
राईनास नगरपालिका सत्तापक्ष गठबन्धनका दलहरुबीच वडास्तरीय चुनावी तालमेलमा विवाद
आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै लमजुङ जिल्लामा चार दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गर्दै चैत्र २२ गतेका दिन संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरेको थियो।
राईनास नगरपालिकाको मेयर र उप-मेयरमा गठबन्धनका उम्मेदवारको टुङ्गो लागेको छ।मेयर र उप-मेयरको उम्मेदवारबिच गठबन्धनमा कुनै विवाद नभएपनि राईनास नगरपालिकाको वडाहरुमा उम्मेदवारको टुंगो लाग्न नसक्दा यसले थप विवाद सृजना गर्न पुगेको छ।
स्थानीय तहको निर्वाचनको अन्तिम समयमा आइपुग्दा पनि राईनास नगरपालिकाको केही वडाहरुमा ४ दलीय गठबन्धनको उम्मेदवारको टुंगो लाग्न सकेको छैन।
लमजुङ जिल्ला राईनास गाउँपालिकामा ४ दलीय गठबन्धनको उम्मेदवारको समयमा टुंगो लगाउन नसक्दा अधिकांश उम्मेदवारहरु समस्यामा परेका छन्।
स्थानीय तहको निर्वाचनमा ४ राजनीतिक दलहरुले चुनावी तालमेल गर्ने भनिएतापनि नेपाली कांग्रेस र नेकपा माओवादीबिच चुनाबी तालमेल भएको अवस्था देखिएको र काँग्रेस र माओवादी बीच भएको चुनाबी तालमेल मौखिक भएको राईनास नगरपालिका वडा नं ५ का वडाध्यक्षको उम्मेदवार दिनेश पाण्डेले बताउनुभयो।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ४ दलीय गठबन्धनले वडामा उम्मेदवारको टुंगो लगाउन नसक्दा गठबन्धनका उम्मेदवारहरु अन्योलमा परेको पनि जानकारी दिनुभयो। पार्टीले समयमै सही निर्णय गर्नुपर्ने भन्दै पार्टीको सही निर्देशन र निर्णय नआएकोले यसमा नगरपालिकामा चुनावी तालमेल गर्ने राजनैतिक दलहरूको पनि ठूलो कमजोरी रहेको पाण्डेले बताउनुभयो।
यसैगरी अबका दिनहरुमा निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु चुनावको तयारीमा जुट्दै घरदैलो अभियानमा सरिक हुने विषयमा पनि राईनास नगरपालिका वडा नं ५ मा वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका पाण्डेले बताउनुभयो।
