकित्सालयमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको बताउँदै स्थानीय जनताको दुख सुखमा सक्दो सहयोग गर्दै आएको बताउँनुहुदै स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएमा शिक्षा ,स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जनताको पहुँच पुर्याई महत्वपूर्ण कदम चाल्ने पनि उहाँले बताउनुभयो।
आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र वडाध्यक्षको पदमा उम्मेदवारी दिएपनि लामो समयदेखि आफुले राजनीतिमा योगदान गरेको स्थानीय जनताले बुझेको विषयलाई प्रष्ट पार्दै स्थानीय तहको निर्वाचनमा बहुमतका साथ विजय हुनेमा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो।
स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो स्वविवेकको प्रयोग गर्नुपर्ने बताउँदै निर्वाचन निष्पक्ष, पारदर्शी हुनुपर्ने विषयतर्फ सबैले ध्यान दिनुपर्ने विषयमा पनि उहाँले आफ्नो गहकिला तर्क व्यक्त गर्नुभयो।
